२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १जिल्ला अस्पतालहरूलाई परिणाम देखिने गरी काम गर्न मन्त्री घिमिरेको निर्देशन

जिल्ला अस्पतालहरूलाई परिणाम देखिने गरी काम गर्न मन्त्री घिमिरेको निर्देशन

निजी अस्पतालले दिने सेवाभन्दा प्रभावकारी सेवा दिन आग्रह


विराटनगर—प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जिल्ला अस्पतालहरुले परिणाम देखिने गरी काम गर्नुपर्ने बताएका छन् । उनले अस्पतालहरुले विस्तार गरेको सेवाका बारेमा स्थानीयले थाहा पाउने गरी काम गर्न समेत निर्देशन दिए ।

प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा मंगलबार भएको प्रदेश स्तरीय अस्पतालहरुको वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठीमा मन्त्री घिमिरेले जिल्ला अस्पतालहरुलाई प्रदेश सरकारले उल्लेखनीय बजेट दिएकाले परिणाम पनि सोही अनुसार देखिनुपर्ने बताए । मन्त्री घिमिरेले स्थानीयले सेवा सुलभ भएको अनुभूति गर्नुपर्ने बताए ।

चालु आर्थिक वर्षमा मात्र जिल्ला अस्पतालहरुलाई ७ करोडदेखि ३५ करोडसम्म बजेट प्रदेश सरकारले उपलब्ध गराएको जानकारी दिए । पछिल्लो अढाइ वर्षमा अस्पतालहरुले जनशक्ति, यन्त्र उपकरण र पूर्वाधारमा गरेको प्रगतिको समीक्षा हुन आवश्यक रहेकोमा उहाँको भनाइ थियो ।

‘प्रदेश सरकार गठनपछिको अढाइ वर्षकै समीक्षा आवश्यक छ,’ उनले भने । उनले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन पनि निर्देशन दिए । स्वास्थ्यकर्मीलाई घर घरमा गएर बिमा गर्न सुझाव दिए । मन्त्री घिमिरेले भने, ‘घरदैलो गर्दै शतप्रतिशतको स्वास्थ्य विमा गर्नुहोस् ।’

निजी अस्पतालले दिने सेवाभन्दा प्रभावकारी सेवा दिन मन्त्री घिमिरेको आग्रह छ । उनले प्रदेश सरकारले कोरोना संक्रमितको उपचारका लागि एचडियुसहितको ५ सय वेड विस्तारको तयारी गरिरहेको बताए ।

सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले सरकारले स्वास्थ्य क्षेत्रको बजेट कटौती नगर्ने भएकाले उच्च मनोबलका साथ काम गर्न आग्रह गरे । कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की, जिल्ला समन्वय समिति महासंघ प्रदेश १ का अध्यक्ष बबी चाम्लिङ, प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक चन्द्रदेव मेहतालगायतले बोलेका थिए ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ