२०८१ असार ११, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचार१२ महिनामा २३.९ प्रतिशत नेपालीले मदिरा पिउन थाले, ४ प्रतिशतले छाडे

१२ महिनामा २३.९ प्रतिशत नेपालीले मदिरा पिउन थाले, ४ प्रतिशतले छाडे


काठमाडौं– पछिल्लो १२ महिनामा २३.९ प्रतिशत नेपाली मदिरा पिउन सुरु गरेको देखिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको नेपाल स्टेप्स सर्वेक्षण २०१९ ले विगत १२ महिनायता नेपालमा मदिरा सेवन गर्ने नेपाली २३.९ प्रतिशतले मदिरा सेवन गर्न सुरु गरेको देखिएको छ ।

१५ देखि ६९ वर्ष उमेर समुहका ५ हजार ५ सय ९३ जनामा गरिएको उक्त सर्वेक्षणबाट यो तथ्य फेला परेको हो । १२ महिनामा मद्यपान सेवन गर्न छोड्नेको भन्दा मद्यपान सेवन गर्न थाल्नेको प्रतिशत बढी देखिएको छ । १२ महिनायता ४ प्रतिशतले मद्यपान सेवन गर्न छोडे भने २३.९ प्रतिशतले मद्यपान सेवन गर्न थालेको स्टेप्स सर्वेक्षणले देखाएको हो । यो अवधिमा ३८.६ प्रतिशत पुरुष र १०. ८ प्रतिशत महिलाले जाँड रक्सी सेवन गर्न थालेका हुन् । यो अवधिमा मद्यपान सेवन गर्ने सबैभन्दा बढी ४० देखि ५४ वर्ष उमेर समूहका छन् । जसमा २९.८ प्रतिशतले १२ महिनायता मद्यपान सेवन गर्न सुरु गरेका छन् ।

यस्तै, अहिले २०.८ प्रतिशत मानिसले नियमित मद्यपान सेवन गरिरहेको सर्वेक्षणले देखाएको छ । सर्वेक्षणमा सहभागी महिला पुरुषमध्ये ३४.४ प्रतिशत पुरुष र ८.८ प्रतिशत महिला रहेका छन् । यसैगरी ६.८ प्रतिशत मानिसले अत्याधिक मद्यपान सेवन गर्ने गरेको पाइएको छ । यी मानिसहरुले ६ भन्दा बढी स्ट्यान्डर्ड ड्रिंक्स गर्ने गर्ने गरेको सर्वेक्षणमा पाइएको छ । यसरी रक्सी सेवन गर्नेमा १२.४ प्रतिशत पुरुष र १.७ प्रतिशत महिला रहेका छन् ।

यसरी अत्याधिक मद्यपान सेवन गर्दा शारीरिक रुपमा कस्ता असर देखा पर्छ ? मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराई मद्यपान सेवनले शरीरका हरेक अंगमा असर पु¥याउने बताउँछन् । ‘अत्याधिक मद्यपानजन्य पदार्थ सेवनले मुटु रोग, रक्तनली सम्बन्धि रोग, हृदयघात, मस्तिष्कघातदेखि प्यारालाइसिससम्म गराउँछ,’ उनी भन्छन्, ‘यसका साथै पारिवारिक समस्या, आर्थिक हानी, बेइज्जतीजस्ता सामाजिक तत्वलाई पनि असर पु¥याएको हुन्छ ।’

अत्यधिक रक्सी सेवनले मानसिक रोग निम्त्याउन सक्ने मनोचिकित्सकहरु बताउँछन् । मद्यपान सेवन गरी यसको लतमा फस्नु नै एकखालको मानसिक रोग भएको मनोचिकित्सक डा. सगुनबल्लभ पन्त बताउँछन् । ‘मदिराको लत नै एकप्रकारको मानसिक रोग हो,’ उनी भन्छन्, ‘यसलाई अल्कोहल डिपेन्डेन्ट सिन्ड्रम भनिन्छ ।’ कतिपय मानिसहरु मिठो निन्द्रा प्राप्त गर्न र तनाव भुल्नका लागि रक्सी सेवन गर्ने गरेको पाइन्छ । तर, नियमित मदिरा सेवन गर्ने मानिसलाई सुरुमा निन्द्रा परेपनि त्यसपछि दीर्घकालीन रुपमा निन्द्रामा ठूलो असर पार्ने डा. पन्त बताउँछन् । ‘मदिराजन्य पदार्थ सेवनले निन्द्रा पर्छ भन्नु भ्रम हो,’ उनले भने, ‘मदिरा सेवनले निन्द्राको क्वालिटीलाई बिगार्छ । त्यसैले अनिन्द्राको समस्या देखिन्छ ।’

यसरी नियमित रक्सी सेवनले डिप्रेशन, एन्जाइटी र कडा खाले मानसिक रोग साइकोसिस हुन सक्ने चिकित्सकहरु बताउँछन् । रक्सीजन्य पदार्थ सेवन गरेर अचनाक छोड्नेहरु पनि उत्तिकै खतरामा हुने डा. पन्त बताउँछन् । ‘नियमित रक्सी सेवन गरिरहेका मानिसले अचानक रक्सी छोड्दा हात खुट्टा काम्ने, मुटु हल्लिएजस्तो हुने, अनिन्द्राको समस्या हुन्छ,’ उनी भन्छन्, ‘कतिपयलाई रक्सी छोडेको २४ देखि ४८ घन्टा भित्र छारेरोग पनि देखिन सक्छ । जुन प्राणघातक पनि हुन्छ । छारेरोग लागेको अर्को २४ देखि ४८ घन्टाभित्र चेतना, होस् हराउने, नभएका आवाज आउने नभएका चित्रहरु देखिनेजस्ता समस्या देखिन्छ । यसको समयमा व्यवस्थापन नहुँदा ५ देखि १० प्रतिशत मानिसको मृत्यु हुने गरेको छ ।’

४ प्रतिशतले छाडे

नेपालमा ४ प्रतिशत नागरिकले जाँड रक्सी (मद्यपान) सेवन गर्न छोडेको एक सर्वेक्षणले देखाएको छ । जसमध्ये पुरुष ५.३ प्रतिशत पुरुष र २.७ प्रतिशत महिला रहेका छन् ।
सर्वेक्षणका सबैभन्दा बढी यो अवधिमा प्रदेश १ मा ५.२ प्रतिशतले मद्यपान सेवन गर्न छोडेका छन् । त्यसपछि कर्णाली प्रदेशमा ४.९ प्रतिशत, प्रदेश ५ मा ४.८ प्रतिशत, गण्डकी प्रदेशमा ४.२ प्रतिशतले छोडेको पाइएको छ । यस्तै, सुदूरपश्चिम प्रदेशमा ३.९ प्रतिशत, बागमती प्रदेशमा ३.१ र प्रदेश नम्बर २ मा २.३ प्रतिशतले मद्यपान सेवन गर्न छोडेको सर्वेक्षणले देखाएको छ ।

७२.२ प्रतिशतले मद्यपान गर्दैनन्

सर्वेक्षणमा ७२.२ प्रतिशतले जीवनमा कहिल्यै मद्यपान सेवन नगरेको पाइएको छ । सर्वेक्षणमा सहभागी महिलामा ८६.५ प्रतिशत र पुरुषमा ५६ प्रतिशतले कहिल्यै मद्यपान नगरेको पाइएको हो । सहभागीमध्ये सबैभन्दा बढी प्रदेश २ का मानिसले मद्यपान सेवन नगर्ने गरेको सर्वेक्षणले देखाएको छ ।

जसमा ८६.२ प्रतिशत मानिसले मद्यपानजन्य पदार्थ सेवन नगर्ने गरेको पाइएको हो । प्रदेश २ पछि प्रदेश ५ मा ७४.५ प्रतिशत, कर्णाली प्रदेशमा ७२.१ प्रतिशत, प्रदेश १ मा ६९.६ प्रतिशत, गण्डकी प्रदेशमा ६६.७ प्रतिशत, सुदूरपश्चिम प्रदेशमा ६४.४ प्रतिशत र बागमती प्रदेशमा ६३.५ प्रतिशत मानिसले जीवनमा कहिल्यै मद्यपान सेवन नगरेको पाइएको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ