विराटनगर– विराटनगरस्थित न्यूरो अस्पतालले सञ्चालन गरेको कोभिड अस्पताल थप विस्तार गरिने भएको छ । कोरोना संक्रमितको चाप बढेपछि सरकारसँग अनुमति लिएर थप एक सय शैय्या विस्तार गर्ने तयारी गरेको हो ।
प्रदेश १ को राजधानी रहेको सहर विराटनगरमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दो क्रममा छ । पछिल्लो समय दैनिक एक सयभन्दा बढी संक्रमित थपिने गरेको छ । संक्रमित बढेपछि विराटनगरको कोभिड अस्पतालहरू भरिभराउ छन् । कतिपय संक्रमितले अस्पतालमा शैय्या नपाएर होम आइसोलनमा मृत्युबरण गरेका छन् ।
गत ११ भदौ देखि न्यूरोले संचालनमा ल्याएको कोभिड अस्पतालमा हालसम्म २ सय २४ जना बिरामी भर्ना गरि उपचार गरिएको छ । जसमध्ये १ सय ८१ जना संक्रमित निको भइ डिस्चार्ज भएका छन् भने ६५ जनाको सघन उपचार कक्षमा राखी उपचार भएको अस्पतालले जनाएको छ ।
प्रदेश नं १ मा निजी स्तरबाट पहिलो पटक सन्चालनमा ल्याइएको कोभिड अस्पतालले अहिले प्रदेश १ का मात्र नभई प्रदेश २ लगायत अन्य विभिन्न स्थानका लक्षण सहितका कोराना संक्रमित उपचारको लागि आउने गरेका छन् । ४२ वटा जनरल बेड, ७ वटा आइसियु तथा २ वटा भेन्टिलेटरबाट सेवाको सुरुवात गरिएको अस्पताललाई अब थप विस्तार गरिने योजना रहेको अस्पतालका कार्यकारी निर्देशक अनिशा बिष्टले बताइन् ।
संक्रमितको उपचार मात्र गर्दै आएको अस्पतालले गत ११ असोजदेखि अस्पताल परिसरमै कोराना परीक्षण गर्ने आर.टी. पीसीआर ल्याब पनि सञ्चालनमा ल्याएको छ ।
अस्पतालले कोरोना जाँचको रिपोर्ट ६ घण्टामै दिने व्यवस्था मिलाएपछि कोरोनाको उपचारमा थप सहज भएको छ । ‘अहिले संक्रमितको संख्या बढ्दो छ,’ अस्पतालका निर्देशक विष्टले भनिन्, ‘संक्रमितको उपचारको लागि थप सेवा विस्तारको योजनामा रहेका छौं ।’ अधिकांश संक्रमितहरूको अवस्था गम्भिर भएपछि मात्र अस्पतालमा उपचार लिन आउने हुँदा उपचारमा आइसीयु लगायत अन्य पुर्वाधारको कमी हुन नदिन लगानीको जोखिम हँुदा हँुदै पनि २० बेड आइसियु र २० बेड एचडियू थप्ने योजना रहेको छ । कोरोना बिरुद्धको लडाईमा कुनै कसुर बाँकी नराख्ने उनको भनाई छ । अस्पताल आउने संक्रमितहरू ४५ वर्ष भन्दा माथिका जटिल रोगहरु सहित आउने गरेको हुँदा आइसीयु र भेन्टिलेटरको कमी भएको छ ।