२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोना फैलँदो दरः नेपाल विश्वमा तेस्रो र एसियामा सबैभन्दा खराब

कोरोना फैलँदो दरः नेपाल विश्वमा तेस्रो र एसियामा सबैभन्दा खराब


काठमाडौ–पछिल्लो समय बढ्दै गएको कोरोना संक्रमणको अनुपात हेर्दा नेपाल विश्वमै खराब अवस्थाको देशभित्र परेको छ । पछिल्लो तथ्यांक अनुसार खराब देशको सूचीमा विश्वमा तेस्रो नम्वर र एसियाली देशहरुमा पहिलो नम्वरमा रहेको छ ।

अन्तराष्ट्रिय स्तरमा तथ्यांक अनुसन्धान गर्दै आएको आवर वल्ड इन डाटाको १५ अक्टोवर (२९ असोज)मा गरेको अध्यावधिक तथ्यांकअनुसार कोरोना संक्रमण दर अर्जेनटिना र चेक रिपब्लिक पछि नेपाल रहेको छ ।

परीक्षण गरिएका मध्ये नेपालमा संक्रमण दर २२.५ प्रतिशत रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेट अनुसार १६ अक्टोवर अर्थात ३० असोज शुक्रवारमा यो प्रतिशत बढेर २६ दशमलव ६ प्रतिशत पुगेको थियो । शनिवार र आइतवार भने सामान्य कम भएको देखिएको छ । मन्त्रालयको तथ्यांकअनुसार परीक्षण गरिएका मध्ये शनिवार १९ दशमलव ८ प्रतिशतमा कोरोना पोजेटिभ देखिएको थियो भने आइतवार २० दशमलव ५ प्रतिशत पुगेको छ ।

नेपालमा परीक्षण गरेका मध्ये जुन तवरबाट संक्रमितको प्रतिशत बढिरहेको छ यो एसियाली देशहरु मध्ये सबैभन्दा तिव्र गतीमा फैलदै गएको अवस्था हो । परीक्षण गरिएका आधारमा संक्रमित हुनेहरुमा विश्वमा पहिलो नम्वरमा अर्जेन्टिना रहेको छ । त्यहाँ परीक्षण गरिएका मध्ये ७० प्रतिशतमा कोरोना भाइरस पुष्टि भएको पाइएको छ भने दोस्रोमा चेक रिपव्लिक रहेको छ । त्यहाँ परीक्षण गरिएका मध्ये २३ दशमलव ४ प्रतिशतमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । तेस्रोमा नेपाल रहेको छ । त्यसैगरी चौथोमा जमाइकामा २१ प्रतिशत र बोलिभियामा २० दशमलव ७ प्रतिशत संक्रमित पाइएको छ ।

एसियाली देशहरुमा नेपालपछि इराक संक्रमण दर बढी भएको देशमा पर्छ । त्यहाँ परीक्षण गरिएका मध्ये १७ दशमलव २ प्रतिशत पोजेटिभ छन् । त्यसैगरी इरानमा १५, म्यानमारमा १५, इन्डोनेसियामा १२, बंगलादेशमा ११, भारतमा ६ दशमलव ५ प्रतिशतमा संक्रमण देखिएको छ । पाकिस्तानमा २, माल्दिभ्समा ४ दशमलव ४, श्रीलंकामा १ दशमलव ४ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ ।

विश्व स्वास्थ्य संगठनले परीक्षण गरिएका मानिस मध्ये धेरै मानिसलाई संकमण देखिनु भनेको सबै संक्रमित परीक्षणको दायरामा आउन नसक्नु भन्दै आएको छ । डब्लुएचओले परीक्षण गरिएका मध्ये ५ प्रतिशत भन्दा कम संक्रमित भए सामान्य १५ प्रतिशतसम्म भए दायरामा परेको र १५ प्रतिशतभन्दा वढी संक्रमित देखिए सबैमा परीक्षणको दायरा नपुगेको भन्दै छुट्याएको छ ।

त्रिभूवन विश्वविद्यालयका जनस्वास्थ्य विज्ञ प्रा.डा. शरद वन्त परीक्षणको दायरा खुम्च्याइँदा परीक्षणको आधारमा संक्रमितको दर बढ्नु स्वभाविक भएको बताउँछन् । ‘अहिले कोरोनाको आशंका गरिएका मानिसको मात्र परीक्षण भएको छ,’ उनी भन्छन्, ‘आशंका गरेका मानिसहरुको परीक्षण गरेपछि पोजेटिभ आउनु स्वभाविक हो ।’

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डे पछिल्लो समय संक्रमण दर बढेको र यो केही समय तलमाथी भइरहने सम्भावना रहेको बताउछन् । ‘पछिल्लो समय संक्रमण दर बढेको देखिन्छ,’ सरुवा रोग विशेषज्ञ समेत रहेका पाण्डे भन्छन्, ‘हामीले विभिन्न कोणबाट अध्ययन गर्दा केही समय घटबढ भइरहने अवस्था देखिन्छ ।’ उनी संक्रमण दर बढेतापनि त्यसले गराउने मृत्युदर भने निकै कम रहेको बताउँछन् । बढ्दै गएको संक्रमण दरलाई रोक्नका लागि आइसोलेसनको उचित व्यवस्थापन र अस्पतालहरुको व्यवस्थापन मुख्य कुरा रहेको उनको भनाई छ ।

प्रा.डा. वन्त पनि बढ्दो संक्रमण रोक्नका लागि संक्रमितहरुको पहिचान र उनीहरुको व्यवस्थापनमा नै जोड दिनुपर्ने बताउँछन् । ‘पहिलो कुरा त संक्रमित पहिचान हुनुप¥यो,’ उनी भन्छन्, ‘दोस्रो उनीहरुको उपचार र व्यवस्थापन सही तरिकाले गर्नुपर्छ ।’ संक्रमितको सही व्यवस्थापन नहुँदा संक्रमित स्वयं र समुदाय दुवै उच्च जोखिममा हुने उनको तर्क छ ।

विश्वमा परीक्षणका आधारमा बढी संक्रमित भएका ५ देश (५ देखी १५ अक्टोवर सम्म)

अर्जेन्टीनाः ७० दशमलव ३ प्रतिशत
चेक रिपव्लिकः २३ दशमलव ४ प्रतिशत
नेपालः २२ दशमलव ५ प्रतिशत
जमाइकाः २१ प्रतिशत
बोलिभियाः २० दशमलव ७ प्रतिशत

परीक्षणका आधारमा एसियामा संक्रमितको प्रतिशत

नेपालः २२ दशमलव ५ प्रतिशत
इराकः १७ दशमलव २ प्रतिशत
इरानः १५ दशमलव २ प्रतिशत
म्यानमारः १५ दशमलव १ प्रतिशत
इन्डोनेसियाः १२ दशमलव १ प्रतिशत
बंगलादेशः ११ दशमलव ३ प्रतिशत
इजरायलः १० दशमलव ७ प्रतिशत
फिलिपिन्सः ७ दशमलव ८ प्रतिशत
भारतः ६ दशमलव १ प्रतिशत
माल्दिभ्सः ४ दशमलव ४ प्रतिशत
बहराइनः ३ दशमलव ७ प्रतिशत
कतारः ३ दशमलव ५ प्रतिशत
मलेसियाः २ दशमलव ७ प्रतिशत
जापानः २ दशमलव ६ प्रतिशत
पाकिस्तानः २ प्रतिशत
काजिकस्तानः १ दशमलव ५ प्रतिशत
टर्कीः १ दशमलव ४ प्रतिशत
श्रीलंकाः १ दशमलव ४ प्रतिशत
साउथ कोरीयाः ० दशमलव ९ प्रतिशत
साउदी अरेवियाः ० दशमलव ८ प्रतिशत
ताइवानः ० दशमलव ३ प्रतिशत

स्रोतः आवर वल्ड इन डाटा


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ