२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विराटनगरमा यसरी बन्दैछ १ सय शैय्याको काेभिड अस्पपताल (फोटो फिचर)

विराटनगरमा यसरी बन्दैछ १ सय शैय्याको काेभिड अस्पपताल (फोटो फिचर)


विराटनगर– विराटनगरमा समुदाय स्तरमा कोरोना संक्रमण फैलिने क्रम उच्च छ । यहाँ दैनिक यहाँ एक सयभन्दा बढी संक्रमित थपिने गरेका छन् ।  लक्षणसहितका संक्रमितले कोभिड अस्पतालहरू भरिएपछि अधिकांश संक्रमित होम आइसोलनमा बस्न बाध्य छन् ।

आगामी दिनमा आउन सक्ने थप जोखिमलाई मध्यनजर गर्दै प्रदेश १ सरकार, विराटनगर महानगरपालिका र नीजि क्षेत्रसँग सहकार्य गरि प्रदेशको राजधानी समेत रहेको विराटनगरमा १ सय शैय्याको अक्सिजन सहितको अस्पताल निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
विराटनगर–१० स्थित कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रको पछाडि तिहार अगाडी संचालनमा ल्याउने तयारीको साथ १ सय शैय्याको कोभिड अस्पताल निर्माणको अन्तिम चरणमा पुगेको हो ।

प्रदेश सरकार र नागरिक केयर सेन्टरको संयुक्त लगानीमा विस्तार भइरहेको कोभिड अस्पतालको हालसम्म ७५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ । बिजुलीबत्ती तथा खानेपानी जडान, पुर्वाधार व्यवस्थापन, स्वास्थ्य उपकरण खरिद र ग्राउण्ड क्लियरेन्स लगायतका काम मात्र बाँकी रहेको अस्पतालका इन्जिनियर रन्जित राज बस्नेतले जानकारी दिए ।

पछिल्लो समय लक्षणसहितका बिरामीहरु बढ्दै गइरहेकाले प्रदेश सरकारले आइसीयु, भेन्टिलेटर र अक्सिजन लगायतका आवश्यक स्वास्थ्य पुर्वाधारहरु सहितको अस्पताल सञ्चालनमा ल्याउन लागेको हो । हाल प्रदेश सरकारको २ करोड, नागरिक केयर सेन्टरको १ करोड ५० लाख र विराटनगर महानगरपालिको २५ लाखको बजेटमा अक्सिजन सहितको अस्पताल विस्तारको काम अगाडी बढेको छ ।

प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले आइतबार निर्माणधीन कोभिड अस्पतालको अनुगमनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै निर्माण भइरहेको उपचार केन्द्रबाट संक्रमितहरूको उपचारमा सहज हुने बताए । उनले प्रदेश सरकारद्वारा सञ्चालित सबै अस्पतालहरूमा उपचार निःशुल्क हुने बताए ।

उनले संघीय, प्रदेशले संयुक्तरूपमा यस केन्द्रको हाताभित्र थप एक सय शैय्याको भेन्टिलेटरसहित विशिष्टीकृत सेवासहितको उपचार केन्द्र निर्माणको केही दिनभित्र सुरु गर्ने र झापाको मेची अस्पतालमा ५० शैय्याको भेन्टिलेटरसहितको केन्द्रमा निर्माण भइरहेको जानकारी दिए ।

अस्पताल तयार भएपछि संक्रमितले अस्पतालमा बेड अभावका कारण स्वास्थ्य उपचारबाट बञ्चित हुनुपर्ने अवस्थाको अन्त्य हुने उनको भनाई छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश समितिका कार्यवाहक अध्यक्ष राजेन्द्र राउतले नागरिक समाजले संक्रमितको उपचारमा आगामी दिनमा थप सहयोग गर्ने बताए ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ