२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठविशेष रिपोर्टExclusive : १ अर्ब ७० करोड लगानी गरेर काठमाडौं मेडिकल कलेजमा भित्रिदैं सुनिल शर्मा

Exclusive : १ अर्ब ७० करोड लगानी गरेर काठमाडौं मेडिकल कलेजमा भित्रिदैं सुनिल शर्मा

कसले भित्र्यायो शर्मालाई ?


काठमाडौं—सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) किनबेच अन्तिम चरणमा पुगेको छ । १ हजार ७२ जना सेयर सदस्य रहेको सो मेडिकल कलेजमा सबैभन्दा बढी सेयर लिएर मेडिकल कलेज व्यवसायी सुनिल शर्मा भित्रिने लगभग पक्का भएको छ ।

हेल्थआवाजलाई प्राप्त खरिद बिक्री प्रक्रिया सम्बन्धी गोप्य कागजातमा शर्माले केएमसीको सञ्चालक समितिमा समेत रहने गरी कुल संस्थापक सेयरको ५१.३८ प्रतिशत शेयर खरिद गर्न लागेका हुन् । संस्थापक सेयरको प्रति शेयर ६ सय रुपैयाँका दरले २८ लाख ३१ हजार ६७ कित्ता सेयर शर्माले १ अर्ब ६९ करोड ८६ लाख ४० हजार २ सय रुपैयाँमा किन्न लागेको खरिद प्रक्रियाको कागजातमा देखिन्छ ।

शर्माले १ सय ३३ जना संस्थापक सेयर धनीको कुल १७ लाख ७१ हजार ६५ कित्ता किन्न लागेका हुन् । त्यस्तै, उनले कम्पनीका बहालवाला सञ्चालक रवीन्द्रराज पाण्डे, शशीराज पाण्डे, शिवान्तराज पाण्डे र राधेश पन्त र उनीहरुका परिवारमा नाममा रहेको थप १० लाख ६० हजार २ कित्ता सेयर पनि खरिद गर्ने पक्कापक्की भएको स्रोतले जनाएको छ ।

काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको नाममा अहिले संंस्थापक ३ सय ५४ जनाको ७० प्रतिशत र सर्वसाधारण (कर्मचारी) ७ सय १८ जनाको ३० प्रतिशत सेयर रहेको छ । कुल ६० लाख ९ हजार ५ सय ५३ कित्ता सेयरमध्ये संस्थापकका नाममा ५५ लाख ९ हजार ५ सय ५३ कित्ता र सर्वसाधारणका नाममा ५ लाख कित्ता सेयर छ । संस्थापकको ५५ लाख ९ हजार ५ सय ५३ कित्तामध्ये २८ लाख ३१ हजार ६७ कित्ता सेयर शर्माको हातमा जाँदैंछ । यो काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडका संस्थापक सेयरको ५१.३८ प्रतिशत र कुल सेयरको ४७.१ प्रतिशत हो ।

कसले भित्र्यायो शर्मालाई ?

वि.सं. २०५७ सालमा प्राइभेट लिमिटेडका रुपमा स्थापना भएको काठमाडौं मेडिकल कलेज वि.संं. २०६६ साल साउनमा पब्लिक लिमिटेडमा गएको थियो । नेपाल फस्टाउँदो मेडिकल शिक्षा पछिल्लो समय आन्दोलन, एमबीबीएस सिट संख्यामा कडाइलगायतका कारण विवादमा पर्दै आएको छ । साथै, सरकारले मेडिकल कलेज सञ्चालकहरुमाथि बढी निगरानी गर्न थालेपछि काठमाडौं मेडिकल कलेजका संस्थापकहरु आफ्नो लगानी सुरक्षित नहुने देखेपछि बेच्ने मनस्थितीमा पुगेको स्रोतको दावी छ ।

तर, केएमसीमा नयाँ लगानी भित्र्याउनु कागजी कारणमा भने कलेजमा थप अस्पताल, होस्टेल, पुस्तकालय, ल्याबका लागि भवन बनाउनुपर्ने, नयाँ प्रविधिका मेडिकल इक्वीपमेन्ट थप्नुपर्ने तथा संस्थाको समृद्धिजस्ता कारणलाई थप लगानीको आवश्यकता देखाइएको छ ।

त्यहीअनुरुप यसका सञ्चालकहरुले विभिन्न व्यक्तिसँग केएमसीमा लगानी भित्र्याउने विषयमा छलफल सुरु गरेका थिए । त्यहीअनुसार २०७६ बैशाख २८ गते सम्पन्न ९ औं साधारणसभाले कलेजको वृद्धि विकासका लागि उपयुक्त लगानीकर्ताको खोजी गर्ने निर्णय गरेको थियो । त्यो निर्णयसँगै संस्थापक सेयरधनीहरुसँग सेयर वृद्धिको लागि छलफल समेत भएको थियो । तर, कसैले पनि सेयर वृद्धि गर्ने इच्छा नदेखाएपछि बाहिरबाट उपयुक्त साझेदार खोज्ने प्रक्रिया अगाडि बढेको थियो ।

त्यही क्रममा संस्थापक गिरिशप्रसाद पन्तमार्फत नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्माले आफू केएमसीको ४५ प्रतिशतभन्दा बढी सेयर प्रतिसेयर मुल्य १०० रुपैयाँमा ५०० रुपैयाँ प्रिमियम थप गरी ६०० रुपैयाँमा खरिद गर्ने प्रस्ताव राखेका थिए । शर्माको सो प्रस्तावमा पन्तले अन्य १ सय ३३ जना संस्थापक सेयर धनीहरुलाई सहमत गराएका थिए । ती संस्थापक सेयर धनीहरु १७ लाख ७१ हजार ६५ थान कित्ता सेयर बिक्री राजी भएका थिए । साथै, शर्माले प्रस्ताव गरेकै सेयर मूल्यमा कम्पनीका सञ्चालकसमेत रहेका राधेश पन्त, शिवान्तराज पाण्डे, रविन्द्रराज पाण्डे र शशीराज पाण्डेले आफू र आफ्ना परिवारका नाममा रहेको १० लाख ६० हजार २ सय कित्ता सेयर बिक्री गर्न तयार भएका थिए ।

कम्पनीले जारी गरेको सूचना

४ जना सञ्चालकसहितका सेयर धनीहरुले उक्त कुराको जानकारी २८ असारमा काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडलाई गराएका थिए । उनीहरुले गराएको जानकारीका आधारमा केएमसी सन्चालक समितिको १५ साउनमा बैठक बसेको थियो । सो बैठकले अन्य संस्थापकहरुलाई सेयर बेच्न इच्छुक संस्थापकहरुको २७ लाख ४० हजार २ सय ९९ थान वा सो भन्दा बढी सेयर प्रति कित्ता ६०० रुपैयाँका दरले किन्न इच्छुक भए दिने निर्णय पनि गरेको थियो । त्यसका लागि १६ साउनमा गोरखापत्र दैनिकमा सात दिन भित्र लिखित निवेदन पेश गर्न सार्वजनिक सूचना निकालेको थियो ।

तर, संस्थापकहरु कसैले पनि उक्त मूल्यमा कम्पनीको सेयर किन्ने इच्छा जाहेर गरेनन् । संस्थापकले सेयर नकिनेपछि नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्माको हातमा कम्पनीको बहुमत संस्थापक सेयर जाने अवस्था सिर्जना भएको हो ।

कत्ति छ केएमसीको सम्पत्ति ?

काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको चुक्ता पुँजी ६० करोड ९ लाख ५५ हजार छ । स्थापना भएको २२ वर्षमा मेडिकल कलेजकै सबैभन्दा ठूलो सेयर किनबेच हुँदै गर्दा सेयर मुल्यांकन ६ गुणाले वृद्धि भएको छ । ६ गुणाले वृद्धि हुँदै गर्दा सबैको मनमा प्रश्न उठ्छ कलेजको सम्पत्ति कति छ ?

हेल्थ आवाजलाई प्राप्त कागजातअनुसार कलेजको सम्पत्ति काठमाडौं सिनामंगलमा १२ रोपनी ६ आना जग्गामा ५ सय ६६ शैय्याको शिक्षण अस्पताल, प्रशासनिक भवन, क्यान्टिन, फार्मेसीलगायतका भौतिक संरचना रहेको छ ।

यस्तै, भक्तपुर दुवाकोटमा ८८ रोपनी १४ आना जग्गामा कलेज भवन, होस्टेल, पुस्तकालय, तालिम तथा प्रशिक्षण भवन, ल्याब, प्रशासनिक भवन र ४४ शैय्याको शिक्षण अस्पताल छ ।

काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडमा अहिले १ हजार ३८ कर्मचारी कार्यरत छन् । कलेजमा चालु शैक्षिक सत्रमा एमबीबीएसदेखि एमडीसम्म १ हजार ७२ जना विद्यार्थी अध्ययनरत छन् ।

यो पनि पढ्नुस

७ करोड पुँजीगत लाभकर छल्न केएमसीका सेयर बिक्रेताको दौडधुप


क्याटेगोरी : विशेष रिपोर्ट, स्वास्थ्य शिक्षा
ट्याग : #१ अर्ब ७० करोड, #काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड, #सुनिल शर्मा


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ