२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १किन देखियो प्रदेश १ मा सबैभन्दा बढी युवामा कोरोना

किन देखियो प्रदेश १ मा सबैभन्दा बढी युवामा कोरोना


विराटनगर—प्रदेश १ मा सबैभन्दा बढी कोरोना संक्रमण युवामा देखिएको छ । प्रदेशमा शुक्रबार साँझसम्म १ हजार ९ सय ७ जना कुल संक्रमितमध्ये ३४ दशमलव ८५ प्रतिशत युवामा कोरोना संक्रमण देखिएको हो ।

प्रदेशमा १ हजार ५ सय ५ पुरुष र ४ सय २ महिला गरी कुल १ हजार ९ सय ७ संक्रमितमध्ये १ हजार ८ सय ८२ जना संक्रमितको उमेर समूह मन्त्रालयले छुट्टाएको छ । बाँकी २५ जनाको मन्त्रालयको कोरोना अपडेटको तथ्यांकमा उल्लेख छैन ।

संक्रमितमध्ये २१ देखि ३० वर्षका उमेर समूहका प्रदेशमा सबैभन्दा बढी छन् । २१ देखि ३० वर्ष उमेर समूहका ६ सय ५६ जना संक्रमित छन् । जुन ३४ दशमलव ८५ प्रतिशत हुन आउँछ । सो उमेर समूहमा ५ सय १२ पुरुष र १ सय ४४ जना महिला छन् । समाजमा एकापसमा युवाहरू बढी घुलमिल हुने कारण पनि युवामा बढी संक्रमण देखिएको विज्ञहरु बताउँछन् । असुरक्षित तवरमा सार्वजनिक सवारीसाधन प्रयोग गरिरहेका कारण पनि संक्रमण फैलनमा सहयोग पुगेको छ । स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा लापरवाही देखिएकोले संक्रमण युवामा बढी देखिएको विज्ञको भनाइ छ ।

प्रदेश १ मा संक्रमित मध्ये दोस्रोमा ३१ देखि ४० वर्ष उमेर समूहका छन् । सो उमेर समूहका ४ सय ५ पुरुष र ८८ जना महिला गरी ४ सय ९३ जना छन् । जुन २६ दशमलव १९ प्रतिशत हो । यस्तै, तेस्रोमा ११ देखि २० वर्ष उमेर समूहका रहेका छन् । सो उमेर समूहमा १४.२४ प्रतिशत अर्थात २ सय २३ पुरुष र ३५ महिला गरी २ सय ६८ जना संक्रमित छन् । चौथोमा ४१ देखि ५० वर्ष उमेर समूहका १२.६९ प्रतिशत छन् । सो उमेर समूहका १ सय ९० पुरुष र ४९ महिला गरी २ सय ३९ जना छन् ।

यसैगरी ५१ देखि ६० वर्ष उमेर समूहका १ सय १५ जना छन् । सबैभन्दा कम ६१ देखि ७० वर्ष उमेचर समूहका छन् । सो उमेर समूहमा १९ पुरुष १४ महिला गरी ३३ जना छन् । १० वर्षभन्दा मुनि उमेर समूहका बालवालिकाहरु ५६ जना छन् । १ हजार ८ सय ८२ संक्रमितमध्ये २५ जनाको उमेर समूह नखुलेको मन्त्रालयले जनाएको छ ।

यस कारण देखियो युवामा बढी संक्रमण

वैदेशिक रोजगारबाट फर्किएर क्वारेन्टाइनमा बसेका र बाहिर हिड्ने युवामा अन्य उमेर समूहको तुलनामा अलिक बढी संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख डा. सुरेश मेहताले जानकारी दिए । एकापसमा घुलमिल हुने कारण पनि युवामा बढी संक्रमण देखिएको उनले बताए । घरमा बसिरहन नरुचाउने र समाजमा बढी घुलमिल हुने भएकाले युवा बढी संक्रमित हुन पुगेको डा. मेहताले बताए ।

‘क्वारेन्टाइनमा बसेका युवामा संक्रमण देखिएको हो भने नियन्त्रणमा आउने गरेको छ’, उनले भने, ‘बाहिर बजारमा डुलेर हिड्ने युवा समूहमा संक्रमण देखिएको हो भने समुदायमा फैलने खतरा बढी हुने गरेको छ ।’ युवामा कोरोना संक्रमण भए पनि सञ्चो भइहाल्छ भन्ने सोच हावी देखिएको उनले बताए । ‘लकडाउन उल्लंघन गर्ने, पास दुरुपयोग गर्ने, सुरक्षात्मक मापदण्ड प्रयोग नगर्ने प्रवृत्ति छ’, उनले भने, ‘लक्षण पनि देखिएको छैन भने आफू संक्रमित भएको थाहै पाउँदैनन् । झन् धेरैलाई कोरोना भाइरस सार्ने जोखिम हुन्छ ।’

उनले पहिलो चरणमा विदेशबाट फर्किएका व्यक्तिहरुमा देखिएको संक्रमण अहिले समुदायस्तरमा देखिएको सुनाए । ‘पछिल्लो समय लकडाउन खुकुलो भइसकेपछि स्थानीयस्तरमा संक्रमण देखिन थालेको छ’, उनले भने । चलायमान समूहमा संक्रमण देखिनुले आगामी अवस्था गम्भीर रहेको संकेत गर्छ । यही समूहले घरमा बालबालिका र वृद्धवृद्धालाई संक्रमण सार्ने जोखिम हुने गरेको विज्ञको भनाइ छ ।

प्रदेश १ मा कोरोनाको कारण ९ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउने सबै मोरङका छन् । विराटनगरका ६ जना र बढीगंगा गाउँपालिका २ का १ जना, रंगेली ८ का १ र सुनवर्षी नगरपालिका ८ का १ जनाको कोरानाको कारण मृत्यु भएको छ । मृत्यु हुने सबै पुरुष हुन् । ३० वर्षका एक जना युवादेखि ७७ वर्षका वृद्धासम्मको कारानाको कारण प्रदेशमा ज्यान गुमाएका छन् ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ