२०८१ साउन ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनिजी अस्पतालमा भर्ना भएका अधिकांश कोरोना संक्रमित आईसीयुमा

निजी अस्पतालमा भर्ना भएका अधिकांश कोरोना संक्रमित आईसीयुमा


काठमाडौं—कोरोना संक्रमणका कारण निजी अस्पतालमा भर्ना भएका अधिकांश व्यक्ति आईसीयुमा भर्ना भएको पाइएको छ । सोमबारसम्मको सरकारी तथ्यांकअनुसार ह्याम्समा १९ जना संक्रमित भर्ना भएका छन् । जसमध्ये ७ जनालाई आईसीयु र भेन्टिलेटरको सहायतामा राखिएको छ ।

त्यस्तै, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा पनि ७ जना संक्रमित भर्ना भएकोमध्ये ३ जना भेन्टिलेटरमा छन् । तर, सरकारी अस्पतालमा आईसीयुमा भर्ना हुनेको संख्या ज्यादै न्युन रहेको छ ।

यसअघि सरकारले निजी अस्पताललाई कोरोना संक्रमितको उपचार गर्न स्वीकृती नदिएकै बेला नेपाल मेडिसिटी अस्पतालले दुई जना संक्रमितको भेन्टिलेटरमा राखेर उपचार गरेको थियो । दुवै जनाको मृत्यु भैसकेको छ । सामान्य संक्रमितलाई भने उसले पिसिआर पोजेटिभ आउना साथ पाटन अस्पताल पठाउने गरेको थियो ।

नेपाल प्रहरी अस्पताल १ सय ७६ जना भर्ना हुँदा कुनै पनि संक्रमित आईसीयु वा भेन्टिलेटरमा छैनन् । वीरेन्द्र सैनिक अस्पतालमा ३२ जना भर्ना हुँदा १ जना आईसीयुमा राखिएको छ । त्यस्तै, धुलिखेल अस्पतालमा २३ जना भर्ना हुँदा २ जना आईसीयुमा छन् । काठमाडौं मेडिकल कलेज दुवाकोटमा ४९ जना संक्रमित भर्ना छन् तर, आईसीयुमा छैनन् । कीर्तिपुर आयुर्वेद तालिम केन्द्रमा १ सय ६८ जना भर्ना गरिएको छ । अस्पतालका अनुसार कसैलाई पनि आईसीयु र भेन्टिलेटरको आवश्यकता छैन ।

पाटन अस्पतालमा ९० सय जना संक्रमित भर्ना छन् । त्यहाँ १० जना आईसीयु र ३ जना भेन्टिलेटरमा रहेका छन् । सशस्त्र प्रहरी अस्पताल बलम्बुमा १ सय २८ जना भर्ना गरिएकोमध्ये ८ जनालाई आईसीयुमा राखिएको छ । यता टेकु अस्पतालमा ४५ जना संक्रमित भर्ना भएकोमा ५ जना आईसीयुमा राखिएको छ । त्रिवि शिक्षण अस्पतालमा २४ जनामा संक्रमितमध्ये ५ जना आईसीयुमा छन् ।

सरकारी अस्पतालको तुलनामा निजीमा धेरै संक्रमित आईसीयुमा भर्ना हुनुमा प्रश्न उब्जिएको मन्त्रालयका अधिकारीहरु बताउँछन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम आवश्यकताभन्दा बढी संक्रमित आईसीयुमा राखिएको हुन सक्ने बताए । ‘सरकारीमा कम र निजीमा बढी भन्ने हुँदैन् । आवश्यकता हेरेर मात्रै आईसीयु र भेन्टिलेटरमा राख्ने हो । तर, पछिल्लो समय निजी अस्पतालको आईसीयु भर्ना दर हेर्दा आशंका उब्जिएको छ,’ उनले भने ।

डा. गौतमले आवश्यकताअनुसार अनुगमन गरिने पनि बताए । स्वास्थ्य मन्त्रालयले कोभिड—१९ संक्रमितको उपचारका लागि लाग्ने शुल्क तोकेको छ । मन्त्रालय र मातहतका निकायबाट रिफर गरेर निजीमा पठाइएका बिरामीको उपचार खर्च सरकारले आफै ब्यहोर्ने उल्लेख छ । तर, आफै निजी अस्पतालमा गएकाहरुले भने व्यक्तिगत रुपमा खर्च गर्नुपर्ने हुन्छ । कोरोना संक्रमितको अवस्थाअनुसार मन्त्रालयले दैनिक खर्च तोकेको छ । जसअनुसार सामान्य संक्रमित भएका, लक्षण नभएका वा सामान्य लक्षण भएका जो आइसोलेसन बसेकाहरुको दिनको २ हजार रुपैयाँ, सामान्य लक्षण भएर अस्पतालमा बसेकाहरुको ३ हजार ५ सय रुपैयाँ, मध्य जटिल भएकाको ७ हजार रुपैयाँ र आईसीयु र भेन्टिलेटरमा राख्नुपर्ने क्रिटिकल बिरामीको लागि दैनिक १५ हजारका दरले उपचार खर्च उपलब्ध गराउने सरकारले निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता डा. गौतम निजीले उपचार गर्दा पनि यही अनुपातमा शुल्क लिनुपर्ने बताउँछन् ।

आईसीयुमा भर्ना गर्दा बढी रकम लिन पाइने भएकाले निजी अस्पतालहरुले धमाधम संक्रमित आईसीयुमा राख्न थालेको कोभिड—१९ संक्रमितको उपचार गरिरहेको उपत्यकाको एक सरकारी अस्पतालका चिकित्सक बताउँछन् । ‘निजी अस्पतालले २ हजार रुपैयाँ लिएर कोभिड—१९ को बिरामी भर्ना नै गर्दैनन्,’ नाम उल्लेख नगर्ने शर्तमा ती चिकित्सक भन्छन्, ‘सामान्य आइसोलेसनमा उपचार गर्न नमानेपछि हाम्रो आएका बिरामी धेरै छन् ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ