२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचार२ भदौंसम्म ३९ हजारसम्म सक्रिय केस पुग्न सक्ने अनुमान

२ भदौंसम्म ३९ हजारसम्म सक्रिय केस पुग्न सक्ने अनुमान


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अगामी २ भदौसम्म ३९ हजार संक्रिय कोरोना संक्रमित हुने अनुमान गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोभिड—१९ बारे जानकारी गराउने क्रममा मन्त्रालयले मध्यम अवस्थामा ३९ हजार संक्रमित हुने बताएको हो ।

खराब अवस्थामा साउन २५ गते ९१ हजार पुग्ने अनुमान पनि गरेको थियो । तर, परीक्षणको दर बढाउन नसक्दा उक्त टार्गेट मिल्न सकेन । हाल २२ हजार ५ सय ९२ जना संक्रमित पुगेका छन् भने संक्रिय संक्रमितको संख्या ६ हजार २ सय ६ रहेको छ । मन्त्रालयले कोरोना संक्रमितको संख्या प्रत्येक दिन बढ्दै गएपनि परीक्षणलाई त्यही अनुपातमा बढाउन सकेको छैन ।

कोभिड—१९ को नेपालमा हुनसक्ने संक्रमणको अनुमानका लागि मन्त्रालयले इपिडेलिंग तयार गरेको छ । यसरी नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको प्रभावकारी प्रतिकार्य तथा नेपाली नागरिक र सबै सरोकारवालाहरूको अभूतपूर्व सहयोगका कारण अनुमान गरिएभन्दा सक्रिय केसहरू सिमित राख्न सकिएको छ । मन्त्रालयले चार महिनाको लागि हरेक हप्ताको कार्ययोजनासहितको द्रुत कार्य योजना (असार/असोज)अनुसार काम भइरहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार गम्भीर प्रकृतिका १५ सय जनासम्म बिरामीको उपचारका लागि औषधि र आई.सी.यु. को सामग्री मौज्दातमा छ । प्रयोगशाला सामग्री २ महिनाका लागि र व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) करिब दुई महिनाका लागि पुग्ने गरी स्टक रहेको छ । साथै थप आवश्यक सामाग्रीहरूको खरिदका लागि प्रक्रियामा रहेको छ ।

पछिल्लो हप्तामा लक्षण भएका संक्रमितहरूको संख्या बढ्दै गइरहेको छ । साउन २४ गतेको विवरणअनुसार ६४ जना आई.सि.यु. मा उपचाररत छन्, जसमध्ये २ जना भेन्टिलेटरमा रहेका छन् । पहिलो संक्रमणको चरणमा अधिकांश संक्रमण विदेशबाट नेपाल फर्किएका व्यक्तिहरूमा देखिएको थियो । पछिल्लो समयमा बन्दाबन्दी खुकुलो भएपछि स्थानीयस्तरमा समेत संक्रमण देखिन थालेको छ । काठमाडौं उपत्यकामा समेत विगतका केही दिनदेखि संक्रमितहरूको संख्या बढ्न गएको छ । गत २३ गते काठमाडौंमा १०४ नयाँ संक्रमित थपिदा ६४ जना कुनै पनि प्रकारको आन्तरिक र बाह्य भ्रमण भएको देखिएको थिएन । यो क्रम बढ्दै गएको छ ।

राष्ट्रपतिलाई दिएको जानकारी अनुसार पछिल्लो चरणमा सुरक्षा निकाय, सरकारी कार्यालय, न्यायालय, बैंक तथा वित्तीय संस्थाहरूमा कार्यरत कर्मचारीहरू, स्वास्थ्यकर्मीहरू, संचारकर्मी प्रदेशका मन्त्रीसमेतमा संक्रमण देखिएको छ । संक्रमितहरूमध्ये बहुसंख्यक (७५ प्रतिशत) भन्दा बढी २१ देखि ६० वर्ष उमेर समूह भित्रका रहेका छन् भने ६० वर्षभन्दा माथिको उमेर समूहमा संक्रमितहरूको संख्या अति न्यून (२.१ प्रतिशत) रहेको छ । साथै, संक्रमित मध्ये ४ प्रतिशत १० वर्षमुनिका बच्चाहरू रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ७३ जनाको मृत्यु भएको छ । कुल संक्रमितहरूमध्ये यो लगभग ०.३ प्रतिशत हो । जुन अरू कतिपय देशहरूको भन्दा कम हो तर विगतका केही दिनदेखि मृत्युदर बढ्ने क्रममा छ ।

कस्तालाई गर्ने पिसिआर परीक्षण

  • तोकिएका ६ लक्षणहरू (ज्वरो, खोकी, श्वासप्रस्वासमा कठिनाई, गन्ध हराउनु, स्वाद हराउनु र झाडा पखाला) मध्ये कुनै एक लक्षण देखिएका व्यक्ति
  • संक्रमितहरूको सम्पर्कमा रहेका व्यक्ति, विदेशबाट फर्किने व्यक्ति
  • गम्भीर श्वासप्रस्वास संक्रमण भएका व्यक्ति
  • अग्रपंक्तिमा रहि कार्य गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतका कर्मचारी
  • हाल संक्रमण धेरै देखिएका स्थानहरूबाट आएका व्यक्ति
  • सघन उपचार कक्ष (आई.सी.यु.)मा उपचाररत व्यक्ति
  • दीर्घ रोग भएका मुख्यतः ६० वर्ष माथिका व्यक्ति
  • बिरामीको अप्रेसन गर्नु पूर्व
  • मध्यम, गम्भीर तथा क्रिटिकल बिरामीको डिस्चार्ज गर्नु पूर्व

मन्त्रालयले देखेका चुनौती

  • लकडाउन क्रमसः खुकुलो हुँदै गएको सन्दर्भमा जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गराउनु
  • लक्षण भएको संक्रमितहरूको संख्या बढ्न थालेकोले सोहीअनुसार अस्पतालको क्षमता वृद्धि गर्नु
  • स्थानीयस्तरमा रहेको संक्रमणलाई समुदाय स्तरमा फैलिन नदिन सरकारी, गैर सरकारी, निजि, नागरिक समाज, समुदायबीच प्रभावकारी समन्वय कायम गर्नु

क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ