२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोना परीक्षणका नाममा अवैध ४ हजार रूपैयाँ असुल्दै टिडिओ नेपाल

कोरोना परीक्षणका नाममा अवैध ४ हजार रूपैयाँ असुल्दै टिडिओ नेपाल


काठमाडौं– टप डाक्टर्स अनलाइन (टिडिओ) नेपालले पीसीआर परीक्षण गर्ने भन्दै प्रतिव्यक्ति ४ हजार रुपैयाँ लिँदै आएको पाइएकाे छ । अनलाईनमार्फत सेवा दिँदै आएको यो संस्थाले घर–घरमा गई स्वाब संकलन गरेर कोभिड–१९ को पीसीआर परीक्षण गरेको शुल्क ४ हजार रुपैयाँ लिँदै आएको पाइएको हो ।

नेपाल सरकारले पीसीआर परीक्षण शुल्क २ हजारभन्दा बढी लिन नपाइने नियम बनाएको छ । साथै कोभिड–१९ को परीक्षणका लागि गरिने स्वाव कलेक्सन घरमा गर्न नपाउने समेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७ भदौमा निर्णय गरेर सार्वजनिक सूचना जारी गरेको थियो । तर, सरकारको सो निर्णलयलाई लत्याउँदै आफ्नै प्रयोगशाला नभएको र एजेन्टको काम गरिएको सो सस्थाले घरमै पुगी स्वाब संकलन गर्ने नाममा बढी शुल्क लिइरहेको छ ।

सामाजिक सञ्जालमार्फत ४ हजारमा पीसीआर परीक्षण हुने खुलमखुला प्रचार गरिरहँदा पनि नियामक निकाय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र वाणिज्य विभाग भने मौन देखिएका छन् ।

टिडिओले ४ हजार रुपैयाँको प्याकेजमा आरटी–पीसीआर परीक्षण, घर मै गएर स्वाब संकलन र ३ महिनासम्म चिकित्सक परामर्शको सुविधा दिनेभन्दै नागरिकसँग बढी शुल्क असुलिरहेको छ । सरकारले २ महिनाअघि नै स्वाबको होम कलेक्सन रोकिसकेको हुँदा यसरी घरघरमा गएर स्वाब लिनु कानूनी विपरित भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डा. रुना झा बताउँछिन् । ‘सरकारले घरमा गएर स्वाब कलेक्सन गर्न रोकिसकेको छ,’ उनी भन्छिन्, ‘त्यसमा पनि अस्पताल र ल्याब नभएको कुनै एजेन्टले स्वाब लिएर पीसीआर परीक्षण हुन्छ भन्नु सरासर गलत हो ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतम अहिलेसम्म घरमा गएर स्वाब संकलन गर्ने कुरा निर्देशिकामै नभएको बताउँछन् । ‘घर–घरमा गएर पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने कुरा निर्देशिकामा छैन । त्यसैले यो अवैधानिक हो,’ उनी भन्छन्, ‘यदि त्यस्तो भएको छ भने हामी कारवाही गर्छौं ।’

पीसीआर परीक्षणका लागि टिडिओ नेपालले लिँदै आएको ४ हजार रुपैयाँ लिनु पनि अवैधानिक भएको डा. गौतम बताउँछन् । ‘यसको कारवाहीको अधिकार वाणिज्य विभागलाई भएकाले विभागले कालोबजारी ऐन अन्तर्गत कारवाही गर्न सक्छ,’ उनले भने ।

वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदी सरकारले तोकेको भन्दा बढी शुल्क लिएको पाइएमा जो सुकैलाई पनि अनुसन्धान गरेर कारवाही गर्ने बताउँछन् । ‘कसैले पनि सरकारले तोकेको भन्दा बढी शुल्क लिन पाउँदैन,’ उनले भने, ‘यदि बढी शुल्क लिएको पाइयो भने उपभोक्ता संरक्षण ऐन अन्तर्गत कारवाही गरिनेछ ।’

भारतमा मूख्य कार्यालय रहेको टिडिओको नेपालमा भने त्रिपुरेश्वरस्थित लक्की टावरमा कार्यालय रहेको छ । अनलाइनमार्फत स्वास्थ्य सेवा दिँदै आएको टिडिओ नेपाल विगत ११ महिनायता नेपालमा सञ्चालित छ ।

टिडिओ नेपालको नेपाल प्रमुख रत्ना महतले यो शुल्क भारतबाटै तय भएर आएको बताइन् । ‘यसमा पीसीआर शुल्क ४ हजार रुपैयाँ देखिएता पनि यसमा तीन महिना चिकित्सको परामर्श शुल्क र घरसम्म गएर स्वाब लिइएको चार्ज समावेश गरिएको हो,’ उनी भन्छिन्, ‘हामीले सेवा दिएबापत बढी शुल्क लिएका हौं । हामीले दिएको सेवालाई धेरैले आशिर्वाद दिनुभएको छ । हाम्रो सेवालाई आमनागरिकले रुचाउनुभएको छ ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ