२०८२ असार २२, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचिकित्सा शिक्षा नियमावली संशोधनको माग राख्ने चिकित्सकमाथि प्रहरीको दमन,दर्जनौं चिकित्सक घाइते

चिकित्सा शिक्षा नियमावली संशोधनको माग राख्ने चिकित्सकमाथि प्रहरीको दमन,दर्जनौं चिकित्सक घाइते


काठमाडौं–चिकित्सा शिक्षा नियमावली संशोधनको माग राख्दै आन्दोलनरत चिकित्सकहरुमाथि प्रहरीले कुटपिट गरेको छ । चिकित्सा शिक्षा नियमावली र एकिकृत परीक्षाको सूचनाका केही बुँदाले खुला प्रतिस्पर्धामा जान चाहेका चिकित्सकहरुको हकमा न्यायपूर्ण व्याख्या नगरेको भन्दै नियमावली संशोधन गर्न चिकित्सकहरुले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीसमक्ष ज्ञापन पत्र बुझाएका थिए ।

ज्ञापनपत्र बुझ्दै डा. गिरीले अहिले तत्काल नियमावली संशोधन गर्न नसकिने भन्दै गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएपछि चिकित्सकहरु आन्दोलित भएका थिए । सोही क्रममा प्रहरीले कुटपिट गरेको आन्दोलनरत चिकित्सक डा. छबीलाल पन्थीले बताए । ‘हामीले शान्तीपूर्ण विरोध प्रदर्शन गरिरहेका थियौं,’ उनले भने, ‘आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले आफू भित्र बसेर बाहिर विरोध प्रदर्शन गरिरहेका चिकित्सकमाथि प्रहरी बोलाएर पिटाउनुभयो ।’ प्रहरीको कुटाईबाट दर्जनौं चिकित्सक घाइते भएका छन् ।

सरकारले केहीदिन अघिमात्र चिकित्सा शिक्षा नियमावली र एकिकृत परीक्षाको सूचना सार्वजनिक गरेको थियो । आयोगको मर्ममाथि प्रहार हुने गरी केही व्यक्तिहरुलाई फाइदा पुराउने उद्धेश्यले नियमावलीमा भाषागत जालझेल गरी खुला प्रतिस्पर्धालाई पूर्णतया निषेध गर्न खोजेको आन्दोलनरत चिकित्सकहरुको आरोप छ ।

देशको कुल चिकित्सकहरु मध्ये ९० प्रतिशतभन्दा बढी हिस्सा ओगट्ने गैर–सरकारी र करार चिकित्सकहरुको वृद्धि विकासमा आँच आउने, योगदानको कदर नहुने गरी उल्लेख गरिएका बुँदाहरुको संशोधन गर्नुपर्ने, अस्पष्ट बुँदाहरुलाई स्पष्ट पार्नुपर्ने र आयोगका उपाध्यक्षले तत्काल राजीनामा दिनुपर्ने आफूहरुको माग रहेको डा. पन्थी बताउँछन् ।

यस्तै, हाल कायम गरिएको प्रतिशतलाई संशोधन गरी खुला प्रतिस्पर्धाबाट ७० प्रतिशत, सरकारी सेवामा कार्यरत व्यक्तिबाट २० प्रतिशत र विदेशी विद्यार्थीबाट १० प्रतिशत कायम गर्नुपर्ने, परिच्छेद ४ को दफा (१७) को उपदफा (१) खण्ड (ख) बमोजिम परिभाषित सरकारी चिकित्सकहरुको परिभाषा परिमार्जन गरी नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहद्धारा अस्थायी वा करारमा नियुक्ति पाउने व्यक्ति हटाइ अन्य कायम हुनुपर्ने आन्दोलनरत चिकित्सकहरुले माग राखेका छन् ।

यसैगरी, दुर्गम क्षेत्रमा काम गरेबापत कायम गरिएको अंकभार व्यवस्थालाई खुला प्रतिस्पर्धामा समावेश नगरी खुला प्रतियोगितालाई खुला नै कायम गरिनुपर्ने, कुल सिटको स्पष्ट परिभाषा हुनुपर्ने र म्याचिङ्ग सिस्टमको स्पष्ट वैज्ञानिक व्याख्या हुनुपर्ने लगायतका माग चिकित्सकहरुको छ ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ