२०८१ साउन ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचाररेम्डेसिभिर र प्लाज्माको साइड इफेक्ट अति कमः एनएचआरसी अध्ययन

रेम्डेसिभिर र प्लाज्माको साइड इफेक्ट अति कमः एनएचआरसी अध्ययन


काठमाडौं—कोरोना संक्रमण भएर गम्भीर भएका बिरामीहरुमा प्रयोग गरिएको एन्टीभाइरल औषधि रेम्डेसिभिर र प्लाज्मा थेरापीको साइड इफेक्ट अति कम देखिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद (एनएचारसी)ले गरेको अध्ययनको प्रारम्भिक रिपोर्टले देखाएको छ ।

परिषद्ले कोरोना संक्रमण भएर गम्भीर अवस्थामा पुगेका ३ सय ५५ जनामा रेम्डेसिभिरको अध्ययन गरेको थियो भने ९२ जनामा प्लाज्मा थेरापी दिएर अध्ययन गरेको थियो ।

अध्ययनमा संलग्न अध्ययनकर्ता जनक कोइरालाका अनुसार रेम्डेसिभिर दिइएका ५ प्रतिशतमा सामान्य साइड इफेक्ट देखिएको थियो । ती साइड इफेक्ट देखिएकाहरुमा औषधि सेवन छोडेसँगै समस्या आफै निर्मुल भएर गएका थिए ।

त्यसैगरी, प्लाज्मा दिइएका ९२ जनामध्ये २ जनामा साइड इफेक्ट देखिएको र पछि गएर उनीहरु पनि नर्मल अवस्थामा आएको कोइरालाले बताए । ‘रेम्डेसिभिरको प्रयोग गरेका ५ प्रतिशत र प्लाज्मा थेरापी दिइएका २ जनामा सामान्य साइड इफेक्ट देखिएको थियो,’ उनले हेल्थ आवाजसँग भने, ‘तर, औषधि छोडेपछि आफै सामान्य अवस्थामा आएको पाइयो ।’ रेम्डेसिभिरले कलेजो र मिर्गौलामा असर गर्न सक्ने बताइदै आएको छ ।

परिषदले दुवैको प्रारम्भिक रिपोर्ट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुझाइसकेको छ । उसले कोरोना संक्रमित भएर अस्पताल भर्ना भएर अक्सिजन लगाउनुपर्ने बिरामीमा अति उपयोगी भएको प्रारम्भिक रिपोर्टमा उल्लेख गरेको छ । त्यसैगरी अति गम्भीर अवस्था (भेन्टीलेटर)मा पुगेकाहरुलाई रेम्डेसिभिर र प्लाज्मा थेरापी दुवै दिदा फाइदा देखिएको समेत उल्लेख छ ।

प्रारम्भिक अध्ययनको प्रतिवेदन मन्त्रालयलाई बुझाएतापनि कति प्रतिशत सफल भएको भन्ने एनएचआरसीले बाहिर ल्याएको छैन । पहिले ३ सय ५५ को मात्र प्रारम्भिक रिपोर्टको अध्ययन मन्त्रालयलाई बुझाइएको र पछि १२ सय जनाको अध्ययन भइसकेको हुँदा पहिलेको रिपोर्ट सार्वजनिक नगरिएको एनएचआरसी स्रोतले जनाएको छ ।

‘पहिले थोरैको अध्ययन गरेर मन्त्रालयलाई रिपोर्ट बुझाइएको थियो,’ स्रोतले भन्यो, ‘अब १ हजार २ सयको अध्ययनको रिपोर्ट फरक आउन सक्छ । त्यही भएर सार्वजनिक नगरिएको हो ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ