२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विराटनगरका अस्पतालहरु कोरोना संक्रमितकाे उपचार शुल्क आफूखुशी तोक्दै, एकदिनकै ५ हजारदेखि ५० हजारसम्म

विराटनगरका अस्पतालहरु कोरोना संक्रमितकाे उपचार शुल्क आफूखुशी तोक्दै, एकदिनकै ५ हजारदेखि ५० हजारसम्म


विराटनगर– कोरोनाका बिरामीको उपचार खर्च सरकारले नबेहोर्ने निर्णय गरेसँगै विराटनगरका निजी अस्पतालहरुले आफुखुुशी चर्को शुल्क निर्धारण गरेका छन् । २ कार्तिकमा सरकारले संक्रमितको उपचार खर्च नब्यहोर्ने निर्णय गरेपछि विराटनगरस्थित नोबेल शिक्षण अस्पताल, न्यूरो अस्पताल र विराट शिक्षण अस्पतालले कोरोना संक्रमित बिरामीहरूको उपचारमा शुल्क निर्धारण गरेका हुन् ।

यी अस्पतालहरुले कोरोना संक्रमितको उपचारमा प्रतिदिन ५ हजारदेखि ५० हजार रूपैयाँसम्म शुल्क निर्धारण गरेका छन् । सरकारी शुल्कका आधारमा हेर्दा निजी अस्पतालमा गम्भीर संक्रमितको उपचार खर्च तीन गुणा महँगो पर्ने देखिन्छ ।

विराटनगरका अस्पतालहरूले निर्धारण गरेको शुल्कलाई हेर्दा सामान्य लक्षण भएका संक्रमितले आइसोलेसनमा भर्ना भएर उपचार गर्दा दैनिक ५ हजारदेखि ८ हजार रुपैयाँ शुल्क तिर्नुपर्छ ।

विराट टिचिङमा ८ हजारदेखि ५० हजारसम्म

मोरङको बुढीगंगा गाउँपालिका–२ टिंकसिनवारीस्थित विराट टिचिङ्ग हस्पिटलको कोभिड अस्पताल १ सय शय्याको रहेको छ । १८ वटा आइसियूसहितको कोभिड अस्पताल संचालनमा छ । सरकारले संक्रमितको उपचार खर्च नबेहोर्ने निर्णय गरेपछि सःशुल्क रूपमा उपचार सुरू गरेको अस्पतालका प्रशासकीय प्रमुख सुधीर सिंह राठोर बताउँछन् ।

अस्पतालले कोभिडका बिरामीको उपचार गर्ने तीन प्रकारको दर रेट पनि सार्वजनिक गरेको छ । प्रशासकीय प्रमुख राठोरका अनुसार जनरल वेडको प्रतिदिन ८ हजार रूपैयाँ तोकिएको छ । यस्तै, अक्सिजनसहितको वेडको प्रतिदिन ३५ हजार र भेन्टिलेटरको ५० हजार रुपैयाँ रहेको अस्पतालले जनाएको छ ।

अस्पतालले तोकेको शुल्कमा खाना, खाजा र चिकित्सकको चार्जसमेत रहेको उनले बताए । ‘कोरोना संक्रमितको उपचारमा आवश्यक पर्ने स्वास्थ्य सामाग्रीहरू महंगो पर्ने भएकोले खर्चिलो देखियो,’ उनले भने ।

न्यूरोमा साढे ४ हजारदेखि ३० हजारसम्म

विराटनगरमै रहेको न्यूरो हस्पिटलले २ वटा भेन्टिलेटरसहितको ५० शय्याको कोभिड अस्पताल संचालनमा ल्याएको छ । अस्पतालमा ७ वटा आइसियू बेड रहेको छ । २३ भदौमा प्रदेश १ को सामाजिक विकास मन्त्रालयसँग कोभिडका बिरामीको निःशुल्क उपचार गर्ने सम्झौता भएपछि उपचार सुरू गरेको अस्पतालले कोरोना संक्रमितको उपचारमा सरकारसँग तीन वटा शुल्कको सम्झौता गरेको थियो ।

सम्झौता अनुसार प्रतिदिन लक्षणसहितको सामान्य बिरामीको ६ हजार, मध्यम जटिल बिरामीको १० हजार र गम्भिर खालको बिरामीको १५ हजार रुपैयाँमा उपचार गरिने सम्झौता भएको थियो । न्यूरो अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्य कोरोनाको उपचार खर्चिलो हुने भएकोले सरकारसँग गरेको सम्झौतामा केही थपघट गरि शुल्क निर्धारण गरिएको बताउँछन् ।

न्यूरोले जनरल बेडको प्रतिदिन ४ हजार ६ सय २५ रुपैयाँ, आइसियूको १५ हजार र भेन्ट्रिलेटरसहितको आइसियूको ३० हजार रुपैयाँ रहेको उनले जानकारी दिए । मंगलबारदेखि भर्ना भएका बिरामीको शुल्क लिएर उपचार गर्न सुरु गरिएको उनले बताए । ‘कोरोना संक्रमितको उपचारमा प्रोट्रोकलदेखि हरेक स्वास्थ्य सामाग्री महंगो छ,’ उनले भने, ‘सरकारसँग गरिएको सम्झौतामा थपघट गरि शुल्क निर्धारण गरेका हौं ।’

नोबेलको शुल्क निर्धारण गुपचुप

विराटनगरकै अर्को अस्पताल नोबेल शिक्षण अस्पतालले कोरोना संक्रमितको उपचारमा लाग्ने शुल्क गुपचुप राखेको छ । अस्पतालका प्रबन्धक नारायण दाहालले हालसम्म अस्पतालले कोभिडको उपचार गरिने शुल्क निर्धारण नगरेको जानकारी दिए ।

‘हामीले अहिलेसम्म शुल्क निर्धारण गरेका छैनौं,’ उनले भने, ‘कोभिड अस्पतालमा अहिले बिरामी भरिभराउ छन् । नयाँ भर्ना भएका बिरामीको हकमा प्रशासनले शुल्क चाँडै निर्धारण गर्नेछ ।’ नोबेलले ५ वटा भेन्ट्रिलेटरसहित १ सय १८ शय्याको कोभिड अस्पताल संचालनमा ल्याएको छ । सो अस्पतालमा ९ वटा आइसियू बेड रहेका छन् ।

सरकारले उपचार खर्च दिन ढलाई गरेको अस्पतालको गुनासो

कोरोना संक्रमितको उपचार गरेको निजी हस्पिटलहरूलाई सरकारले लागेको उपचार खर्च दिन ढिलाई गरेको अस्पतालहरुले ग्ुनासो गरेका छन् । कोरोना संक्रमितको उपचार गर्दा सम्झौता अनुसार १५÷१५ दिनमा बिल पेस गरेपछि भुक्तानी दिने सहमति भएको थियो ।

संक्रमितको उपचार गरेको पहिलो पटक पेस गरेको भुक्तानी हालसम्म नपाएको न्यूरो हस्पिटलका प्रशासकीय अधिकृत आचार्य गुनासो गर्छन् । ‘पहिलो पटक बिल पेस गरिएको भुक्तानी अहिलेसम्म भएको छैन,’ उनले भने, ‘मन्त्रालयमा गएर बुझ्दा स्वास्थ्य मन्त्रालयबाटै रकम नआएर दिन नसकिएको भन्दै आएको छ ।’


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ