२०८१ साउन ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १पिसिआर परीक्षणमा नोबेलको झुटो प्रचार, १५ सयमा परीक्षण भन्दै २ हजार असुली

पिसिआर परीक्षणमा नोबेलको झुटो प्रचार, १५ सयमा परीक्षण भन्दै २ हजार असुली


विराटनगर—देशभरकै सबैभन्दा सस्तो शुल्क १ हजार ५ सय ५० रुपैयाँमा कोभिड—१९ को पिसिआर परीक्षण गर्ने भनेर डम्फू पिटेको विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालले २ हजार असुल्ने गरेको खुलासा भएको छ । यससँगै अस्पतालले सरकारले तोकेकोभन्दा सस्तोमा पिसिआर प्रविधीबाट कोरोना जाँच गरिने भनेर गरेको प्रचार झुटो हल्ला सावित भएको छ ।

सरकारले २ हजार रुपैयाँ पिसिआर परीक्षण शुल्क तोकेको छ । तर, नोबेलले १ हजार ५ सय ५० रुपैयाँमा देशभरकै सस्तोमा पिसिआर परीक्षण सुरू गरेको भन्दै प्रचार गरेको थियो । तर, नोबेलले प्रचार गरेजस्तो गरी भनेको मूल्यमा पिसिआर प्रविधीबाट परीक्षण नहुने गरेको पाइएको हो । १५ सय ५० रुपैयाँ पिसिआर परीक्षण शुल्क र स्वाब संकलन गरेको ४ सय ५० रुपैयाँ जोडेर बिरामीसँग उसले २ हजार रुपैयाँ रकम असुली गर्दै आएको प्रमाण हेल्थ आवाजले फेला पारेको छ ।

एक पुरूषलाई पेटमा समस्या भएपछि नोबेल अस्पताल आएका थिए । आकस्मिक कक्षमा भर्ना भएका उनलाई अस्पतालले पिसिआर परीक्षण गर्न लगायो । मंगलबार आकस्मिक कक्ष छेउमा रहेको काउन्टरमा गएर १५ सय ५० रुपैयाँ पिसिआर र ४ सय ५० रुपैयाँ स्वाब संकलन गरी २ हजार रुपैयाँ बुझाएपछि मात्रै स्वाब संकलन भएको उनले बताए ।

‘देशभरिमै सस्तोमा पिसिआर परीक्षण हुन्छ भनेको सुनेर नोबेल अस्पताल आएको थिए,’ आकस्मिक कक्ष बाहिर काउन्टरमा भेटिएका ती बिरामीले भने, ‘यहाँ पनि स्वाब परीक्षणकोे रिपोर्ट लिन २ हजार रुपैयाँ नै तिर्नुपर्दो रहेछ । देशभरिमा सस्तोमा पिसिआर परीक्षण हुँदैछ भनेर गरेको प्रचार त हल्ला मात्र रहेछ ।’ ती बिरामीको रिपोर्ट रातिसम्ममा आउने अस्पतालले जनाएको छ ।

नोबेलले सस्तोमा परीक्षण गरिरहेको गलत प्रचार गरेर कोरोनाको महामारीको बेला पनि शंकास्पद बिरामीलाई आफ्नो अस्पतालसम्म ल्याएर व्यापार बढाउने नियत राखेको पाइएको छ । सरकारले देशभरिका प्रयोगशालाहरूले अधिकतम २ हजार रुपैयाँ पिसिआर परीक्षणको शुल्क लिन निर्णय गरेको छ । तर, नोबेलले मुलुककै सस्तोमा पिसिआर परीक्षण गरिने भन्दै कोरोना परीक्षणका लागि दुई वटा अत्याधुनिक पिसिआर मेसिन ल्याएको जनाएको छ । दुई वटा पिसिआर मेसिन भएकाले एक दिनमा दुई हजार स्वाब परीक्षण गर्न सकिने नोबेलका वरिष्ठ ल्याब अधिकृत गणेशकुमार सिंहले बताए । ४ देखि ६ घण्टा भित्रै रिपोर्ट दिइने अस्पतालले भनाइ छ ।

नोबेलका प्रबन्धक नारायण दाहालले दशेभरिमै हामीले पिसिआर परीक्षण सस्तोमा गरेको दाबी गरे । ‘हामीले सस्तोमा पिसिआर परीक्षण गराउने दाबी पहिले नै गरेका थियौं । यो शुल्क अरूको भन्दा सहुलियतपूर्ण छ,’ अस्पतालका प्रबन्धक दाहालले भने ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ