२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिड—१९ जस्ता आपतकालीन अवस्थामा बच्चालाई कसरी सुरक्षित रुपमा स्तनपान गराउने ?

कोभिड—१९ जस्ता आपतकालीन अवस्थामा बच्चालाई कसरी सुरक्षित रुपमा स्तनपान गराउने ?

संक्रमण वा कुनै कारणले आमाले बच्चालाई दुध खुवाउन नसके के गर्ने ?


बच्चालाई ६ महिनासम्म आमाको दुधमात्र खुवाउनु पर्छ । ६ महिना पुगेपछि थप खानासँगै दुई वर्षसम्म आमाको दुध छुटाउनु हुँदैन । कोभिड—१९ जस्ता आपतकालीन अवस्थामा बच्चालाई पहिले जसरी स्तनपान गराइरहेका थियौं, त्यसरी नै गराउनु पर्छ ।

आमा वा बच्चालाई कोरोना भाइरस लाग्दैमा स्तनपान गराउन छुटाउनु हुँदैन । यदि आमा अथवा बच्चा संक्रमित छ वा त्यस्तो कुनै लक्षण देखिएको छ भने झनै बढी स्तनपान गराउनु पर्छ । अहिलेसम्म जतिपनि अनुसन्धान भएका छन् । ती अनुसन्धानमा आमाको दुधबाट कोरोना सर्नसक्ने सम्भावना निकै कम देखिएको छ ।

कुनै पनि आमा जति भाइरस र ब्याक्टेररियासँग लडेर आएको हुन्छ, उसमा रोगसँग लड्ने क्षमता प्रचुर मात्रामा बनेको हुन्छ । जसले गर्दा त्यो शक्ति गर्भमा रहँदा रगतबाट बच्चामा जान्छ भने जन्मेपछि आमाको दुधबाट जान्छ । यदि आमालाई कोरोना भाइरस थियो वा अन्य भाइरस थियो वा छ भने पनि आमाको दुधबाट त्यो संक्रमण हुँदैन बरु त्यो संक्रमणसँग लड्ने क्षमता जान्छ । तसर्थ, आमा वा बच्चालाई कोरोना अथवा अन्य कुनै भाइरसको संक्रमण भएपनि पहिले जसरी नै पूर्ण रुपमा स्तनपान गराउनु पर्छ ।

आमालाई कोरोना संक्रमण भएमा शिशुलाई कसरी सुरक्षित रुपमा पूर्ण स्तनपान गराउने ?

अहिले जति पनि संक्रमित आमाहरु हुनुहुन्छ उहाँहरुमा मलाई कोरोना हुँदा मेरो बच्चालाई के हुन्छ भन्ने अन्योल र डर छ । तर, अहिलेसम्म बालबालिकालाई कोरोनाले त्यति धेरै प्रभावित गरेको छैन । ६ महिनाभन्दा कम उमेरको बच्चामा कोरोना लागेको भएपनि कुनै लक्षण देखिएको छैन । त्यसैले यदि आमालाई कोरोना संक्रमण भएको भएपनि बच्चालाई दुध खुवाउन घटाउनु हुँदैन र आमाले खाने कुरामा अझै बढी जोड दिनुपर्छ ।

संक्रमणका बेला बच्चालाई स्तनपान गराउँदा ध्यान दिनुपर्ने कुराहरु ?

  • सरसफाइमा विशेष ध्यान दिने
  • आमाले बच्चालाई दुध खुवाउनुभन्दा पहिले मास्क लगाउने
  • पटक—पटक स्यानिटाइजरले हात सफा गर्ने अथवा साबुन पानीले २० सेकेण्डसम्म मिचीमिची हात धुने
  • धेरै पारिवारिक भिडभाड नगर्ने
  • पोषणयुक्त खानेकुराहरु खाने (जस्तैः गाउघरमै पाइने फलफूल, कम्तीमा पनि हप्तामा तीन पटक माछा मासु खाने, उसिनेको अण्डा खाने, हरिया तरकारीहरु र झोलयुक्त खानेकुरामा जोड दिने ।)

संक्रमण वा कुनै कारणले आमाले बच्चालाई दुध खुवाउन नसके के गर्ने ?

यस्तो अवस्थामा दुध निचोरेर चम्चाबाट बच्चालाई खुवाउन सकिन्छ । तर, दूध निचोर्दा व्यक्तिगत सरसफाइ, भाँडा, खुवाउने कप, चम्चाको सरसफाइमा विशेष ध्यान दिनु पर्दछ । आमाको दूध निचोरेर पनि खुवाउन सम्भव नभएमा, स्तनपान गराइरहेका अन्य आमालाई दूध खुवाउन अनुरोध गर्न सकिन्छ ।

प्रस्तुतीः चन्द्रा कँडेल


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ