२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसरकारी सेवामा क्रिटिकल केयरको दरबन्दी ८०, सेवामा २९ जना मात्रै

सरकारी सेवामा क्रिटिकल केयरको दरबन्दी ८०, सेवामा २९ जना मात्रै

देशमा क्रिटिकल केयर हेर्ने एनेस्थेसिया जनशक्ति ५ सय १० जना


काठमाडौं—नेपालमा क्रिटिकल केयर (एनेस्थेसिया)को दरबन्दी ८० जनाको रहेको छ । सेवामा भने २९ जना मात्रै रहेका छन् । सरकारी दरबन्दीअनुसार पनि ५१ जना खाली छन् ।

विश्वभर कोरोनाको महामारी चलेका बेला यो जनशक्ति सबैभन्दा महत्वपूर्ण हुन्छ । कोभिड-१९ संक्रमितलाई आईसीयु वा भेन्टिलेटरमा राख्नु परेको अवस्थामा फ्रन्टलाइनमा खटिने चिकित्सक क्रिटिकल केयर हेर्ने एनेस्थेसिया हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार विगत २५ वर्षदेखि नयाँ दरबन्दी थपिएको छैन । स्वास्थ्य मन्त्रालयका अनुसार हरेक वर्ष १ हजार जनाको दरबन्दी रिक्त हुँदै गइरहेको छ । नेपाल मेडिकल काउन्सिलको दर्ता हेर्ने हो भने क्रिटिकल केयर हेर्ने एनेस्थेसिया ५ सय १० जना छन् ।

नेपाल मेडिकल काउन्सिलका अनुसार एक क्रिटिकल केयर हेर्ने एनेस्थेसिया सुपर विशेषज्ञले १० बेड आईसीयुभन्दा बढी हेर्न सक्दैन् । स्वास्थ्य मन्त्रालयलाई अहिले कम्तिमा पनि ४ सयको संख्यामा क्रिटिकल केयर आवश्यक छ । थप कति चाहिन्छ भनेर बिरामीको अवस्था हेरेर मात्रै निर्धारण गर्न सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपाली सोसाइटी आफ क्रिटिकल केयर मेडिसिनका अध्यक्ष प्रा.डा. सुवास आचार्य बिरामी भएकामध्ये २० प्रतिशतलाई मात्रै आईसीयुको आवश्यकता पर्ने बताउँछन् । त्यसमा पनि ५ प्रतिशतलाई आईसीयुसहित भेन्टिलेटरको आवश्यक पर्छ ।

सरकारी र निजी गरी देशभर ५ सय १० जना एनेस्थेसिया छन् । त्यस्तै, इन्टरनल मेडिसिन ८ सय १ जना र पेडियाट्रिक ६ सय २९ जना र एमडिजीपी ३ सय ६४ जना छन् । यी जनशक्ति पनि भेन्टिलेटरबारे जानकार हुन्छन् । सरकारले आवश्यक परे यी जनशक्ति पनि परिचालन गर्नेछ ।

डा. आचार्यका अनुसार हरेक १२ वटा आईसीयु बेडका लागि १ जना क्रिटिकल केयर हेर्ने एनेस्थेसिया सुपर विशेषज्ञ चाहिन्छ । उसको नेतृत्वमा इन्टरनल मेडिसिन गरेको ५ जना चिकित्सक रहन्छन् । भेन्टिलेटरमा बिरामी भए प्रत्येक बेडमा एक नर्स आवश्यक पर्छ । भेन्टिलेटरमा नभएको तर, आईसीयुमा मात्रै भएको खण्डमा १ नर्सले दुई बिरामी हेर्ने गर्छन । आईसीयुमा तीन सिफ्टको व्यवस्था गरेको हुन्छ । आईसीयुमा एक जना बिरामी हेर्न हप्तामा १० जना नर्स चाहिन्छ ।

आईसीयुमा आवश्यक पर्ने जनशक्ति
एनेस्थेसिया सुपर विशेषज्ञ —१ जना
इन्टरनल मेडिसिन —५ जना
एनेस्थेसिया रेसिडेन्ट/मेडिकल अफिसर —१ जना
आईसीयु म्यानेजर— १ जना
नर्स आइसियु इन्चार्ज —१ जना
आईसीयु सिफ्ट इन्चार्ज—३ जना (सिफ्टमा १ जना)
नर्स— एक बिरामी १ नर्स
फर्मासिस्ट — १ जना
फिजियोथेरापिष्ट— १ जना (२० बेड)
माइक्रोबायोलोजिष्ट— १ जना
न्युट्रिसियन/डाइटिसियन —१ जना
बिरामीको स्याहार सुुुसार— १ जना बराबर ६ बेड (पर सिफ्ट)
रेडियोग्राफर— १ जना
बायोमेडिकल इन्जिनियर—२ जना


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ