२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारझन फैलिदै डेंगु संक्रमण, पाँच वर्षमा ११ गुणा वृद्धि

झन फैलिदै डेंगु संक्रमण, पाँच वर्षमा ११ गुणा वृद्धि


काठमाडौं–पछिल्लो पाँच वर्षमा नेपालमा डेंगु संक्रमणको दर बढ्दै गएको पाइएको छ । सरकारले डेंगु नियन्त्रमा आवश्यक कदम चालेको बताइरहेका बेला रोगको संक्रमण दर झन बढेको पाईएको हो । आर्थिक वर्ष २०७०÷७१ मा ३ सय २ जनामा देखिएको डेंगु संक्रमण गत आर्थिक वर्षको अन्त्य सम्ममा ३ हजार ४ सय २५ जनामा देखिएको छ ।

स्वास्थ्य सेवा विभागले आईतबार गरेको अन्तरक्रिया कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेक कुमार लालले सो जानकारी दिएका हुन् ।पाँच वर्षको अवधिमा नेपालमा डेंगुको संक्रमण झण्डै ११ गुणाले वृद्धि भएको छ ।

प्रदेश नम्बर १ सबैभन्दा बढि जोखिममा रहेको छ । गत आर्थिक वर्षमा डेंगु संक्रमित भएका मध्ये ९२ प्रतिसत भन्दा धेरै प्रदेश १ का रहेका छन् । तथ्यांक अनुसार प्रदेश १ मा ३ हजार १ सय ५२ जनामा संक्रमण देखिएको छ, जसमध्ये सुनसरीमा मात्र ३ हजार २५ जना संक्रमित भेटिएका छन् ।

प्रदेश १ मा ३ हजार १ सय ५२ जनामा संक्रमण देखिएको छ, जसमध्ये सुनसरीमा मात्र ३ हजार २५ जना संक्रमित

सुनसरीपछि मोरङ्गमा ८१ र झापामा २९ जना संक्रमित भएको विभागको तथ्यांकमा उल्लेख छ ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. सुशिल प्याकुरेलले संघ, प्रदेश र स्थानिय तहबीच तालमेल हुन नसक्दा डेंगु नियन्त्रण अभियान प्रभावकारी नभएको बताए ।

सडक मर्मत मात्र गर्ने हो भने पनि डेंगु नियन्त्रण गर्न सकिने उनको दाबी छ । “सडकमा जम्ने पानीमा लामखुट्टेले फुल पार्ने हुँदा पनि जोखिम बढ्छ” उनले भने, “सडक पिच गर्न मात्र सक्ने हो भने पनि डेंगु संक्रमणको सम्भावनालाई न्यून गर्न सकिन्छ ।”
नेपालमा सुचना प्रणाली, बजेट तथा जनशक्ति व्यवस्थापन जस्ता विषयको अभावका कारण पनि डेंगु नियन्त्रण अभियान प्रभावकारी हुन नसकेको उनको भनाई छ ।

नेपालमा पहिलो पटक सन् २००४ मा नेपाल आएका एक विदेशी नागरिकमा डेंगु संक्रमण भएको पाइएको थियो । नेपाल भ्रमण वर्ष २०२० सुरु हुनै लागेको समयमा नेपाल आउने पर्यटकमार्फत पनि डेंगु भित्रिन सक्ने भन्दै सहभागीले यस विषयमा गम्भीर हुनुपर्ने सुझाब दिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ