२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’

प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’


काठमाडौं—चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का एशोसियट प्रोफेसर एवं वीर अस्पतालका बरिष्ठ जनरल फिजिसियन डा. ध्रुव गैरे कोभिड—१९ संक्रमणका कारण गम्भीर बिरामी भए । सुरुमा उनलाई खानामा अरुचि, स्वाद थाहा नहुनेजस्ता समस्या देखिए । त्यसपछि डायरिया र बमिट सुरु भयो । १५ दिनअघि साँझ ५ बजेतिर हल्का ज्वरो आएको थियो । त्यतिखेर जाँच गर्दा ज्वरो ९९ डिग्री थियो । एक घण्टापछि चेक गर्दा क्रमसः १०० हुँदैं बढेर भोलिपल्ट विहान पाँच बज्दा १०४ डिग्री पुग्यो ।

ज्वरो एक्कासी बढेपछि डा. गैरेलाई एम्बुलेन्समार्फत वीर अस्पताल ल्याइयो । त्यहाँ रगतलगायतका आवश्यक परीक्षण गरियो । स्वास्थ्यकर्मी भएका कारण लक्षण कोभिड—१९ सँग मिल्दा जुल्दा भएपछि पिसिआर जाँच गर्दा कोरोना पोजेटिभ देखियो । झण्डै भेन्टिलेटर पुग्नुपर्ने अवस्थाबाट निको हुँदैं डिस्चार्ज हुने तरखरमा रहेका डा. गैरेले हेल्थआवाजसँग कोरोनाले बनाएको स्वास्थ्य जटिलताका बारेमा यसरी सुनाएः

एकै रातमा १०४ डिग्री ज्वरो पुग्यो

म वीर अस्पतालको मेडिसिन विभागको चिकित्सक । नियमित बिरामीको सेवामै खटिरहेको थिए । झण्डै १७—१८ दिनअघि सुरुमा खानामा रुचि कम हुँदैं गयो । स्वाद थाहा नहुने भयो । विस्तारै डायरिया र बमिट सुरु भयो ।

त्यसपछि हनहनी ज्वरो आउन थाल्यो । सुरुमा ९९ डिग्री ज्वरो थियो । भोलिपल्ट विहानसम्म ज्वरो पिकमा पुथ्यो १००, १०२ हुँदै १०४ सम्म पुग्यो । एकै रातमा ज्वरो यसरी पिकमा पुग्यो । विहान ३—४ बजेतिर ज्वरोले लडाउने अवस्था नै आयो । अनि त्यही बेला एम्बुलेन्स बोलाएर हस्पिटल आए ।

एम्बुलेन्समार्फत वीरमा पुगेपछि रगत परीक्षण गराए । कोभिड—१९ सँग मिल्दाजुल्दा लक्षण भएकाले कोभिड परीक्षण पनि गराए । सबैका रिपोर्टहरु आए । कोभिड—१९ को रिपोर्ट पोजेटिभ देखियो । मलाई आईसीयु चाहिने अवस्थामा भैसकेको थियो । वीरमा छुट्टै आईसीयु नभएका कारण त्रिवि शिक्षण अस्पताल ल्याइयो ।

शिक्षण आएपछि अवस्था झन नाजुक हुँदैं गयो । आएको तेस्रो दिनमा त अवस्था यस्तो पुग्यो कि चिकित्सकरुले भेन्टिलेटरमै राख्नुपर्छ भन्ने सल्लाह गर्न थालिसकेका थिए । तर, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले तोकेका उपचारका सबै स्ट्यान्डर्ड अपनाइयो । रेम्डेसिभिर औषधि चलाइयो । प्लाज्मा थेपारी गरियो । भाग्य नै मान्नुपर्छ, चिकित्सकले जे—जे गर्नुपर्ने हो, समयमै गरिएको रहेछ । भेन्टिलेटरमा गैसकेपछि कोभिड—१९ का बिरामी फर्केर आएको बिरलै मात्रै छन् ।

मलाई कोरोना लाग्दैन् भनेर घमण्ड नगर्नुहोस्

चैत्र, बैशाखतिर देखिएको कोभिड—१९ त्यति कडा देखिएको थिएन । अहिले पनि मानिसहरु त्यही सम्झेर कोरोनालाई हेपिरहेका छन् । तर, जसले कोरोनालाई हल्का रुपमा लिन्छ, त्यसले जिन्दगीकै ठूलो भूल गर्छ । हामीजस्तो युवा मान्छेलाई त यसरी सिरियस अवस्थामा पु¥यायो । मलाई अहिलेसम्म केही पनि स्वास्थ्य समस्या थिएन । न सुगर, न प्रेसर न दम नै थियो । मेरो शरीरमा क्यानुला लगाइएको यो पहिलो पटक हो ।

कोरोनाले शरीरमा चाडो—चाडो जटिलता उत्पन्न गर्दै जाँदोरहेछ । घण्टा—घण्टामा समस्या थपिदैं जाने रहेछन् । भेन्टिलेटर र आईसीयु भन्ने कुरा त अडिनरी कुराहरु मात्रै रहेछन् । फोक्सोलाई श्वास फेर्न जति सजिलो बनाउन सक्यो, त्यति रेष्ट मिल्दोरहेछ । मलाई त्रिवि शिक्षणमा अस्पताल भेन्टिलेन्टर राख्नुभन्दा अगाडि राखिने ‘नन इन्भ्यासिभ भेन्टिलेटर’मा उपचार गरियो । यसले अक्सिजनको फ्लो सहज बनाउँछ ।

मेरो शरीरले अक्सिजनले ३० प्रतिशत मात्रै स्याचुरेट गरेको थियो । मलाई विश्व स्वास्थ्य संगठनले तोकेको सबै मापदण्डअनुसार उपचार गरिएपछि अहिले स्वास्थ्यमा सुधार हुँदैं आएको छ । अहिले अक्सिजन स्यासुरेसन गर्ने क्षमता ९२—९३ पुगेको छ । आजै यहाँबाट डिस्चार्ज भएर रेष्टको लागि वीर अस्पताल जाने तयारीमा छु ।

म आम नेपालीलाई के भन्न चाहन्छु भने अहिलेको भाइरस चैत्र र बैशाखजस्तो छैन् । अहिले किटाणु एकदमै कडा र सक्रिय छ । अबका एक दुई हप्ता कन्ट्रोल गर्न सकिएन भने अवस्था भयावह हुने निश्चित छ । अहिले अस्पतालका वार्ड र आईसीयुहरु भरिभराउ छन् । एकातिर अस्पतालमा वेडको अभाव हुँदैं गएको छ, अर्कोतर्फ अस्पतालमै राख्नुपर्ने अवस्थाका केसहरु दिनदिनै बढिरहेका छन् । डन्ट टेक इट इजी । तपाईंको जिन्दगी तपाईको आफ्नै हातमा छ । प्लीज, म बलियो छु, मलाई रोग छैन्, मलाई कोरोना लाग्दैन् भनेर घमण्ड नगर्नुहोस् । लाइफ हाम्रो हातमा छैन्, उसको हातमा छ ।

अबका दुई तीन हप्ता एकदमै क्रिटिकल छन् । ज्वरो आएको दुई दिनमै कडा निमोनिया निकाल्नु सामान्य कुरा होइन् । मलाई त्यो बेलाभन्दा अहिले झन डर लागेको छ । किनभने, त्यतिखेर मैले आफ्नो छातीको एक्स—रे हेरेको थिइन् । अहिले आफ्नो एक्स—रे हेरेर आफै डराए । दुई दिनको अन्तरालमा मेरो फोक्सो कस्तो भएछ । म भन्नै सक्दिन् । म केही रोग नलागेको र राम्रो इम्युनिटी पावर भएको मान्छेलाई त यस्तो भएछ । वृद्धवृद्धा, बालबालिका र रोग प्रतिरोधात्मक क्षमता नभएका मान्छेलाई मात्रैं यसले गम्भीर बनाउँछ भन्ने जुन भ्रम छ, त्यो आजैदेखि तोडिदिनुहोस् । सबैका लागि उतिनै खतरानाक छ ।

तपाईंहरु सोसल डिस्टान्स बनाउनुहोस्, मास्क लगाउनुहोस् । दुई—तीन हप्ता बाहिर ननिस्कनुस् । दुई हप्ता बाहिर ननिस्केर पहाड र आकाश खस्ने छैन् । भोकै कोही मर्ने पनि होइन् । बाँचेपछि भोलि सबै गरौंला ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ