२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसमुन्द्रपारी ससुराली भएका डाक्टर

समुन्द्रपारी ससुराली भएका डाक्टर


चिकित्सा शिक्षा अध्ययनका सिलसिलामा नेपाली युवा समुन्द्रपारी गए, अहिले पनि जाने क्रम छ । विदेशी विश्वविद्यालय र मेडिकल कलेजमा अध्ययनकै सिलसिलामा युवा मन त्यहीं कसैसँग ठोक्कियो । युवायुवती भावनात्मक मायाको डोरीमा बाँधिए ।

दुई युवा मनमा मायाका फूलहरु फूले, त्यही मायालाई दुलही बनाएर घरबार बसाए । नेपालमा रसिया, थाइल्याण्डदेखि हंगेरीसम्मका युवतीहरुलाई नेपाली बुहारी बनाएर नेपाल भित्र्याउने थुप्रै चिकित्सकहरु छन् । समुन्द्रपारी ससुराली बनाएका केही प्रतिनिधी डाक्टरहरुको प्रेमकथा हेल्थआवाजले खोतलेको छ ।

डान्स पार्टीबाट जोडिएको डा.शशांक र डा. सुपात्राको सम्बन्ध

डा. शशांक कोइरालाको ससुराली थाइल्याण्ड हो । उनले सन् १९७९ मा थाइल्याण्डकी डा. सुपात्रा पतियासेडीसँग प्रेम विवाह गरेका हुन् । डा. शशांक र डा. सुपात्राको पहिलो भेट सन् १९७६ मा एउटा डान्स पार्टीमा भएको थियो । डा. शशांक त्यतिबेला बनारसस्थित काशी हिन्दु विश्वविद्यालयमा विएस्सी अध्ययन गरिरहेका थिए भने सुपात्रा मेडिकल पढ्दै थिइन् । ‘डान्स पार्टीमा भेटघाट भएपछि रातभरसँगै नाचियो,’ डा. शशांक पहिलो भेट सम्झन्छन््, ‘त्यहीँ साथी बनियो ।’

डान्स पार्टीबाट छुटिएपछि डा. शशांक र डा. सुपात्राको नियमित संवाद हुन थाल्यो । फुर्सदको समयमा उनीहरु भेटघाट गर्न थाले । विस्तारै सुपात्राले शशांकलाई यति धेरै प्रेम गर्न थालिन् कि त्यही आफ्नोपनले शशांक पनि प्रेमी बनाइदियो । दुई चार महिनाको संवादपछि सुपात्राले शशांकलाई प्रेम प्रस्ताव राखिन् । त्यतिबेला सुपात्राले शशांकको मन जितिसकेकी थिइन् । ‘सुपात्रा मलाई पनि उधुमै राम्री लाग्थिन्, उनको व्यवहारले म पग्लिसकेको थिएँ,’ शशांक भन्छन्, ‘उनको प्रेम प्रस्तावलाई नकार्नै सकिन ।’

शशांक त्यतिबेला इन्टरनेशनल होस्टलमा बस्थे भने सुपात्रा कस्तुरबा महिला होस्टलमा बसेर अध्ययन गर्दै थिइन् । प्रेम झाँगिदै गएपछि उनीहरु विवाह गर्ने मनस्थितीमा पुगे । त्यसपछि शशांक नेपाल आएर पिता विश्वेश्वरप्रसाद कोइरालालाई भने, ‘बुवा म विवाह गर्छु, मेरी प्रेमिका पनि छ ।’ विपीले जवाफ दिए, ‘विवाह गर्ने भए गर न त ।’ पिताको समर्थन पाएपछि शशांकले काठमाडौंमै विवाह गर्ने योजना बनाए, त्यसमा सुपात्राले पनि सहमति जनाइन् । उनी आफ्नो परिवारसहित काठमाडौं आइन् ।

सन् १९७९ मा चाबहिलस्थित मातृकाप्रसाद कोइरालाको घरबाट सामान्य तरिकाले विवाह गरेको शशांक बताउँछन् । ‘३ सय रुपैयाँ त हाम्रो विवाह सकियो,’ उनी भन्छन् । डा. सुपात्रा यतिबेला चावहिलस्थित ओम अस्पतालमा कार्यरत छिन् भने आँखाका चिकित्सकसमेत रहेका डा. शशांक कोइराला राजनीतिमा सक्रिय छन् । उनी अहिले नेपाली कांग्रेसका महामन्त्री छन् ।

सहपाठीसँग अंकुराएको डा. ज्ञानेन्द्र र डा. इरिनाको जोडी

डा. ज्ञानेन्द्रमान सिंह कार्की सन् १९७९ को अन्त्यमा चिकित्साशास्त्र अध्ययनका लागि रसिया गए । सेन्ट पिटर्सवर्गस्थित फस्र्ट मेडिकल इन्स्टिच्युटमा एमडी अध्ययनका लागि भर्ना हुन्छन् । आफ्नो देश छोडेर पहिलोपटक परदेश पुगेका कार्कीका लागि सुरु—सुरुमा त्यहाँका मानिस, भाषा, बोलीचाली, खानपिन, रहनसहन, भेषभूषा सबै नौला लाग्छन् । त्यही नयाँ संसारमा घुलमिल हुँदै उनको अध्ययन सुरु हुन्छ ।

कलेजमा गोरो अनुहार, आकर्षक जिउडाल, चिटिक्क परेकी युवती कार्कीको नजरमा पर्छिन् । ती युवती पनि सोही इन्स्टिच्युटमा चिकित्साशास्त्र अध्ययन गर्न आएकी हुन्छिन् । ती युवती अरु कोही नभएर डा. कार्कीकी श्रीमती डा. इरिना निकोलायब्ना हुन्छिन् । दुवैजना एउटै इस्टिच्युटमा पढ्ने भएपछि उनीहरुलाई साथी बन्न कुनै छेकबार हुँदैन् । होस्टल पनि एउटै भएपछि बाक्लिदा भेटघाटले थप नजिक बनायो । पढ्ने इन्स्टिच्युट एउटै, बस्ने होस्टल एउटै भएपछि उनीहरु धेरैजसो समय सँगै बिताउन थाले । सँगै पढ्ने, आफ्ना दुःख सुखका कुरा साटासाट गर्ने । एकअर्कासँग भएको गहिरो घुलमिल, केयरिङजस्ता कुराहरुले थप निकट बनायो । डा. कार्कीलाई विस्तारै—विस्तारै डा. इरिना मन पर्न थालिन् । कार्की सम्झन्छन्, ‘उनी मेरो आँखामा विश्वकै सुन्दरी थिइन् ।’ इरिनाको बोलीचाली, सुन्दरता, इमान्दारिता, झुट नबोल्ने बानी, पढाइमा अब्बलता, केयरिङजस्ता पक्षले कार्कीको मन पग्लियो ।

सन् १९८३ मा डा. कार्कीले मन जित्ने तिनै डा. इरिनालाई प्रेम प्रस्ताव राखे । उनको प्रस्तावलाई इरिनाले पनि सहर्ष स्विकारिन् । त्यसपछि उनीहरुको मायाको यात्रा सुरु हुन्छ । सन् १९८६ मा कार्कीको एमडी सकिएपछि उनी नेपाल फर्किए । तर, डा. इरिना भने रसियामै थिइन् । उनले नेपालबाट छिट्टै फर्किने वाचा गरेर आएका थिए । त्यतिबेला उनीहरुबीचको प्रेम यति गाढा भएको थियो कि एक अर्को छुटिएर बस्नै सक्दैनथे । तैपनि पढाइ सकिएपछि कार्की नेपाल आएर थापाथलीस्थित प्रसुतीगृहमा काम गर्न थाले । त्यतिबेला अहिलेको जस्तो सामाजिक सञ्जाल र हातहातमा मोबाइलको सुविधा थिएन । तैपनि, टेलिफोनमार्फत नियमित संवाद हुन्थ्यो ।

डा. कार्की काम गर्दैगर्दा उनलाई परिवार तथा आफन्तबाट विवाहको प्रस्ताव आउन थाल्यो । तर, उनी भने डा. इरिनासँग विवाह गर्ने मनस्थितीमा पुगिसकेका थिए । परिवार र आफन्तबाट विवाहको प्रस्ताव आउन थालेपछि उनले रसियामा आफ्नी प्रेमिका रहेको र उसैसँग विहे गर्ने जानकारी दिए । ‘हामी एक अर्कालाई यति माया गथ्र्यौं कि विहे गर्ने न अर्को उनका लागि कुनै केटा थियो न मेरा लागि कुनै केटी,’ उनी भन्छन्, ‘त्यसैले विवाह गरे यसैसँग गर्छु नत्र विहे नै गर्दिन भन्नेमा थिएँ ।’ उनको यो कुरामा आमा र दाइले मन खुम्च्याएँ । ‘आमा र दाइले अर्को देशकी केटी यहाँको रहन—सहन, रीतिरिवाज, वातावरणमा घुलमिल गराउन गाह्रो हुन्छ भन्ने थियो,’ डा. कार्की भन्छन्, ‘तर, म इरिनालाई विहे गर्ने पक्षमै अडिग रहिरहें ।’ उता डा. इरिनालाई भने उनको परिवारबाट कार्कीसँग विवाह गर्न निकै सहयोगी भूमिका रह्यो ।

कार्की नेपालमा एक वर्षको बसाइँपछि इरिनासँग विवाह गर्ने मनस्थिती बनाएर रसिया फर्किए । सन् १९८७ मा रसियामै धुमधामले विवाह गरे । डा. कार्कीले विवाहमा आफ्ना चार पाँच जना साथीहरुलाई बोलाएका थिए । तर, डा. इरिनाको माइतीपक्ष भने सबै उपस्थित थिए । विवाह भएको केही समयपछि डा. इरिना लिएर डा. कार्की नेपाल फर्किए । डा. इरिना अहिले विराटनगरस्थित आफ्नै विराट मेडिकल कलेजमा कार्यरत छिन् । उनीहरुको दुई जना छोरा छन् ।

ब्याटमिन्टन ग्राउन्डबाट प्रेम हुँदै विवाहसम्म

डा. प्रेमराज ज्ञवाली र तान्या ज्ञवालीको भेट सन् १९८५ मा रसियामा भएको हो । जतिबेला डा. प्रेमराज सरकारी छात्रवृत्तिमा एमडी अध्ययनका लागि रसिया गएका थिए । उनी रसियास्थित रोस्टोभ स्टेट मेडिकल युनिभर्सिटीमा मेडिसिनमा एमडी गर्दै थिए । त्यही कलेजमा तान्या पनि पेडियाट्रिक डिपार्टमेन्टमा एमडी गर्दै थिइन् । एकदिन डा. प्रेमराज ब्याटमिन्टन खेलिरहेका थिए । त्यहाँ डा. तान्या भार्टकेसोभना पनि ब्याटमिन्टन खेल्न आइन् । पहिलो भेटघाट जुराउने संयोग ब्याटमिन्टनले जुरेको थियो । पहिलो नजरमै प्रेमराजलाई तान्या मन परिन् । तर, पहिलो दिन खासै कुराकानी हुन पाएन । उनीहरु हप्तामा २÷३ दिनमात्र ब्याटमिन्टन खेल्थे । त्यसैगरी अर्को दिन पनि तान्या ब्याटमिन्टन ग्राउन्डमा आइन् । त्यो दिन उनीहरुबीच सामान्य परिचय भयो ।

विस्तारै उनीहरु एकअर्कालाई भेट्नकै लागि भएपनि ब्याटमिन्टन ग्राउन्डमा जान थाले । यत्तिकैमा दुवैबीच प्रेमाभाव प्रकट हुन थाल्यो । डा. प्रेमराजभन्दा डा. तान्याको बसाइँ टाढा थियो । डा. तान्या बस्ने ठाउँमा पुग्न गाडीमै ४५ मिनेट लाग्थ्यो । पढाइको चाप बढ्दै गयो । त्यसपछि उनीहरुको भेटघाट पातलिँदै गयो ।

त्यतिबेला उनीहरुसँग अहिलेजस्तो मोबाइलमा सम्पर्क हुने सम्भावना थिएन । त्यसैले डा. प्रेमराज डा. तान्यासँग कुराकानी गर्न मन लाग्ने बित्तिकै टेलिकम अफिसमा गएर फोन गर्थे । डा. तान्याको व्यवहारले प्रेमराजको मन जित्दै गयो । प्रेमराज पनि रसियन भाषा निकै राम्रो बोल्थे । यति राम्रो कि दुरुस्तै रसियन नागरिकले बोलेजस्तो । नियमित भेटघाट, बोलचाल, फोनमा वार्ता भएपनि उनीहरु दुवैले एकअर्कालाई प्रेम प्रस्ताव राख्ने हिम्मत गरेनन् । डा. प्रेमराज भने प्रेम प्रस्ताव राखेपछि विवाह नै गर्नेगरी प्रस्ताव राख्ने मनसायमा थिए । ‘म नेपालको एउटा गाउँको ठिटो, मलाई त नेपाल नै आउनु थियो । तर, उनी नेपाल आउन मान्छिन् कि मान्दिनन् भन्ने थियो,’ डा. ज्ञवाली भन्छन्, ‘उनी नेपाल आउने मनसाय देखाइन् भने प्रेम प्रस्ताव राख्छु नत्र दुई चार दिनको रमाइलोका लागि प्रस्ताव गर्दिन भनेर बसे ।’

यसबारे उनले तान्याको मनसाय बुझे । उनले पनि प्रेमभाव प्रकट गरेपछि डा. प्रेमराजले सन् १९९० मा प्रेम प्रस्ताव राखे । उनको प्रस्तावलाई तान्याले सहजै स्विकारिन् । त्यसलगत्तै उनीहरु विवाह गर्ने मनस्थितीमा पुगे । विवाहका लागि सुरुमा दुवै परिवारले आनाकानी गरेपनि अन्त्यमा सहमति दिए । डा. प्रेमराजले डा. तान्यासँग सन् १९९० मा रसियन परम्पराले विवाह गरे । प्रेमराजको सन् १९९५ मा पिजी सकिएपछि नेपाल आए । त्यतिबेला तान्या गर्भवती भएकाले उनीसँगै आउन नसकेको डा. प्रेमराज बताउँछन् ।

नेपाली विवाह गर्ने डा. प्रेमराजको रुचि बाँकी नै थियो । तर, समय मिलिरहेको थियो । तर, पाँच वर्षअघि डा. प्रेमराज र डा. तान्याले नेपाली शैलीमा धुमधामले विहे गरे । नेपाली शैलीको विवाहका लागि उनले २५ औं वैवाहिक वर्षगाँठ रोजेका थिए । त्यो विवाहका बेला डा. तान्यालाई डा. प्रेमराजको साथीको घरमा गोगबुमा राखियो । डा. प्रेमराज हात्तीगौडाबाट आफ्नो घरबाट जन्तीसाथ गएर डा. तान्यालाई ल्याउँछन् । त्यही दिन याक एण्ड यति होटलमा भव्य भोजसहित साथीभाइ र आफन्तलाई पार्टी दिए । डा. प्रेमराज र डा. तान्याको २ छोरा छन् ।

गुलाफ र पर्फ्युम दिएर प्रेम प्रस्ताव

इटहरीका डा. मनिष ओली र रसियाकी डा. नतालिया स्पिथको भेट सन् १९९८ रसियाको सेन्ट पिटसवर्गमा भएको हो । सेन्ट पिटसवर्गस्थित पाव्लोव स्टेट मेडिकल युनिभर्सिटीमा एमबीबीएस अध्ययन गर्दा उनीहरुको भेट भएको हो ।

नेपालबाट अध्ययनका लागि रसिया पुगेका ओलीका लागि सुरुवाती दिन निकै कष्टकर थियो । पहिलो कुरा त उनलाई भाषामै समस्या थियो, चिनेजानेका कोही थिएनन् । उनलाई त्यहाँको सिस्टम बुझ्न समस्या प¥यो । नतालिया सोही युनिभर्सिटीमा एमबीबीएस अध्ययन गर्न आएकी हुन्छिन् । नतालियाको घर सेन्ट पिटर्सवर्गमै भएकाले उनले आफूलाई निकै सहयोग गरेको ओली बताउँछन् । ‘म त एउटा विदेशी विद्यार्थी थिएँ । मलाई त्यहाँको सिस्टम केही पनि थाहा थिएन,’ उनी भन्छन्, ‘नतालियाले सुरुवाती दिनमा मलाई लाइब्रेरी कार्ड बनाउनेदेखि लिएर मेरो हेल्थ चेकअप र आवश्यक सामान किन्न निकै सहयोग गरिन् । मलाई कक्षा सञ्चालनको बारेमा पनि बुझाइन् ।’

अनुहारकी सुन्दर नतालियाको स्वभाव पनि त्यस्तै थियो, उनी समस्यामा परेकाहरुलाई सहयोग गर्न सदैव पहिलो लहरमा उभिन्थिन् । त्यही सहयोगी भावनाले ओलीको मन जित्यो । ओलीले नतालियालाई आफ्नी प्रेमिका बनाउने मनमनै सोच्न थाले । कलेज सुरु भएको केही समयपछि अंग्रेजी नयाँ वर्ष आयो । त्यही नयाँ वर्षको छेको पारेर उनले नतालियालाई गुलाफको फूल र पर्फ्युम दिएर ‘आइ लभ यु’ भनेर प्रेम प्रस्ताव राखे । तर, नतालियाले भने त्यो दिन कुनै प्रतिक्रिया दिइनन् । प्रेम प्रस्ताव राखेको भोलिपल्ट ओलीले नतालियालाई थिएटरमा नाटक हेर्न जाउँ भने । नतालियाले पनि जाने इच्छा देखाएपछि मात्र आफ्नो प्रेम प्रस्ताव स्किारिन् भन्नेमा ढुक्क भएको उनी बताउँछन् । त्यसपछि उनीहरुको प्रेमिल जोडीको रोमान्सको याम सुरु हुन्छ ।

 

डा. नतालियाको घर युनिभर्सिटीबाट टाढा थियो । डा. ओली भने युनिभर्सिटी नजिकै अपार्टमेन्टमा बस्दै आएका थिए । बिहानैबाट कक्षा लाग्ने भएकाले नतालियालाई गाह्रो हुन थाल्यो । त्यसपछि उनीहरु एउटै अपार्टमेन्टमा बस्न थाले । सँगै बसेको केही वर्षपछि उनीहरु विवाह गर्ने मनस्थितिमा पुगे । तर, ओलीले नतालियासँग विवाह गर्नका लागि नेपालबाट प्रहरीको चिठीको आवश्यकता प¥यो । उनी सन् २००१ मा नेपाल आएर प्रहरीको चिठी बनाए । साथै परिवारलाई पनि आफू विवाह गर्न लागेको जानकारी गराए । त्यतिबेला परिवारबाट कसैले पनि हस्तक्षेप नगरेको ओली बताउँछन् । ‘मेरो रसियामा प्रेमिका छिन् भन्ने परिवारका सदस्य सबैलाई थाहा थियो,’ उनी भन्छन्, ‘त्यसैले विवाहका लागि सबैले स्विकृती दिनुभयो ।’ परिवारको स्विकृती र प्रहरीको चिठी लिएर उनी रसिया उडे । रसिया गएर सन् २००२ मा डा. नतालियासँग लगनगाँठो कसेको ओली बताउँछन् ।

विवाह पश्चात उनीहरु सन् २००५ मा नेपाल फर्किएका हुन् । अहिले उनीहरुको दुई वटी छोरी छन् । एनेस्थेसिया एन्ड क्रिटिकल केयरका चिकित्सक डा. ओली यतिबेला अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा कार्यरत छन् भने उनकी पत्नी डा. नतालिया काठमाडौं मेडिकल कलेजको कम्युनिटी मेडिसिन विभागको एशोसियट प्रोफेसर छन् ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ