२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा रगतको चरम अभाव

काठमाडौं उपत्यकामा रगतको चरम अभाव


काठमाडौं– नेपालमा यतिबेला रगतको अभाव भएको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीसँगै बिरामीको चाप बढ्नु र रक्तदानका कार्यक्रमहरु ठप्प हुनाले रगतको चरम अभाव भएको हो ।

सरकार र रेडक्रसले रगतको व्यवस्थापन गर्न नसक्दा रगतको अभाव देखिएको नेपाल स्वयंसेवी रक्तदाता समाजको केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्य बताउँछन् । ‘रगतको अभाव भएकै छैन,’ उनी भन्छन्, ‘सरकार र रेडक्रस लाचार हुँदा यो अवस्था आएको हो । सम्बन्धित निकायले बेवास्ता गरेका कारण रगतको अभाव देखिएको हो । तर, अहिले जति हाहाकार भएको छ, त्यति नै रगतको अभाव भएको छैन ।’

समाजले अहिले दैनिक २० देखि २५ जना बिरामीलाई रगत उपलब्ध गराइरहेको कर्माचार्य दाबी गर्छन् । ‘कतै रगत नपाएपछि अधिकांश मानिसहरु हामीसँग जोडिन आउनुहुन्छ,’ उनले भने, ‘हाम्रो सम्पर्कमा आएका मानिसलाई हामीले रित्तो फर्काउँदैनौं । हामीसँग हरेक रक्त समूहका २० देखि २५ जना रक्तदाताहरुको समूह छ । त्यसैले हामीले दैनिक देशभरका २० देखि २५ जना बिरामीलाई आवश्यकता अनुसार रगत उपलब्ध गराएका छौं ।’

रक्तसञ्चार केन्द्रका उप–महानिर्देशक डा. प्रकाश यादव कोभिड—१९ का कारण रक्तदान कार्यक्रम नभएका कारण रगतको अभाव सिर्जना भएको उनी बताउँछन् । ‘कोरोनाका कारण रक्तदान कार्यक्रम सञ्चालन गर्न अप्ठ्यारो परिरहेको छ,’ उनले भने, ‘तिहारमा करिव एक हप्ता रक्तदानका कार्यक्रम सञ्चालन भएनन्, त्यसैले गर्दा रगतको चरम अभाव देखिएको हो ।’

केन्द्रबाट हाल दैनिक ६० देखि ७० पिन्ट रगत खपत हुँदै आएको छ । कोभिड–१९ भन्दा अघिको सामान्य अवस्थामा ३ देखि ४ सय पिन्टसम्मको मागलाई पूर्ति गर्दै आएको केन्द्रमा अहिले कोभिडका कारण माग पनि कम भएको यादव बताउँछन् । ‘तिहारसँगै रगतको अभाव हुँदै आएकाले ६ मंसिरबाट रक्तदानका कार्यक्रम सुरु हुँदैछ,’ उनले भने, ‘त्यसपछि बिरामीले सहज तरिकाले रगत पाउँछन् ।’

कोरोनाका बिरामीका लागि प्रभावकारी मानिएको कन्भालेसेन्ट प्लाज्माको पनि अभाव भएको ब्लड ट्रान्सफ्युजन विशेषज्ञ डा. विपिन नेपाल बताउँछन् । ‘हाल प्लाज्माका लागि दैनिक २५ देखि ३० वटा प्लाज्माको माग छ,’ उनले भने, ‘कोरोना निको भएका मानिसहरु प्लाज्मा दान गर्न अघि नसर्दा दैनिक ४, ५ वटा प्लाज्मा मात्र उपलब्ध गराउन सकिएको छ ।’

नेपाल रेडक्रस सोसाइटी तदर्थ समितिका अध्यक्ष डा. नेत्रप्रसाद तिम्सिना कोभिड—१९ का कारण रगत संकलनमा समस्या भएको बताए । ‘कोभिड—१९ का कारण रगतको अभाव देखिएको छ । हामी रगतको अभाव कम गर्न र व्यवस्थापन पनि चुस्तदुरुस्त पार्र्न लागि रहेका छौं,’ उनले भने ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ