२०८१ असार ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोना परीक्षणमा त्रिवि शिक्षण अस्पतालमै ठगी, फार्मेसीसँग मिलेर छुट्टै भिटिएम किन्न लगाइयो

कोरोना परीक्षणमा त्रिवि शिक्षण अस्पतालमै ठगी, फार्मेसीसँग मिलेर छुट्टै भिटिएम किन्न लगाइयो


काठमाडाैं-कोरोना परीक्षणका नाममा निजी अस्पतालहरुले ठगेको गुनासो आइरहेका बेला सरकारको मातहतमा रहेको एक अस्पताले समेत तोकेकोभन्दा बढी रकम लिएको पाइएको छ । सरकारले एक पटक पिसिआर परीक्षण गराएको ५५०० रुपैयाँ शुल्क तोकेको छ ।

तर, शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सकले फार्मेसीसँग मिलेर परीक्षणका लागि अस्पतालमा पुग्ने व्यक्तिसँग तोकेकोभन्दा ३७५ रुपैयाँ अतिरिक्त शुल्क लिएको पाइएको हो । काठमाडौंका एक युवक प्रवेश आचार्यले कोभिड—१९ जाँच गर्दा अतिरिक्त रकम तिराएको बताए ।

सरकारी अस्पतालमध्ये पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल र वीर अस्पतालमा सरकारले तोकेको शुल्कमा आफूखुसी कोरोना परीक्षण गराउन सकिन्छ । तर, सरकारले तोकेको भन्दा एक रुपैयाँ पनि बढी तिनु कालोबजारी ठहरिने मन्त्रालयका अधिकारीहरु बताउँछन् । शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सकले नजिकैको ‘पानोर्मा मेडिकल हल’ सँग मिली भिटिएम किन्न लगाउने गरेको खुलेको हो ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार सरदर दैनिक १ सयको संख्यामा अस्पतालले स्वाब संकलन गर्दै आएको छ । प्रतिव्यक्ति भिटिएम बापत चिकित्सकले ३७५ रुपैयाँका दरले कम्तिमा पनि दैनिक ३७ हजार बढी अतिरिक्त शुल्क लिदै आएको छ ।

शिक्षण अस्पतालका निमित्त कार्यकारी निर्देशक प्रा. डा. रोहित पोखरेलले यस्तो गैरकानुनी काम हुनै नसक्ने बताए । ‘हामीलाई सरकारले ५ हजार ५ सय रुपैयाँ प्रतिव्यक्ति लिनु भनेको छ । त्यो रकम भनेको सम्बन्धित व्यक्तिको स्वाब कलेक्सनदेखि रिपोर्ट दिदासम्मको सबै खर्च हो,’ उनले भने ।

उनले भिटिएमको नाममा छुट्ट्रै पैसा तिराउनु आश्चर्यको विषय भएको बताए । ‘मलाई लाग्छ त्यस्तो पक्कै भएको छैन । तर, बिलै भएपछि मैले नबुझी आधिकारिक बोल्न मिलेन तोकेकोभन्दा बढी रकम पिसिआर परीक्षणका नाममा उठाउन भने कसैलाई छुट छैन ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ