२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारजुम्लाको चन्दननाथ नगरपालिका सिल

जुम्लाको चन्दननाथ नगरपालिका सिल


जुम्ला– जुम्लाको सदरमुकाम खलङ्गास्थित चन्दननाथ नगरपालिका र तिला गाउँपालिकामा (निषेधाज्ञा) सिल गरिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको प्रतिवेदन अनुसार कोरोना संक्रमण देखिएकाले दुई स्थानीय तहमा दिउँसो ३ बजेदेखि निषेधाज्ञा जारी गरिएको हो ।

चन्दननाथ नगरपालिकाको हकमा पूर्वको दानसाँघु, पश्चिममा उमगाड, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय र दक्षिणमा तिला नदीको क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए ।

त्यसैगरी तिला गाउँपालिका– ५ ढिमकोट गाउँको पुर्वमा चुलाकोट, पश्चिममा जुगामूल, उत्तरमा डुङ्ग्री गाउँ र दक्षिणमा खोलीगाउँको चारकिल्ला भित्र निषेधाज्ञा जारी गरिएको छ । औषधि र स्वास्थ्य सेवाबाहेकका सम्पूर्ण क्रियाकलापहरू पूर्णरुपमा बन्द गर्न जिल्ला प्रशासन कार्यालय जुम्लाले निषेधाज्ञा जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए ।

चन्दननाथ नगरपालिका–१ का एक जना पुरुष, वडा नं. ३ का एक जना महिला र वडा नं. ६ का एक जना पुरुषमा कोरोना संक्रमण देखिएकाले थप संक्रमण फैलन नदिनका लागि नगरपालिका सिल गरिएको प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले बताए । त्यसैगरी तिला गाउँपालिका– ५ ढिमकोट गाउँमा एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार दिउँसो ३ बजेदेखि गरिएको निषेधाज्ञा जारी अर्काे निर्णय नहँुदासम्मको लागि संक्रमण रोग ऐन २०२० को दफा २(२) तथा स्थानीय प्रशासन ऐन २०२८ दफा ६(३) बमोजिम निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।

यस अघि जुम्लामा ६९ जनालाई कोरोना भाइरस संक्रमण देखिएपनि सबै जना निको भएर घर फर्किसकेका छन् । तर कनकासुन्दरी गाउँपालिका– ३ लुम गाउँकी एक जना महिला र जुम्लाको सदरमुकाम खलंगाका निको भएर घर पठाएको तीन जना व्यक्तिमा पुनः संक्रमण देखिएको छ ।
गाउँघर मेलापर्वमा भिडभाड नगर्न आग्रह

यतिबेला जुम्लामा धार्मिक रुपमा मेलापर्व लाग्ने गरेका छन् । देवीदेवता मठमन्दिरमा पुजाआजा गर्ने र मानिसको भेला हुने भएकोले जिल्ला प्रशासन कार्यालय जुम्लाले मेलापर्वमा भिडभाड नगर्न आग्रह गरेको छ । मेलापर्वमा जनमानसको भेला हुने र कोरोना भाइरसको संक्रमण फैलन सक्ने खतरा देखिएकाले मेलापर्व वन्द गर्न प्रशासनले आग्रह गरेको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ