२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारगंगालालमा बालिका मृत्यु प्रकरणः ३ चिकित्सकलाई स्पष्टीकरण, २ ल्याब टेक्नीसियनलाई हदैंसम्मको कारवाही सिफारिस

गंगालालमा बालिका मृत्यु प्रकरणः ३ चिकित्सकलाई स्पष्टीकरण, २ ल्याब टेक्नीसियनलाई हदैंसम्मको कारवाही सिफारिस


काठमाडौं—नेपाल मेडिकल काउन्सिलले गंगालाल हृद्धयरोग केन्द्रमा फरक समूहको रगत चढाएर बालिका मृत्यु भएको प्रकरणमा अस्पतालका डा. अपूर्व ठाकुरलाई निलम्बन, डा. सन्दीप भण्डारी र डा. रवीन्द्रभक्त तिमिलालाई विभागीय कारवाही किन नगर्ने भन्दैं स्पष्टीकरण सोधेको छ । काउन्सिलले दुई जना ल्याब टेक्नीसियन सरला कोइराला र विन्देश्वर यादवलाई हदैसम्मको कारवाहीका लागि नेपाल स्वास्थ्य ब्यवसायी परिषद्मा सिफारिस गरेको छ ।

काउन्सिलको पूर्ण बैठकले फरक–फरक भूमिका भएका सबैलाई फरक तरिकाले ७ दिनभित्र स्पष्टीकण बुझाउन पत्र काटेको काउन्सिलको इथिकल कमिटीका संयोजक समेत रहेका प्रवक्ता प्रा.डा. ढुण्डीराज पौडेलले बताए ।

‘डा. भगवान कोइरालाको नेतृत्वमा बनेको छानविन समितिले बुझाएको प्रतिवेदन आधारमा काउन्सिलले ७ दिने स्पष्टीकरण सोधेको छ,’ प्रा.डा. पौडेलले भने, ‘स्पष्टीकरण आएपछि काउन्सिलले थप कारवाही प्रक्रिया अगाडि बढाउँछ ।’

काउन्सिल स्रोतकाअनुसार शल्यक्रियाको अन्तिम ब्यवस्थापन गर्ने डा. अपूर्व ठाकुरलाई तपाईलाई निलम्बनसम्मको कारवाही किन नगर्ने भन्ने स्पष्टीकरण सोधिएको छ । बिरामीका मुख्य शल्य चिकित्सक डा. रवीन्द्रभक्त तिमिलालाई ‘प्रोभेसन’सम्मको (सिनियर चिकित्सक भएपनि अर्को सिनियर चिकित्सकको मुन्तिर बसेर मात्र काम गर्न) कारवाही किन नगर्ने भन्दैं स्पष्टीकरण सोधिएको छ । त्यसैगरी, एनेस्थेसियाका चिकित्सक डा. सन्दीप भण्डारीलाई अन्तिम पटकको चेतावनीसहित किन कारवाही नगर्ने भन्दैं स्पष्टीकरण सोधिएको छ ।

निर्देशक डा. जोतेन्द्र शर्मालाई नैतिक जिम्मेवार बन्न र अस्पताल ब्यवस्थापनलाई सुधार र सुक्ष्म नियन्त्रण गर्न भन्दैं पत्र काटिएको काउन्सिल स्रोतले बतायो । यस्तै, एनेस्थेसियाका डा. जेजुनाथ पोखरेललाई आफ्नो विभागको राम्रो बनाउन र नैतिक जिम्मेवार बन्न निर्देशन दिदैं पत्र काटेको छ ।

डा. नवीनचन्द्र गौतमलाई अब उप्रान्त आफू अनुपस्थिती भएको हुँदा हस्ताक्षर नगर्न भनिएको छ । यस्तै, डा. चन्द्रमणि अधिकारीलाई नैतिक दायित्व र ल्याबलाई पूर्ण रुपमा सुधार्न पत्र काटिएको छ । यस्तै, डा. अविनाश यादव, डा. रुपेश प्रधान र डा. दीक्षा जोशीलाई पनि नैतिक रुपमा पूर्ण जिम्मेवार बन्न र दायित्व पूरा सचेत गराइएको छ ।

डा. योगेश्वरमान सिंह, डा. विश्व पोखरेल, डा. निमेषराज भण्डारीले छानविन समितिसँग गैरजिम्मेवारपूर्ण अभिब्यक्ति दिएको भन्दैं निजहरुलाई अब उप्रान्त जिम्मेवार रुपमा प्रस्तुत हुन अस्पताल प्रशासनलाई निर्देशन दिदै पत्र काटिएको छ ।

गत बैशाखमा मुटुको शल्यक्रिया गर्ने क्रममा गलत समूहको रगत चढाउँदा ५ वर्षीया बालिका आकृतिकुमारी साहको मृत्यु भएको थियो । बालिकाको रगत समूह ओ पोजेटिभ भएपनि चढाइएको रगत ए पोजेटिभ पर्न गएको थियो । जसका कारण बालिकाको मृगौला खराब भएर मृत्यु भएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ