नेपालगन्ज—२९ जना नेपाली सैनिकसहित थप ५९ जनामा कोरोना भाइरस (कोभिड—१९) संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल प्रयोगशाला नेपालगन्ज गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
अस्पतालकाअनुसार नेपाली सेनाको फिल्ड एम्बुलेन्स (फि.ए.) दाङबाट संकलन गरिएको नमुनामध्येमा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले नेपाली सेनाका कर्मचारीमा कोरोना देखिएको बताए । ‘हाम्रा मानछेहरुमा कोरोना पोजेटिभ देखिएको हो,’ उनले हेल्थआवाजसँग भने, ‘कति जना हो भन्ने कुरा संकलन गर्दैछौं ।’ यस्तै, बबई दाङका ३ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ ।
भेरी अस्पतालबाट संकलन गरिएको नमुनामध्येबाट नेपालगन्जका १६ जना, कोहलपुरका ४ जना र जानकी बाँकेका १ जनामा संक्रमण पुष्टि भएको छ ।
नेपालगन्ज मेडिकल कलेजबाट संकलन गरिएको नमुनामध्ये कोहलपुरका १ जना, चौरपाटी अछामका १ जना र बाँकेका ३ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै, राप्ती सोनारी—२ बाँकेका १ जनामा पनि कोरोना पोजेटिभ पुष्टि भएको छ ।
