२०८१ असार ११, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबजारमा ज्यानै लिन सक्ने सेनिटाइजरको बिगबिगी

बजारमा ज्यानै लिन सक्ने सेनिटाइजरको बिगबिगी

औषधि व्यवस्था विभाग भन्छ— सचेत भएर प्रयोग गर्नुहोस्


काठमाडौं–बजारमा विषाक्त रसायन (मिथानोल) मिश्रित ह्यान्ड सेनिटाइटरको बिगबिगी रहेको पाइएको छ । औषधि व्यवस्था विभागले गरेको अनुसन्धानमा विभिन्न कम्पनीले उत्पादन गरेका सेनिटाइजरमा मिथानोल र कम अल्कोहल प्रयोग भएको पाइएको हो । जसले मानव शरीरलाई गम्भीर असर पु¥याउँछ ।

हालसम्म विभागले १५ वटा कम्पनीले उत्पादन गरेका ह्यान्ड सेनिटाइजर प्रयोग नगर्न सार्वजनिक सूचना जारी गरिसकेको छ । ती कम्पनीले उत्पादन गरेका सेनिटाइजरमा विषाक्त रसायन प्रयोग गरिएको र मापदण्डभन्दा कम अल्कोहल राखिएकाले रोक लगाइएको औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसी बताउँछन् ।

विषाक्त रसायन (मिथानोल) मिश्रित ह्यान्ड सेनिटाइजरको प्रयोगले हात सुनिने, फुस्रो हुने, फुट्ने, मानिस कोमामा जाने र मान्छेको मृत्यु समेत हुन सक्छ । त्यसैले बजारमा मिथानोल प्रयोग भएका ह्यान्ड सेनिटाइजरलाई रोक लगाइएको विभागले जनाएको छ । विभागले रोक लगाएका १८ प्रकारका सेनिटाइजरमध्ये १४ वटामा मिथानोल प्रयोग भएको पाइएको थियो ।

विभागले ह्यान्ड सेनिटाइजरमा ७० देखि ८० प्रतिशतसम्म अल्कोहलको मात्रा हुनुपर्ने मापदण्ड तोकेको छ । तर, ४ प्रकारका सेनिटाइजरमा अल्कोहलको मात्रामा मापदण्डभन्दा कम प्रयोग गरेको हुनाले त्यस्ता स्यानिटाइजरलाई रोक लगाइएको केसीले बताए । ‘अहिले हामीले बजारमा बिक्री भैरहेको सेनिटाइजरको नमूना संकलन गरेर अनुसन्धान गरिरहेका छौं,’ उनले भने, ‘यसमा थप अनुसन्धान गरेर यी कम्पनीहरुलाई कारवाही प्रक्रिया अघि बढाएका छौं ।’

मानिसको जीवनमाथि नै खतरा हुनेगरी बिक्री भैरहेका सेनिटाइजर कम्पनी र यसका सञ्चालक भने पत्ता लाग्न सकेका छैनन् । यी कम्पनीहरुले लुकीछिपी ठाउँको नाम एकातिर राखेर अन्यत्रै सेनिटाइजर बनाइरहेको हुनाले पत्ता लगाउन गाह्रो परेको औषधि व्यवस्था विभागका महानिर्देशक डा. नारायणप्रसाद ढकाल बताउँछन् । ‘हामी कहाँ एक दुई वटा कम्पनीका सञ्चालक सम्पर्कमा आएका छन्, अरुलाई पनि खोजिरहेका छौं,’ उनले भने, ‘यसरी विषाक्त रसायन प्रयोग गर्ने र मापदण्ड विपरित सेनिटाइजर उत्पादन गर्नेलाई अनुसन्धान गरी औषधि ऐनअनुसार कारवाही गर्छौं ।’

यी कम्पनीका सेनिटाइजर प्रयोग नगर्न विभागको अनुरोध

विभागले २७ भदौमा जारी गरेको सूचनामा भक्तपुरको नेपाल कायाकल्प उद्योगको इन्स्टान्ट ह्यान्ड सेनिटाइजर, काठमाडौंको हाइजिन सोप एन्ड केमिकल प्रा.लि.को इन्स्टान्ट ह्यान्ड सेनिटाइजर ओरजिनल, आधार केमिकल एन्ड फुड इन्डष्ट्री प्रा.लि.को एडभान्स ह्यान्ड सेनिटाजर, सर्च केम कम हर्बल प्रोडक्टको ह्यान्ड सेनिटाइजर रिफ्रेसिङ जेल, सुर्यमुखी हर्बल प्रोडक्टको सुर्यमुखी ह्यान्ड सेनिटाइजरमा विषाक्त रसायन प्रयोग भएको पाइएकाले प्रयोग नगर्न विभागले अनुरोध गरेको छ ।

यस्तै, विभागले ३१ भदौमा जारी गरेको सूचनामा गोन्जाउ ओबोपिकल फाइन केमिकल कोअपरेटिभ चीनले उत्पादन गरेको ओपेकल नन–वासिङ एन्टिब्याक्टेरियल सोलुसन १२० एमएल, सम्पदा हेल्थ केयर प्रा.लि. ललितपुरको सासा इन्स्टान्ट ह्यान्ड सेनिटाइजर ५० एमएल, आर एल कर्प इन्डिया भलसादको पामाकेयर इन्स्टान्ट ह्यान्ड सेनिटाइजर ६० एमएल, श्रीनाथ हर्बल एन्ड कस्मेटिक इन्डष्ट्रि काठमाडौंले उत्पादन गरेको युनिकेयर इन्स्टान्ट ह्यान्ड सेनिटाइजर ६५ एमएल प्रयोग नगर्न भनिएको छ ।

कम्पनीले बजार अनुगमन पश्चात थप ९ वटा कम्पनीका सेनिटाइजर प्रयोग नगर्न आम नागरिकलाई अनुरोध गरेको छ । १२ असोजमा विभागले जारी गरेको सूचनामा शिविका कस्मेक्युटिकल इन्डिया प्रा.लि.ले उत्पादन गरेको हर्बलट्री ह्यान्ड रब ५०० एमएल, आर. केमिकल एन्ड प्याकिङ इन्डष्ट्रिज पर्साको कुम ह्यान्ड सेनिटाइजर र क्लीन ह्यान्ड सेनिटाइजर, कुमकुम हर्बल इन्डष्ट्रिज प्रालिको कुमकुम इन्स्टान्ट ह्यान्ड सेनिटाइजर जेल र इन्स्टान्ट ह्यान्ड सेनिटाइजर जेल, ओम आरोग्य हेल्थकेयर प्रा.लि. ललितपुरको इन्स्टान्ट ह्यान्ड सेनिटाइजर ओरजिनल, कालिका सोप एन्ड क्लिनिकल प्रा.लि.को ड्रोन ह्यान्ड सेनिटाइजर र ड्रोन ह्यान्ड सेनिटाइजरमा विषाक्त रसायन प्रयोग भएको पाइएको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ