२०८२ असार २०, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारजुम्लामा दुई दर्जन बिरामीको शल्यक्रिया गरेर फर्किए न्यूरो सर्जन डा. खड्का

जुम्लामा दुई दर्जन बिरामीको शल्यक्रिया गरेर फर्किए न्यूरो सर्जन डा. खड्का


जुम्ला– वरिष्ठ न्यूरो सर्जन डा. निलम खड्का (मानव) जुम्लाका दुई दर्जन बिरामीको शल्यक्रिया गरेर काठमाडौं फर्किएका छन् । काठमाडौंस्थित ट्रमा सेन्टरमा कार्यरत वरिष्ठ न्युरो सर्जन खड्काले ६ महिना बिदा लिएर कर्णाली स्वास्थ्य विज्ञान प्रतिगष्ठान शिक्षण अस्पताल जुम्लामा पुगेर सेवा गरेका हुन् ।

उनले जटिल ब्रेन हेमरेजसहित टाउकोको शल्यक्रिया र ढाडको शल्यक्रिया गर्नुका साथै प्रतिष्ठानको विशेषज्ञ टोलीलाई सीप हस्तान्तरण गरेका छन् ।

प्रतिष्ठानको टीमको सहयोगमा एक दर्जन बिरामीको टाउकाको नसाको शल्यक्रिया, आधा दर्जन बिरामीको ढाडको नसाको समस्याको शल्यक्रिया, २ जनाको घाँटीको शल्यक्रियासहित विभिन्न जटिल शल्यक्रिया गर्न सफल भएको डा. खड्काले बताए ।

‘कर्णाली आएर बिरामीको उपचार गर्न पाउदा निकै खुशी छु,‘ डा. खड्काले भने, ‘अझै बिरामीको सेवा गर्न मन थियो तर अब बिदा सकिएकाले फिर्ता हुनुप¥यो तर, मैले सिकेको सीप प्रतिष्ठानका चिकित्सकहरुलाई हस्तान्तरण गरेको छु त्यसैले यो सेवा निरन्तरता हुनेमा आशावादी छु ।’

प्रतिष्ठानका अस्पताल निर्देशक डा. मंगल रावलले डा. निलमले छोटो समयमा धेरै विरामीको ज्यान बचाउनुका साथै सीप हस्तान्तरण गरेर जानुभएकोमा धन्यवाद दिदै प्रतिष्ठानले सधै सम्झिरहने बताए । प्रतिष्ठानले डा. निलमलाई गरेको बिदाईमा प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापाले डा. निलमबाट प्रतिष्ठानका जनशक्तिले धेरै सिक्न पाएकोमा खुशी व्यक्त गरे ।

‘कर्णालीमा सेवा गर्न आउने व्यक्ति असाधारण ठान्छन् । थोरै व्यक्तिहरु आएर सेवा गर्ने मध्येका डा. निलम खड््का पनि पर्नुहुन्छ,’ उनले भने, ‘भिजिटरको रुपमा जुम्ला आउँदा छोटो समयमा बिरामीप्रतिको मृदुभाषीको गुण र उहाँको सीप हाम्रा जनशक्तिले सिक्न पाएकोमा निकै खुशी छु ।’

डा. निलमले कर्णाली प्रतिष्ठानको काठमाडाैंमा दुतको रुपमा काम गर्ने प्रतिवद्धता जनाए । नेपालमा हेड ईन्जुरी र स्पाइनल ईन्जुरीको निःशुल्क उपचार र सातै प्रदेशमा टाउको र ढाडको उपचार केन्द्र भएमा नेपालीले सहजै सेवा लिएर ज्यान जोगाउन सक्ने भएकाले यसमा सरकारले चासो दिनुपर्ने उनले बताए ।

जुम्लामा उनले पहिलोपटक मष्तिस्क र ढाडसँग सम्बन्धित न्यूरो शल्यक्रिया सुरु गरेका थिए । दुईवटा शल्यक्रिया गर्न १२ देखि १४ घण्टा लामो समय लागेको उनी स्मरण गर्छन् । हिमा गाउँपालिका १ का ६५ वर्षीय धनबहादुर रावतको रक्तनली जम्मा भएर हेमरेज सहित धेरैको ज्यान जोगाउन प्रतिष्ठानको टीमको सहयोगमा सफल भएको उनले बताए ।

पछिल्लो समय कर्णाली प्रतिष्ठानमा भिजिटर विशेषज्ञहरु आउने गरेका छन् । यस अघि अमेरिकाको अरिगन स्टेटको राजवाक अस्पतालका हाडजोर्नी विशेषज्ञ चिकित्सक डा. माइकल डेभिड भ्यान एन्ड्रोयड पनि जुम्लामा सेवा गरेर फर्किएका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ