२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १मापदण्ड विपरितका स्यानिटाइजर कारवाहीमा

मापदण्ड विपरितका स्यानिटाइजर कारवाहीमा


विराटनगर—स्वास्थ्यलाई असर गर्ने गुणस्तरहीन स्यानिटाइजर बजारमा छ्यापछ्याप्ती विक्री वितरण हुने गरेको पाइएको छ । औषधि व्यवस्था विभाग विराटनगरले गरेको अनुगमनको क्रममा बजारमा बिक्री वितरणमा राखिएका स्यानिटाइजर मापदण्ड विपरित स्वास्थ्यलाई असर गर्ने गुणस्तरहीन भेटिएको हो ।

अनुगमनको क्रममा सुनसरीको नरसिङ गाउँपालिका—४ स्थित ‘सीता हर्बल क्यामिकल उद्योग’ ले उत्पादन गर्ने स्यानिटाइजर मापदण्ड विपरितको रहेको पाइएपछि विभागले कारवाहीको दायरमा ल्याएको छ । सो उद्योगले मापदण्ड विपरितको ‘मेथानल स्पीट’ हालेर स्यानिटाइजर उत्पादन गरेर बिक्री गरेको पाइएपछि कारवाही गरेको नेपाल औषधि व्यवस्था विभाग विराटनगर शाखाका प्रमुख संजीव शर्मा कट्टेलले जानकारी दिए । हानिकारक वस्तु हालेर स्यानिटाइजर उपत्पादन गरेको पाइएपछि उद्योग बन्द गर्न निर्देशन दिएको उनले बताए । सिता हर्बलका संचालक उमानन्द यादव हुन् । यादवको उद्योगले उत्पादन गरेको सेनिटाइजर मोरङ र सनुसरी पठाउने गरेको बताएका छन् ।

यादवको धरानमा ‘महाभगवती फार्मेसी’ पनि संचालन गर्दै आएका थिए । गुणस्तरहीन स्यानिटाइजर उत्पादन गरेर आफ्नै फार्मेसी र अन्य विभिन्न ठाउँमा बिक्री वितरण गर्दै आएको विभागले जनाएको छ । ‘मापदण्ड विपरितको स्यानिटाइजर उत्पादन गरेको पाइएपछि महा भगवती फार्मेसी बन्द गरेर बिक्री वितरणमा राखिएको स्यानिटाइजर बरामद गरी ल्याएका छौं,’ औषधि व्यवस्था विभाग विराटनगरका प्रमुख शर्माले भने, ‘उत्पादन गरेर बजारमा पठाइएको अन्य स्यानिटाइजर पनि बरामद गरी नष्ट गर्छौं ।’

मिथानोल प्रयोग गरेको स्यानिटाइजरले स्वास्थ्यमा असर पर्ने विभागले जनाएको छ । विषाक्त पदार्थ मिसाउने उद्योगलाई औषधि ऐन, उपभोक्ता हित संरक्षण ऐन र जनस्वास्थ्य ऐनअन्तर्गत क्षतिपूर्ति सहितको जरिवाना गर्नुका साथै उद्योग बन्द गर्ने तयारी गरेको विभागले गरेको छ ।

सो उद्योगले १ सय एमएल र एक मिलटरसम्मको स्यानिटाइजर बनाएर बजारमा पठाउने गरेको थियो । बजारमा पठाएको मापदण्ड विपरितका स्यानिटाइजर जफत गरेर नष्ट गर्ने तयारी भएको गरेको औषधि व्यवस्था विभाग विराटनगरका फार्मेसी निरीक्षक दिपेन्द्र खड्काले बताए । विभागले तोकेको मापदण्डमा स्यानिटाइजरमा इथानोलबाहेकका अन्य रसायन प्रयोग गर्न पाइदैंन् ।

‘७० देखि ८० प्रतिशत इथानोल हालेर स्यानिटाइजर बनाउनुपर्ने हो,’ निरीक्षक खड्काले भने, ‘सीता हर्बल क्यामिकल उद्योगले ‘मिथानोल स्पीट’ मात्र बढी देखिएको छ । जुन छालामा असर गर्दछ ।’ बरामद गरेको स्यानिटाइजर परीक्षणको लागि राष्ट्रिय औषधि प्रयोगशालामा पठाइएको उनले जानकारी दिए ।

के छ मापदण्ड ?

प्रायः एक सय एमएलको स्यानिटाइजरमा ८० एमएल इथानोल र बाँकी २० एमएलमा पानी, हाइड्रोजन पेरोक्साइड र ग्लिसिरोल हुन्छ । हाड्रोजन पेरोक्साइड स्यानिटाइजरमा ब्याक्टेरियाको कन्टामिनेसन नहोस् भनेर प्रयोग गरिन्छ भने ग्लिसिरोलले मोस्चराइजरका रूपमा काम गर्छ । यी कम्पाउन्डको प्रयोगलाई अनिवार्य गरिएको छ ।

स्यानिटाइजर तयार गरेपछि उद्योगले पुनः यसको गुणस्तर परीक्षण गरेर मात्रै बजारमा लैजान पाइने मापदण्डमा छ । यसमा उपयुक्त लेबल र ढुवानी गर्दा मापदण्डलाई पनि अनिवार्य गरिएको छ ।

स्यानिटाइजरमा कुनै पनि किसिमका हानिकारक तथा सुक्ष्म जीवको गतिविधि नदेखिने किसिमको हुनुपर्ने, गन्धमा ख्याल गर्नुपर्ने र यो तरल वा जेल अवस्थामा मात्रै उत्पादन गर्न पाइने नियम रहेको औषधि व्यवस्था विभागले जनाएको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ