२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारढकाल स्वास्थ्यमन्त्री भएपछिका उपलब्धि पुस्तकमार्फत सार्वजनिक गरिदै, यस्तो छ उपलब्धिको सूची

ढकाल स्वास्थ्यमन्त्री भएपछिका उपलब्धि पुस्तकमार्फत सार्वजनिक गरिदै, यस्तो छ उपलब्धिको सूची


काठमाडौं– १० महिना अघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बागडोर सम्हालेका मन्त्री भानुभक्त ढकालले हनिमुन पिरियड गुजार्न नपाउँदै विश्वलाई कोभिड–१९ को महामारीले छोप्यो । महामारी व्यवस्थापन गर्ने क्रमको सुरुवातमै खरिद प्रकृया विवादमा परेपछि सञ्चारमाध्यमसँग उनकाे सम्बन्ध सुधार हुन सकेन ।

कोभिड–१९ महामारीको चपेटामा पनि आफु नेतृत्वको मन्त्रालयले धेरै सुधारका काम गरेको दाबी गर्दै मन्त्रालयले पुस्तक नै सार्वजानीक गर्ने तयारी गरेको छ । मन्त्रालयले कोभिड महामारीको नेतृत्व लिन नसकेको, समन्वय कमजोर भएको, कोभिड संक्रमितको व्यवस्थापनमा चुक्दै गएको जस्ता आरोप खेप्दै आएका मन्त्रीले आफू स्वास्थ्य मन्त्री भएपछि हासिल गरेका सफलता सार्वजनिक गर्ने तयारी गर्न लागेका हुन् ।

२०७६ मंसिर ५ गते स्वास्थ्यमन्त्रीमा नियुक्त भएयता प्राप्त प्रमुख उपलब्धिलाई सार्वजनिक गर्न लागेका हुन् । मन्त्री ढकालले पुस्तक मार्फत स्वास्थ्य प्रणालीलाई सबल सक्षम र जिम्मेवार बनाउने गरी स्वास्थ्य संरचनाको सुधार र विस्तारको नीति तथा कार्यक्रमसहित स्वास्थ्य क्षेत्र सुधारको अभियान सञ्चालित रहेको बताएका छन् ।

यस्तै, दक्ष जनशक्तिको अभाव हटाउन स्थायी पदपूर्ति नहुन्जेलसम्मको लागि करार सेवामै भएपनि स्वास्थ्य जनशक्ति लिइएको, कोरोना नियन्त्रणमा महत्वपूर्ण सफलता हासिल गरेको जनाइएको छ । अर्को सफलतामा दिनको २५ हजारको दरले पीसीआर परीक्षण गर्ने क्षमतासहित अस्पताल बेडलगायत आपूर्ति व्यवस्थापनलाई चुस्त हुने गरी निरन्तर खटिरहेका उल्लेख छ ।

कोरोना महामारी नियन्त्रणसम्बन्धी ४३ ओटा निर्देशिका तथा मापदण्डहरू तयार गरी लागू गरिएको विषयलाई मन्त्रालयको सफलतासँग जोडिएको छ ।

आफूले नयाँ योजना अगाडि सारेर नयाँ काम गर्ने तयारी भएको बेला कोभिड–१९ को महामारी आएकोले त्यसमा केन्द्रित हुनुपरेको उल्लेख गर्दै महामारी बिचमै पनि स्वास्थ्य संरचनालाई परिवर्तन गरी स्वास्थ्य जनशक्तिको आवश्यकता परिपूर्ति हुने गरी दरबन्दी सिर्जना गर्ने काम भैरहेको जनाइएको सार्वजनिक गर्न तयार गरिएको पुस्तकमा उल्लेख छ । ‘

सबै स्थानीय तहहरूमा आधारभूत अस्पताल स्थापना भएको, अस्पताल नभएका ६४९ स्थानीय तहहरूमा ५ बेडको अस्थायी अस्पताल स्थापना गर्न बजेटसहित कार्यक्रम पठाइएको छ ।’ प्रकाशोन्मुख पुस्तकमा भनिएको छ, ‘५, १० र १५ बेडका आधारभूत अस्पताल निर्माणको लागि ३९४ स्थानीय तहहरूमा बजेट विनियोजन गरी हस्तान्तरण गरिसकिएको, मनाङ, मुस्ताङ, हुम्ला, डोल्पा, रुकुम पूर्वका जिल्ला अस्पतालहरूलाई २५ शय्या र अरू सबै जिल्ला अस्पतालहरूलाई ५० शय्यामा स्तरोन्नती गरिएको, प्रदेश अस्पतालहरूलाई २०० शय्या र संघ अन्तर्गतका अस्पतालहरूलाई ५०० शय्यामा स्तर वृद्धि गरिएको छ ।’

आफु स्वास्थ्य मन्त्री भएर आएपछि जनस्वास्थ्यसम्बन्धी नियमावली २०७७, सुरक्षित मातृत्व तथा प्रजनन् अधिकारसम्बन्धी नियमावली २०७७ लगायतका जनस्वास्थ्य र जनसरोकारलाई उचित व्यवस्थापन गर्न आवश्यक नियमावलीहरूको निर्माण गरिएको मन्त्रीका प्रमुख उपलब्धिमा उल्लेख छ ।

स्वास्थ्य अनुसन्धानमा ११० प्रतिशतले बजेट वृद्धि गरिएको छ । नेपालमा सरुवा रोग तथा महामारीजन्य स्वास्थ्य समस्याको उचित सम्बोधन गर्नका लागि केन्द्रमा ३०० बेडको अस्पतालसहित हरेक प्रदेशमा ५० बेडको सुविधा सम्पन्न प्रयोगशालासहितको सरुवा रोग अस्पताल बन्दै गरेको उपलब्धिमा समावेश गरिएको छ ।

यस्तै, १० वटा ट्रमा सेन्टर स्थापना र १४ वटा अस्पतालहरुबाट निःशुल्क आकस्मिक सेवा सञ्चालन गरिएको, एक स्वास्थ्यसंस्था एक चिकित्सक÷स्वाथ्यकर्मी लागू गरिएको ढकालको हालसम्मको कार्यकालको उपलब्धि मानिएको छ ।

यस्तै, उपलब्धिहरु समावेश गरिएको उक्त पुस्तकमा मन्त्रीपरिषद्बाट स्वास्थ्य क्षेत्रमा भएका महत्वपूर्ण निर्णय र २०७६÷०७७ र २०७७÷७८ का नीति तथा कार्यक्रमहरुको कार्यन्वयन सम्बन्धि उपलब्धिहरुलाई पनि समावेश गरिएको छ । यसैगरी, कोभिड–१९ महामारी नियन्त्रणमा स्वास्थ्य मन्त्रालयले गरेका प्रयासहरुलाई पनि समावेश गरिएको छ ।

मन्त्री ढकालले मन्त्रालय सम्हालेपछि मन्त्रीपरिषद्बाट २६ वटा महत्वपुर्ण निर्णय भएको समेत उल्लेख छ । जसमा करारमा कर्मचारी नियुक्त गर्न देखि लिएर औषधी दर्ता सम्बन्धी दोस्रो संशोधनका विषयलाई समावेश गरिएको छ ।

अर्को उपलब्धिमा नीति तथा कार्यक्रममा आकस्मिक सेवा निःशुल्क, एकिकृत एम्वुलेन्स सेवा न्यूनतम सेवा मापदण्ड जस्ता कार्यक्रम समावेश भएको उल्लेख छ ।

रोग नियन्त्रण केन्द्र, औषधि तथा खाद्य प्रशासन स्थापना गर्न बजेट विनियोजन गरिएको समेत उल्लेख छ ।

पुस्तकमा उल्लेखित उपलब्धिहरू

 

 

 

 

 

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ