२०८१ असार ५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदेशभरका १६ उपकेन्द्रबाट चिकित्सक लाइसेन्स परीक्षा हुँदैं

देशभरका १६ उपकेन्द्रबाट चिकित्सक लाइसेन्स परीक्षा हुँदैं


काठमाडौं—नेपाल मेडिकल काउन्सिलले चैतदेखि हुन नसकेको चिकित्सक लाइसेन्स (दर्ता) परीक्षा १६ वटा उपकेन्द्रबाट लिने तयारी गरेको छ । काउन्सिलले राजधानीमा ७ वटा र राजधानीबाहिर ९ वटा उपकेन्द्रमार्फत परीक्षा लिने तयारी गरेको हो ।

आउँदो शनिबार दर्ता परीक्षा गर्ने तयारी अन्तिम चरणमा पु¥याएको काउन्सिलले सरकारलाई यातायातको सहजीकरण गरिदिनका लागि प्रस्ताव पठाएको छ । ‘आउँदो शनिबार परीक्षा गर्ने सबै तयारी अगाडि बढेको छ,’ काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाले भने, ‘हामीले यातायातमा सहजीकरणका लागि सरकारलाई प्रस्ताव गरेका छौं ।’ उनले सरकारबाट प्रस्ताव स्वीकृत आएपछि सबै कुरा डिसिजन गरेर दर्ता परीक्षा लिने बताए ।

काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीका अनुसार राजधानीबाहिर विराटनगरस्थित विराट मेडिकल कलेज, धरानस्थित विपी कोइराला स्वास्थ्य प्रतिष्ठान, लहान, जनकपुरस्थित जानकी मेडिकल कलेज, वीरगन्जस्थित नेशनल मेडिकल कलेज, चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज, बुटवलस्थित देवदह मेडिकल कलेज, कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज, पोखरास्थित मणिपाल मेडिकल कलेज गरी ९ वटा परीक्षा उपकेन्द्रहरु तोकिएका छन् ।

यस्तै, काठमाडौंका ७ वटा उपकेन्द्रमा दर्ता परीक्षा हुनेछ । जसमा आर्मी मेडिकल कलेज, कान्तिपुर डेन्टल कलेज, पिपुल्स डेन्टल कलेज, किष्ट मेडिकल कलेज, त्रिवि चिकित्सा अध्ययन संस्थान, नेपाल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेजमा परीक्षा सञ्चालन हुनेछ ।

यसअघि काउन्सिलले इन्जिनियरिङ कलेजसँग सम्झौता गरी कम्प्युटरबाट परीक्षा लिने तयारी गरेको थियो । तर, कोभिड—१९ का कारण धेरै विद्यार्थीलाई एकै ठाउँमा राख्न नसकिने भएपछि काउन्सिलले कागजबेस परीक्षा लिने तयारी गरेको डा. अधिकारीले बताए । ‘कम्प्युटरबाट परीक्षा लिने सबै तयारी भैसकेको थियो,’ उनले भने, ‘कोभिडका कारण काठमाडौंमा धेरै आउन नसक्ने र एकै ठाउँमा धेरै विद्यार्थी राख्न नसक्ने भएकाले यस पटक पहिलेजस्तै कागजबेस परीक्षा लिनुपर्ने भयो ।’

कोभिड—१९ का कारण गत चैत ८ गते तोकिएको काउन्सिलको दर्ता परीक्षा स्थगित भएको थियो । ४/४ महिना हुने परीक्षा कोभिड—१९ कै कारण काउन्सिलले अहिलेसम्म गर्न सकेको छैन । यसअघि भदौं ७ मा परीक्षा हुने तय भएको थियो तर काठमाडौंलगायतका स्थानमा निषेधाज्ञा भएपछि उक्त परीक्षण अन्तिम समयमा आएर स्थगित भएको थियो ।

आउँदो शनिबार हुने तयारी भएको परीक्षामा राष्ट्रिय चिकित्सा शिक्षा आयोगका प्रतिनिधीहरु पनि सहभागी हुनेछन् । डा. अधिकारीले परीक्षालाई प्रतिनिधिमूलक बनाउन आयोगका प्रतिनिधीलाई सहभागी गराउन लागेको बताए ।

अहिले एमबीबीएस र बिडिएस सकेका झण्डै १ हजार विद्यार्थी दर्ता परीक्षाको तयारीमा छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ