२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोना उपचारमा खटेका चिकित्सकलाई उपहार : ‘डाक्टर चोर, देश छोड’ !

कोरोना उपचारमा खटेका चिकित्सकलाई उपहार : ‘डाक्टर चोर, देश छोड’ !


नारायणी अस्पतालका ४५ बढी चिकित्सकसहित स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ । कोभिड—१९ विरुद्ध फ्रन्टलाइनमा खटिरहेको यति ठूलो जनशक्तिमा संक्रमण भएसँगै अस्पताल प्रशासनले आकस्मिकबाहेकका सेवा बन्द गरेको थियो । आकस्मिक सेवाबाहेक अन्य सेवा बन्द भएसँगै अस्पतालले कोभिड—१९ का सिरियस बिरामीमात्र भर्ना गर्न थालेको थियो ।

त्यसैक्रममा शुक्रबार वीरगञ्ज छपकैयाकी एक २० वर्षीया महिला श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि राति ११ बजे आदर्शनगरस्थित एडभान्स मेडिकेयर सेन्टरमा लगिएछ । त्यहाँ भर्ना गर्न नमानेपछि नारायणी अस्पताल ल्याइयो । चिकित्सक, नर्सलगायतमा कोरोना संक्रमण बढेका कारण उनलाई नारायणी अस्पताल अन्यत्र रिफर गर्न बाध्य भयो । त्यसपछि बयोधा अस्पताल लगिएछ, त्यहाँ पनि भर्ना गर्न नमानेपछि आफन्तले नेसनल मेडिकल कलेज पु¥याएछन् । नेशनल मेडिकल कलेजले पनि भर्ना लिने मानेनछ । त्यहाँबाट वीरगञ्ज हेल्थ केयर अस्पतालमा पु¥याइएछ, त्यहाँ पनि उपचार नभएपछि मलाई फोन आयो ।

मैले अस्थायी कोभिड अस्पताल गण्डकमा ल्याउन भनें । यो नारायणी अस्पतालको कोभिड अस्थायी अस्पताल हो । म नारायणी अस्पतालको कोभिड—१९ व्यवस्थापन संयोजक भएकाले गण्डक कोरोना अस्पताल मैले हेर्दै आएको छु । त्यसैले मैले बिरामीलाई त्यही ल्याउन भनें । तर, दुर्भाग्य हामीले बिरामीलाई बचाउन सकेनौं । बिरामी अन्तिम अवस्थामा अस्पताल पु¥याइएको थियो । मैले नै समन्वय गरेर त्यहाँ लैजान भने सिपिआर दिइयो तर बचाउन सकिएन ।

शनिबार नै अर्की एक ६० वर्षीया महिलाको पनि झाडापखाला लागेर मृत्यु भयो । उनको मृत्युपछि कोरोना पुष्टि भयो । एकै दिन दुई जनाको मृत्यु भएपछि र उनीहरुले सहज उपचार नपाएपछि आइतबार बिहान ८ बजेबाट नारायणी अस्पतालमा बिरामीहरुलाई सेवा कसरी सहज बनाउने भन्ने विषयमा प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्की, पर्सा प्रहरी प्रमुख एसपी गंगा पन्त, निजी अस्पतालका संचालकसहितको बैठक बस्यो । सो बैठकले नारायणी अस्पतालमा ९ बेडको आईसीयु संचालन गर्ने, अन्य अस्पतालहरुले पनि बिरामीलाई सेवा दिनेजस्ता निर्णय भए ।

सो बैठक सकिदा—नसकिदै छपकैयाको मृतक बिरामीको वडाका करिब १०० जना माक्स नलगाएको हुलले नारायणी अस्पतालको इमर्जेन्सीमा छिरेर तोडफोड सुरु ग¥यो । बिहानैबाट कोभिडका बिरामीको राउण्ड लिएर मिटिङमा बसेको मेरो गाडी तोडफोड भयो । अस्पतालका सिसा फुटाए । अस्पताल एकैछिनमा रण मैदानमा परिणत भयो । निजी अस्पतालमा बिरामीको मृत्यु भएको छ, सरकारी अस्पताल आएर तोडफोड गरे ।

बैठकबाट बाहिरिदैं गरेकी एसपी पन्तले भिड नियन्त्रण गर्न आफैले कमाण्ड सम्हाल्नुभयो । थप जनशक्ति मगाएर लाठीचार्ज गर्नुपर्ने अवस्था खडा भयो । लाठीचार्जपछि मात्र हुललाई तितर—वितर भयो । हुलले ‘डाक्टर चोर, देश छोड’ भन्दै नारा लगाइरहेको थियो । अस्पतालका मेसुलाई तत्काल अस्पताल छोड्न भन्दै नाराबाजी गरिरहेका थिए ।

हुल तितर—वितर भएपछि विभागीय प्रमुखहरुको बैठक बसेर प्रशासनलाई २४ घण्टे अल्टिमेटम दिएका छौं । हिजैबाट आकस्मिक सेवाबाहेक अन्य सेवा पूर्ण बन्द गरिएको छ । आज २ बजेसम्म २४ घण्टे अल्टिमेटम सकिएको छ । हामी अब यो अवस्थामा काम गर्न सक्दैनौं, पहिले आफ्नो जीवनको सुरक्षा भएपछि पो अर्काको जीवनको रक्षा गर्न सकिन्छ । यहाँ त हाम्रो आफ्नै जीवन सुरक्षित नहुने अवस्था आयो । सामूहिक राजीनामाको दिने तयारीमा छौं । हामीले गरेको सेवा यहाँका जनतालाई मन नपरेपछि किन सेवा दिने भनेर सामूहिक राजीनामा बुझाउदैंछौ । हामीले कोरोना विरुद्ध फ्रन्टलाइनमा डटेर ४ सय बढी संक्रमितलाई निको बनाएर पठाएका छौं, अझै केही आइसोलेसनमा हुनुहुन्छ । चैत्र २८ देखि ज्यान हत्केलामा राखेर गरेको सेवाको फल वीरगन्जवासीले यही उपहार दिनुभयो सबैलाई धन्यवाद ।

(नारायणी अस्पतालका कोभिड-१९ व्यवस्थापनका संयोजक डा. उदयनारायण सिंहसँगको कुराकानीमा आधारित ।)


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ