२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनर्भिकमा नर्सको सुरुवाती तलब ९ हजार ४ सय, पद भने सुब्बा सरह (नियुक्ति—पत्रसहित)

नर्भिकमा नर्सको सुरुवाती तलब ९ हजार ४ सय, पद भने सुब्बा सरह (नियुक्ति—पत्रसहित)


काठमाडौं–आफूलाई अन्तर्राष्ट्रियस्तरको अस्पताल बताउँदैं आएको थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालले नर्सहरुको पारिश्रमिकमा चरम शोषण गर्ने गरेको खुलासा भएको छ ।

नर्सलाई पाँचौ तह (सरकारी सेवामा सुब्बा)को नियुक्ति पत्रमा दिने गरेको तर तलब भने दैनिक ज्यालादरीमा काम गर्ने मजदूरको भन्दा पनि कम दिने गरेको प्रमाण हेल्थ आवाजले प्राप्त गरेको छ । उसले आधारभूत तलव ९ हजार ४ सय २२ रुपैयाँ दिने गरेको पाइएको छ । जबकी पाँचौ तहको सरकारी सेवामा नर्सले २८ हजार २ सय आधारभूत तलब पाउँछन् ।

नर्भिकले आधारभूत तलबबाहेक ४ हजार ९ सय ९५ रुपैयाँ महंगी भत्ता थपेर १४ हजार ४ सय १७ रुपैयाँमा सामाजिक सुरक्षा कर काटेर दिने गरेको छ ।

यसअघि हेल्थ आवाजले विभिन्न निजी अस्पतालमा दिने गरेको न्यून तलबको विवरणसहित सार्वजनिक भएपछि निजी अस्पताल तथा नर्सिङ होम एसोसिएसन (अफिन)का अध्यक्षसमेत रहेका नर्भिक अस्पतालका अध्यक्ष बसन्त चौधरीले आफ्नो अस्पतालले आधारभूत तलब १५ हजारमाथि दिएको दावी गरेका थिए । उनले नर्भिकको बारेमा दिइएको तलबको विवरण प्रमाणित गर्न हेल्थ आवाजलाई चुनौती दिएका थिए ।

‘नर्भिकका बारेमा दिइएको विवरण प्रमाणित गर्न चुनौती दिन्छु । यो पूर्णतः निहित स्वार्थले प्रेरित भएर बाहिर आएको छ । म यसको पूर्ण रुपमा खण्डन गर्दछु,’ उनले ट्वीट गरेका छन्, ‘हुनत मैले संस्थागत गोपनियता सार्वजनिक मिल्दैन् । तर, यस कुरालाई पुष्टयाईं गर्न यो जानकारी गराउनु आफ्नो कर्तव्य ठानेको छु । नर्भिकले नसर्हहरुको तालिम र अनुभवको आधारमा १५ हजारदेखि ६० हजार रुपैयाँसम्म तलब र श्रम ऐनअनुसार अन्य सुविधा दिदैं आएको जानकारी गराउँछु ।’

हेल्थ आवाजको सम्पर्कमा आएका नर्भिकमा २ वर्ष बढी समयदेखि कार्यरत केही नर्सहरुले आधारभूत तलब ९ हजार ४ सय २२ रुपैयाँ र ४ हजार ९ सय ९५ महंगी भत्ता भनेर १४ हजार ४ सय १७ रुपैयाँ पाउँदै आएको बताए । ‘हुन त हाम्रो अस्पतालका अध्यक्षले न्यूनतम तलब कम्तिमा १५ हजार र अन्य सेवा सुविधा दिएको भन्नुभएको रहेछ । तर, हामीले दुई वर्षदेखि महंगी भत्तासमेत गरेर कुल तलब १४ हजार ४ सय १७ रुपैयाँमा १४४ रुपैयाँ सामाजिक कर काटेर पाउँछौं,’ एक नर्सले भनिन् ‘अध्यक्षलाई नै तलब थाहा नभएर हो या बीचकाले हाम्रो नाममा पैसा खान्छन् बुझ्नै सकिएको छैन ।’

रमाइलो त के छ भने नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले त्यहाँ भर्ना हुने प्रत्येक बिरामीसँग अन्य विविध शुल्कबाहेक नर्सको नाममा दैनिक १ हजार रुपैयाँ नर्सिङ शुल्क छुट्टै लिने गरेको छ । तर, नर्सलाई भने नाइट ड्युटी गरेको एक साँझको १ सय ५० रुपैयाँ दिदैं आएको छ । नर्सका नाममा उठाइएको यो अतिरिक्त पैसा उनीहरुले पाउँदैनन् ।

नेपाल नर्सिङ संघका बरिष्ठ उपाध्यक्ष रमेश सुब्बा अफिनका अध्यक्षकै अस्पतालमा यस्तो शोषण हुनु लज्जास्पद भएको बताउँछन् ।

‘सुब्बा सरहको नियुक्ती दिने तर तलब पियनको भन्दा आधा दिनु कति न्यायोचित होला ?,’ उनी भन्छन्, ‘अधिकतम मुनाफा कमाएका निजी स्वास्थ्य संस्थामा नर्सिङ पेशाकर्मीको यो चरम श्रम शोषण नीतिगत भ्रष्टाचारभन्दा अतिशयोक्ति हुँदैन ।’


उसो त ट्वीटरमा हेल्थ आवाजको समाचारलाई गलत भनेर सञ्चालक चौधरीले आरोप लगाएपछि संगीता नामकी एक नर्सले आफूले डिप्लोमा नर्सिङ सकेर जागिर खानका लागि नर्भिक अस्पताल पुग्दा त्यहाँ सुरुको तबल ८ हजार भएको र त्यो कुराले आफू निकै दुःखित भएर अत्तालिएको जवाफ फर्काएकी छन् ।

यो पनि पढ्नुस्

नर्सलाई ७ हजारमा काम लगाउँदैं निजी अस्पताल


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ