२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्व-इच्छाले आत्महत्या गर्नेको संख्या बढ्दो क्रममा

स्व-इच्छाले आत्महत्या गर्नेको संख्या बढ्दो क्रममा

४ प्रतिशत किशोर किशोरीमा आत्महत्याको सोच


काठमाडौं—नेपालमा विभिन्न कारणले किशोर–किशोरीले आत्महत्या बढ्दै गएको विभिन्न तथ्यांकले देखाएको छ । हालै सरकारी अनुसन्धान संस्था नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षणले पनि ठूलो संख्यामा किशोर–किशोरीले आत्महत्याको सोच बनाएको पाइएको छ ।

पछिल्लो दुई वर्षको सरकारी तथ्यांक हेर्दा पनि आत्महत्या गर्नेको संख्या बढ्दै गएको देखिएको छ । एक वर्षमा झण्डै ५ सय जनाको अन्तरले आत्महत्या भएको छ । ०७५-०७६ मा ५ हजार ७ सय ८७ जनाले आत्महत्या गरेका थिए भने, ०७६-०७७ मा ६ हजार २ सय ७९ जनाले आत्महत्या गरेको सरकारी तथ्यांकले देखाएको छ । अझ यो कोरोना भाइरसको कारण देशभरमा बढ्दो बेरोजगारीले गर्दा ठूलो संख्यामा मानिसहरुले आत्महत्या गरेको अनुमान सरकारी अधिकारीहरुले गरेका छन् ।

०७६-७७ को तथ्यांकअनुसार विष खाएर आत्महत्या गर्ने १ हजार १ सय ४६ जना रहेका छन् । आगो लगाएर आत्महत्या गर्ने १० जना छन् । त्यस्तै, झुण्डिएर आत्महत्या गर्नेको संख्या सबैभन्दा बढी छ । यसरी मर्ने एक वर्षमा ५ हजार ३९ जना रहेका छन् । जुन अघिल्लो वर्ष ४ हजार ३ सय २७ थियो । यसरी मर्नेहरु महिलाभन्दा पुरुष बढी छन् ।

यस्तै, सरकारको एक अनुसन्धान संस्थाले पनि मानसिक स्वासथ्यका बारेमा सर्वेक्षण गरेको छ । सन् २०१९ को पुसदेखि २०२० को पुससम्म गरिएको राष्ट्रिय मानसिक स्वास्थ्य सर्र्वेक्षणले कुल किशोर—किशोरीको संख्यामध्ये ३.९ प्रतिशतले हालको अवस्थामा आत्महत्याको सोच बनाएको पाइएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नेपालका सातै प्रदेशका जनता केन्द्रित सर्वेक्षण गरेको थियो । परिषद्का मुख्य अनुसन्धानकर्ता डा.मेघनाथ धिमालका अनुसार १८ वर्ष माथिका वयस्क र १३–१७ वर्ष उमेर समूहका किशोर–किशोरीमा लक्षित रहेर सर्वेक्षण गरिएको थियो ।

मानसिक स्वास्थ्य सर्वेक्षणमा सात प्रदेशका १५ हजार ८८ जनाले सहभागिता जनाएका थिए । जसमध्ये ९ हजार २ सय जना १८ वर्ष माथिका वयस्क थिए भने ५ हजार ८ सय ८८ जना १३–१७ वर्ष उमेर समूहका किशोर–किशोरी थिए । यो सर्वेक्षणले कुल जनसंख्याको प्रतिनिधित्व गरेको डा. धिमालले बताए ।

नेपाल सरकारको तथ्यांकअनुसार पनि विभिन्न प्रकारले आत्महत्या गर्नेहरुको संख्या बढ्दो क्रममा रहेको देखाएको छ । विगत २ वर्षमा मात्रै १२ हजार ६६ जनाले आत्महत्या गरेका छन् । यो सर्वेक्षण हुँदै गर्दा पनि ६ हजार २ सय ७० जनाले आत्महत्या गरेका छन् ।

सर्वेक्षणले के करणले आत्महत्या ‘गरौं—गरौं’ लाग्यो भन्ने बारेमा खुलाएको छैन । तर, नेपालको राजनीतिले निम्त्याएको अस्थिरता, बेरोजगारी, घरायसी झगडाजस्ता विषय मुख्य रहेको बुझिएको छ ।

उक्त सर्वेक्षणबाट ०.७ प्रतिशत किशोर—किशोरीले आफ्नो जीवनकालमा आत्महत्याको प्रयास गरेको पाइएको छ । ५.२ प्रतिशत किशोर—किशोरीमा मानसिक समस्या भएको देखिएको छ भने ०.६ प्रतिशत किशोर—किशोरीमा उदासिनताको समस्या देखिएको छ । ०.६ प्रतिशत किशोर—किशोरीमा मादक पदार्थलगायत अन्य कुनै प्रकारको नशालु पदार्थ सेवन गरेका कारण मानसिक समस्या भएको सर्वेक्षणले देखाएको छ ।

प्रदेशहरुको सन्र्दभमा सबैभन्दा बढी प्रदेश नं १ का किशोर—किशोरीमा मानसिक समस्या ११.४ प्रतिशत रहेको पाइएको छ । त्यसैगरी, उमेर समूहको सन्दर्भमा १६ वर्ष (७.७ प्रतिशत) उमेरका किशोर—किशोरीमा बढी मानसिक समस्या रहेको देखिएको डा. धिमालले बताए ।

त्यसैगरी, ४०–४९ बर्ष उमेर समूहका ६.५ प्रतिशत वयस्कमा हालको अवस्थामा आत्महत्याको सोच रहेको पाइएको छ । १.१ प्रतिशत वयस्कले आफ्नो जीवनकालमा आत्महत्याको प्रयास गरेका थिए । सर्वेक्षणमा आएको परिणामअनुसार कुल संख्याको १० प्रतिशत वयस्कमा आफ्नो जीवनकालको कुनै न कुनै समयमा र ४.३ प्रतिशत वयस्कमा हालको अवस्थामा पनि मानसिक समस्या रहेको पाइएको छ ।

प्रदेशगत रुपमा हेर्दा बाग्मती प्रदेशका वयस्कहरुमा सबैभन्दा धेरै अर्थात ५.९ प्रतिशत मानिसमा मानसिक समस्या रहेको छ । सर्वेक्षणअनुसार २३ प्रतिशत वयस्कले आफूमा लक्षण देखिए पश्चात चिकित्सक वा अन्य व्यक्तिसँग सहयोग मागेको देखिएको छ । डा. धिमालले कोभिड—१९ को अवधिमा आत्महत्या गरेका र गर्ने सोच बनाएकाहरुको तथ्यांक झन भयानक हुने अनुमान लगाएका छन् ।

 

हेर्नुहोस् नेपालमा आत्महत्याको अवस्था

स्रोतः नेपाल प्रहरी


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ