काठमाडौ– देशभरका ७ सय ५३ पालिकामा मौज्दात रहेको औषधी र औषधीजन्य वस्तुहरुको अब अनलाइन प्रणालीमार्फत हेर्न सकिने भएको छ । यो प्रणालीले कुन पालिकामा कुन औषधीको अवस्था के छ भनेर तीनै तहका सरकारलाई मितव्ययी बनाउन सहज हुने भएको हो ।
स्वास्थ्य सेवा विभागअन्तर्गत व्यवस्थापन महाशाखामा रहेको एकिकृत स्वास्थ्य सूचना व्यवस्थापन शाखाले देशभरका सबै पालिकाहरुबाट अनलाइन लजेस्टिक म्यानेजमेन्ट प्रणाली(इएलएमआइएस) सुरु गरेसँगै केन्द्र देखि पालिकासम्म रहेको मौज्दात औषधिको अवस्था अनलाइनबाटै हेर्न सकिने भएको छ ।
असोज पहिलो साता सुदूर पश्चिमबाट सुरु भएको इएलएमआइएस प्रणाली ३ सय ६९ स्थानीय तहबाट प्रत्यक्ष सुरु भइसकेको र मंसिर १५ गतेभित्र देशका ७ सय ५३ बटै स्थानीयतहबाट संचालन हुने शाखाका प्रमुख वद्रीनाथ ज्ञवालीले जानकारी दिए ।
सबै पालिकामा यो प्रणाली लाइभ भएपछि सम्बन्धित पालिकाले पालीकाभरीको, जिल्लाले जिल्लाभरका पालीकाहरुको, प्रदेशले प्रदेश भरका पालिकाहरुको र केन्द्रले देशभरीका सबै स्वास्थ्य संस्थाहरुमा रहेको औषधि र औषधिजन्य सामग्रीको कहाँ के अवस्थामा छ भनेर हेर्न सकिने उनको भनाइ छ । ‘यो सिस्टमको विकासले केन्द्र, प्रदेश र स्थानीय तहमा औषधीको दोहोरो खरिद हुनसक्ने अवस्थालाई कम गर्छ ।’ ज्ञवलीले भने, ‘यसले राज्यको अनावश्यक फजुल खर्च पनि रोक्छ ।’
शाखा प्रमुख ज्ञावलीका अनुसार हालसम्म सुदुर पश्चिमका ८८ पालिका, गण्डकीका ८५ पालिका, वागमतीका १ सय ३६ पालिका र प्रदेश २ का महोत्तरी, रौतहट, सर्लाही र धनुषा जिल्लाका ६० पालिकामा इएलएमआइएस सिस्टम सुरु भइसको छ । ‘झण्डै ४ वटा प्रदेशको लजेस्टीकको अवस्था हामी अहिले अनलाइन बाटै हेर्न सक्ने भएका छौ,’ ज्ञवालीले भने ‘मंसिरको दोस्रो सातासम्म हामी देशभरकै हेर्न सक्छौँ ।’
२०५२ सालबाट सूरु भएको इएलएमआइएसले गति लिन नसक्दा २५ वर्षमा २२ जिल्लाका ५७ वटा स्थानीय तहमा मात्र लागू भएको थियो । एलएमआइएसको काम कुन शाखाले गर्ने भन्ने स्थायीत्व नहुँदा यो प्रणालीले गति लिन नसकेको हो ।
देश संघियतामा गएपछि दुई वर्ष अघि मन्त्रीपरिषद्ले एकिकृत स्वास्थ्य सूचना व्यवस्थापन शाखालाई स्वास्थ्य क्षेत्रका स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली, लजेस्टिक म्यानेजमेन्ट सिस्टम र हेल्थ इन्फाइस्टकचर सिस्टम लाई एकिकृत प्रणालीको रुपमा वृद्धि, विकास र समन्वय गर्ने जिम्मा दिएको थियो ।
तर, स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक परिर्वतन भए पिच्छे एलएमआइएस प्रणालीलाई आफु खुसी शाखालाई जिम्मेवारी दिँदा काम हुन सकेको थिएन । यस अघिका महाशाखा प्रमुख भोगेन्द्र डोटेलले एकिकृत स्वास्थ्य सूचना व्यवस्थापन शाखाबाट खोसेर यो प्रणालीको सरोकार नै नभएको भन्दै वातावरण शाखालाई जिम्मेवारी दिएका थिए ।
यसमा सरोकार नै नराख्ने शाखालाई जिम्मेवारी दिएपछि कुनै काम अगाडी बढेको थिएन । काम अघि नबढेपछि दुई महिना अघि स्वास्थ्य सचिव स्तरीय निर्णय गरी पुनः तीन वर्ष अघिको मन्त्रीपरिषद्को निर्णयलाई कार्यन्वयन गर्न भन्दै एकिकृत स्वास्थ्य सूचना व्यवस्थापन शाखालाई जिम्मेवारी दिने निर्णय गरेको थियो ।
सचिव स्तरीय निर्णयलाई टेक्दै व्यवस्थापन महाशाखाका निर्देशक डा. रमेश खरेलले १४ भदौमा पुनः सूचना व्यवस्थापन शाखालाई काम अगाडी बढाउन जिम्मेवारी दिएका थिए ।
जिम्मेवारी पाएको एक महिना पछिबाट काम सुरु गरेको शाखाले दुई महिना भित्रमा ३ सय ६९ स्थानीय तहबाट लजेस्टिक सिस्टम लाइभ भइसकेको शाखाका वरिष्ठ तथ्यांक अधिकृत शिवलाल शर्माले जानकारी दिए ।
सरकारले फरक–फरक ठाउँमा रहेका स्वास्थ्य सूचनालाई एकै ठाउँबाट पाउनका लागि मन्त्रीपरिषद्ले नै निर्णय गरेर शाखालाई जिम्मेवारी दिएको र सोही अनुसार काम भइरहेको शर्माको भनाई छ । ‘यो सिस्टम सबैतिर लागू भएपछि स्वास्थ्य सेवा र स्वास्थ्य सामग्री दुवैको देशभरको अवस्था अनलाइनबाटै हेर्न सकिन्छ ।’ उनी भन्छन्, ‘कहाँ कस्तो स्वास्थ्य सेवा छ भन्नेदेखि लिएर कुन पालिकामा कुन औषधीको अवस्था कस्तो छ सबै हेर्न सकिन्छ ।’
पालिकामा रहेको स्वास्थ्य चौकीमा कुन खोप कति छ देखि लिएर माक्स कतिवटा स्टक छन् ? कहिले सकिँदैछ सबै केन्द्रबाटै हेर्न सकिने अधिकृत शर्माको भनाइ छ । जसले स्वास्थ्यको नीति तथा योजनालाई सहयोग पुग्ने उनको भनाई छ ।