२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचार७ करोड पुँजीगत लाभकर छल्न केएमसीका सेयर बिक्रेताको दौडधुप

७ करोड पुँजीगत लाभकर छल्न केएमसीका सेयर बिक्रेताको दौडधुप


काठमाडौं—काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी)को खरिद बिक्री प्रक्रिया सुरु भएसँगै सेयर बिक्री गर्ने संस्थापक सेयरधनी सेयर नाफा बापत सरकारलाई तिनुपर्ने १० प्रतिशत पुँजीगत लाभकर आधा मात्र राज्यलाई तिर्ने मनस्थितीसहित दौडधुपमा लागेका छन् ।

उनीहरुको पब्लिक कम्पनी धितोपत्र बोर्डमा दर्ता गरेवापत पाउने ५ प्रतिशत पुँजीगत लाभकर छुटका लागि सेयर किनबेचको अन्तिम अवस्थामा पुगेपछि कम्पनीलाई धितोपत्र बोर्डमा दर्ता गर्ने प्रक्रियामा लगेका हुन् । सोहीअनुसार गत बुधबार कम्पनीलाई धितोपत्र बोर्डमा दर्ता गरी पाउ भनि निवेदनसमेत दिइसकेका छन् ।

पब्लिक कम्पनी धितोपत्र बोर्डमा पनि दर्ता भएमा सेयर सदस्यले सेयर बिक्रीबापत तिर्नुपर्ने १० प्रतिशत लाभकरमध्ये ५ प्रतिशत मात्र तिरे पुग्ने सुविधा पाउँछन् । केएमसी पब्लिक कम्पनी भएतापनि हालसम्म धितोपत्र बोर्डमा दर्ता नभएका कारण प्राइभेट कम्पनीकै नियमअनुसार चल्दै आएको छ । जसले गर्दा सो कम्पनीले स्टक एक्सचेन्जबाट पब्लिक कम्पनीले पाउनुपर्ने सेवा पाएको छैन ।

तर, स्टक एक्सचेन्जको ओभर द काउन्टर (ओटिसी) मार्केटमा दर्ता भने भएको छ । सोहीअनुसार हालसम्म सेयर कारोबार भइरहेको छ । तर, कम्पनीको अहिलेसम्मकै सबैभन्दा ठूलो सेयर खरिद बिक्री हुने भएपछि बिक्री कर्ताहरु (विशेष गरी संचालकसमेत रहेका संस्थापक शेयरधनीहरु) लाभकर बढी तिनुपर्ने भयो भन्दै त्यलाई कम गर्ने चलखेलमा लागेका हुन् ।

हेल्थ आवाजलाई मेडिकल कलेजका एक संचालकले दिएको जानकारीअनुसार यसअघि स्टक एक्सचेन्जमार्फत मात्र सेयर कारोबार भएको सो कलेजको अहिले धितोपत्र बोर्डमा दर्ताका लागि निवेदन दर्ता गरिएको छ ।

पब्लिक कम्पनी धितोपत्र बोर्डमा दर्ता भए सो कम्पनीका सेयरधनीले सेयर बिक्री गरे सो वापतको सरकारलाई तिर्नुपर्ने १० प्रतिशत पुँजीगत लाभकर ५ प्रतिशत मात्र तिरे पुग्ने सुविधा छ ।

‘स्टक एक्सचेन्जमा धितोपत्र बोर्डमा सुचीकृत पब्लिक कम्पनी भएमा पुँजीगत लाभकर ५ प्रतिशत मात्र तिरे पुग्छ,’ सेयर कारोवारका एक जानकार कानुन व्यवसायी भन्छन्, ‘यत्रो वर्ष धितोपत्र बोर्डमा दर्ता नभएको संस्था ठूलो खरिद बिक्रीका बेला दर्ता हुन खोज्नु राज्यलाई कम कर तिर्ने बाटो खोज्नु नै हो ।’

मेडिकल कलेजको ४७ प्रतिशतभन्दा बढी सेयर नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्माले लिने निश्चितप्रायः भइसकेको छ । उनले प्रति शेयर १ सयलाई थप ५ सय प्रिमियम थपेर ६ सयका दरले खरिद गर्दैछन् । सेयर बिक्रेताले सेयरको वेच्दा पाउने प्रिमियमको १० प्रतिशत लाभकर सरकारलाई बुझाउनुपर्छ । यो गर्दा केएमसीका संस्थापक सेयरहरुले वेच्ने २८ लाख ३१ हजार ६७ कित्ताको मुल्य १ अर्ब ६९ करोड ८६ लाख ४० हजार २ सय हुन आउँछ । जसमा १ अर्ब ४१ करोड ५५ लाख ३३ हजार ५ सय प्रिमियम सेयर वापत बिक्रीकर्ताले पाउँछन् ।

कानुनतः उनीहरुले यसको १० प्रतिशत पुँजीगत लाभकर राज्यको कर कोषमा दाखिला गर्नुपर्ने हुन्छ । जुन १४ करोड १५ लाख ५३ हजार ३ सय ५० हुन आउँछ ।

यदि सेयर खरिदको प्रक्रिया नसकिदैं धितोपत्र बोर्डमा कम्पनी दर्ता भएर स्टक एक्सचेन्ज कम्पनीमा सूची दर्ता भए सेयर बेचेवापत संस्थापक सेयरधनीहरुले तिर्नुपर्ने ७ करोड ७ लाख ७६ हजार ६ सय ७५ रुपैयाँ जोगिन्छ ।

जसमा सबैभन्दा बढी नाफामा हालका संचालकसमेत रहेका संस्थापक सेयरधनी राधेश पन्त, शशीराज पाण्डे, रविन्द्रराज पाण्डे र शिवान्त राज पण्डे र उनीहरुको परिवारका सदस्यहरुलाई हुन जान्छ । उनीहरुको नाममा रहेको १० लाख ६० हजार २ थानबाट प्रिमियम बापतको तिनुपर्ने ५ करोड ३ लाख रुपैयाँमा २ करोड ५६ लाख छुट पाउँछन् ।

केएमसी स्रोतकाअनुसार यो सबै प्रक्रिया मिलाउनका लागि नेपालका केही नाम चलेका वकिलहरुलाई जिम्मा दिइएको छ ।

यो पनि पढ्नुस

Exclusive : १ अर्ब ७० करोड लगानी गरेर काठमाडौं मेडिकल कलेजमा भित्रिदैं सुनिल शर्मा


क्याटेगोरी : समाचार, स्वास्थ्य शिक्षा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ