२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचार६ देशले आईएचआरमार्फत नेपालका पिसिआर ल्याबको विश्वसनीयतामा प्रश्न उठाए

६ देशले आईएचआरमार्फत नेपालका पिसिआर ल्याबको विश्वसनीयतामा प्रश्न उठाए

नेपालबाट हुने एक अन्तर्राष्ट्रिय उडानका १ देखि ७ जनासम्मको ‘फल्स’ रिपोर्ट


काठमाडौं–अन्तर्राष्ट्रिय समुदायले नेपालका पिसिआर ल्यावमा परिक्षण गरेको कोभिड—१९ को रिपोर्टको विश्वसनीयतामा प्रश्न उठाउन थालेका छन् । नेपालका पिसिआर ल्यावमा परिक्षण गरी नेगेटिभ रिपोर्ट आएर विदेश गएकाहरुको ती देशमा परिक्षण गर्दा पोजेटिभ रिपोर्ट आएपछि परिक्षणमा नै प्रश्न उठाउन थालेका हुन् ।

नेपालबाट हुने अन्तर्राष्ट्रिय उडानमार्फत विभिन्न देशमा पुगेकाहरुमा त्यहाँ पिसिआर गर्दा रिपोर्ट पोजेटिभ देखिएपछि उनीहरुले यस्तो प्रश्न उठाएका हुन् । नेपालबाट एक फ्लाइटमा गएका १ जना देखि ७ जनासम्मको ‘फल्स’ रिपोर्ट देखिएपछि नेपालको कोभिड—१९ परिक्षणको विश्वसनीयतामाथि नै प्रश्न चिन्ह सुरु भएको हो ।

नेपालबाट कोभिड—१९ नेगेटिभ रिपोर्ट लिएर गएका तर विदेशमा पुगेपछि लक्षण देखिएर त्यहाँ जाँच गर्दा पोजेटिभ देखिएपछि उनीहरुले विश्व स्वास्थ्य संगठनको इन्टरनेसनल हेल्थ रेगुलेसन –आईएचआर) फोकल पर्सनमार्फत नेपाल सरकारलाई कम्प्लेन गरेका हुन् ।

आईएचआरका नेपाल सम्पर्क व्यक्तिसमेत रहेका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले दैनिक कम्प्लेन आउन थालेको बताए । अहिलेसम्म अस्ट्रेलिया, जापान, सिंगापुर, हङकङ, कोरिया र खाडी मुलुकहरुबाट बढी कम्प्लेन आएको उनको भनाइ छ । ‘हाम्रो कोभिड—१९ जाँच प्रक्रियामा प्रश्न गर्न सुरु भएको छ,’ हेल्थआवाजसँग उनले भने, ‘कसको कमजोरीले हो । एकातिर देशको बदनाम हुन थालेको छ । अर्कोतिर हामीलाई झन्झट थपिएको छ ।’

आईएचआरले नेपाललाई ताकेता गरेसँगै नेपाल एयरलाइन्स र नागरिक उड्ययन प्रधिकरणसँग कुन—कुन ल्यावबाट परीक्षण गराएर गएकाहरुमा समस्या देखिएको छ तिनीहरुको तथ्यांक मागिएको उनले बताए । ‘हामीले तथ्यांक मागेका छौं र छलफलमा पनि बोलाएका छौं,’ डा. पाण्डेले भने, ‘समस्या पत्ता लगाएर समाधान चाडै निकाल्नुपर्छ नत्र अन्तर्राष्ट्रियस्तरमा ठूलो बेइज्जत हुन्छ ।’

नेपालमा कोभिड—१९ को पिसिआर परिक्षणमा फरक—फरक ल्यावले फरक—फरक रि—एजेन्ट प्रयोग गरेको र सोहीअनुसार पोजेटिभ र नेगेटिभ रिपोर्ट आउने हुदा समस्या भएको हुनसक्ने उनको भनाइ छ । ‘हाम्रो परीक्षण र बाहिरको परीक्षणको प्राविधीक पाटो फरक भएर पनि त्यसो भएको हुनसक्छ,’ उनले भने, ‘हाम्रोमा ३५ देखि ४० सिटी भ्यालुलाई पोजेटिभ मानेका छौं । त्यसमा फरक परेको हुनसक्छ ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ