२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारवीर अस्पतालमा वर्षमा २०० मिर्गौला प्रत्यारोपण गरेर ४ करोड आम्दानी गर्ने योजना मन्त्रालयमा

वीर अस्पतालमा वर्षमा २०० मिर्गौला प्रत्यारोपण गरेर ४ करोड आम्दानी गर्ने योजना मन्त्रालयमा

कसरी गर्न सकिन्छ २ सय प्रत्यारोपण ?


काठमाडौं– लामो समय शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रको प्रमुख भएर काम गरेका अंग प्रत्यारोपण सर्जन डा. पुकारचन्द्र श्रेष्ठले वीर अस्पतालमा वार्षिक २ सय जनाको मिर्गौला प्रत्यारोपण र २० जनाको कलेजो प्रत्यारोपण गर्न सकिने योजना तयार गरी स्वास्थ्य सचिव लक्ष्मण अर्याल र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा.डा. डिएन साहलाई बुझाएका छन् ।

केन्द्रको कार्यकारी निर्देशकबाट दुई कार्यकाल पूरा गरी वीर अस्पताल आएका उनले हाल वीर अस्पतालमा रहेकै जनशक्तिलाई प्रयोग गरी त्यति संख्यामा प्रत्यारोपण गर्न सकिने गरी योजना तयार गरेका हुन् । तर, प्रत्यारोपणका लागि भौतिक संरचना भने थप गर्नुपर्ने उनको योजनामा छ ।

हाल वीर अस्पतालमा प्रत्यारोपणको छुट्टै युनिट छैन । युरोलोजी डिपार्टमेन्टअन्तर्गत रहेका तीन जना प्रत्यारोपण चिकित्सक र एमसीएच रेजिडेन्टहरुले दुई हप्तामा एउटा मिर्गौला प्रत्यारोपण गर्दै आएका छन् । प्रत्यारोपण युनिट छुट्टै नभएका कारण अहिले मिर्गौला प्रत्यारोपण गरिएका बिरामी र दातालाई मेडिकल वार्डमा अन्य बिरामीसँगै राख्नुपर्ने बाध्यता छ ।

वीर अस्पतालमा हाल डा. पुकारसहित ४ जना प्रत्यारोपण सर्जन, २ जना कन्सल्टेन्ट फिजिसियन र ६ जना एमसीएच रेजिडेन्ट छन् । उनले अहिलेकै जनशक्तिलाई परिचालन गर्न २ वटा छुट्टै मोडुलेटर अपरेसन थ्रिएटर, ६ वेडको छुट्टै आईसीयु र ४ वेडको पोष्ट अपरेटीभ वार्ड बनाउन सके वर्षको २ सय मिर्गौला प्रत्यारोपण र २० वटा कलेजो प्रत्यारोपण गर्न सकिने दावी गरेका छन् । ‘यहाँको जनशक्ति भनेको धर्मभक्तको भन्दा पनि बढी हो,’ उनले भने, ‘भौतिक पूर्वाधार थपेर काम गर्न सके वीरको आम्दानीलाई पनि ठूलो मद्धत गर्छ ।’

कसरी हुन्छ ४ करोड आम्दानी ?

डा. पुकारचन्द्र श्रेष्ठ, अंग प्रत्यारोपण सर्जन

हाल वीर अस्पतालले एक जना मिर्गौला बिरामीको प्रत्यारोपण गरेको एक लाख अप्रेशन शुल्क लिदै आएको छ । जुन स्वास्थ्य मन्त्रालयले सोध—भर्नाको रुपमा उपलब्ध गराउँछ । डा. पुकारले तयार पारेको प्रत्यारोपण गर्ने टिमको खर्च एक वर्षको ५२ लाख हाराहारीमा छ ।

सोहीअनुसार अहिलेको जनशक्ति र भौतिक संरचनालाई नै प्रयोग गरी हप्ताको १ वटा प्रत्यारोपण गर्ने हो भने वर्षमा कम्तिमा ५० जनाको मिर्गौला प्रत्यारोपण गर्न सकिने र त्यसको आम्दानीले प्रत्यारोपण युनिट आत्मनिर्भर हुने उल्लेख छ ।

तर, भौतिक संरचना बढाएर छुट्टै २ वटा अपरेसन थ्रिएटर र आईसीयु पोष्ट अप थप्ने हो भने २ सय जनाको मिर्गौला प्रत्यारोपण गर्न सकिन्छ । जसबाट २ करोड आम्दानी हुने र ५२ करोड हाराहारीमा जनशक्तिमा खर्च भएर खुद १ करोड ५० लाख शल्यक्रियाबाट मात्र आम्दानी हुने उनको दावी छ । त्योभन्दा बढी बिरामीका लागि आवश्यक औषधि, प्याथोलोजी र रेडियोलोजी सेवा लिए बापतको आम्दानी जोड्दा ४ करोडभन्दा बढी अस्पताललाई फाइदा हुने उनी बताउँछन् ।

‘प्रत्यारोपण गर्दाको शल्यक्रिया खर्च सिधैं दुई करोड हुन्छ । जसमा झण्डै डेढ करोड बढी अस्पताललाई फाइदा हुन्छ,’ उनी भन्छन्, ‘त्यसबाहेक बिरामीका लागि आवश्यक औषधि बिक्रीबाट फार्मेसीलाई र विभिन्न जाँच गरेबापत रेडियोलोजी र प्याथोलोजीलाई त्योभन्दा दोब्बर आम्दानी हुन्छ ।’

न्याम्सको ओटीको भौतिक पूर्वाधार

हाल न्याम्सअन्तर्गतको वीर अस्पतालमा सबै खालका शल्यक्रिया गर्ने २ वटा शल्यक्रिया कक्ष छन् । २ वटा न्युरोलोजी, २ वटा कार्डियोथोरासिक एण्ड भास्कुलरका लागि थ्रिएटर छन् । त्यस्तै, राष्ट्रिय ट्रमा सेन्टरमा ५ वटा शल्यक्रिया कक्ष छन् ।

त्यस्तै, जनरलमा १५ वेड, सिटिभिएस ४, न्यूरो ४ वटा आईसीयु छन् भने र ट्रमा सेन्टरमा आईसीयु २० वेड रहेका छन् ।

तर, यति अंग प्रत्यारोपणको लागि यति धेरै जनशक्ति रहेको युरोलोजी डिपार्टमेन्ट भने अरुको ओटीमा एक महिना कुरेर एउटा प्रत्यारोपण गरिरहेको छ । आफूले मिर्गौला प्रत्यारोपण गरेको बिरामीलाई कहिले कुन वार्ड त कहिले कुन वार्डमा लगेर राख्नुपरेको दुःखेसो एक चिकित्सक बताउँछन् ।

सन् २००८ बाट मिर्गौला प्रत्यारोपण युनिट बनाएर मिर्गौला प्रत्यारोपण सुरु गरेको वीर अस्पतालमा डा. पुकारचन्द्र श्रेष्ठ भक्तपुरस्थित मानव अंग प्रत्यारोपाण केन्द्र स्थापनासँगै उता गएपछि युनिट नै हट्यो । पछि युरोलोजी विभागले नै सो काम गर्न थाल्यो । ५ वर्षअघि भूकम्पले प्रत्यारोपण युनिटको शल्यक्रिया कक्ष भएको भवन क्षति पु¥याएपछि भने वीर अस्पतालमा नियमित मिर्गौला प्रत्यारोपण हुन सकेको छैन । तर, वार्षिक ६ भन्दा बढी एमसीएच रेजिडेन्टलाई भने अध्यापन गराइरहेको छ ।

नियमित प्रत्यारोपण गर्न कति चाहिन्छ जनशक्ति ?

२ जना एनेस्थेसिया, २ जना सर्जन, १ जना नेफ्रोलोजिष्ट, १ हेपोटोलोजिष्ट र २ ट्रान्सप्लान्ट कोर्डिनेटर
१० ट्रेन्ड नर्स ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ