काठमाडौं—सरकारी छात्रवृत्तिमा विशेषज्ञ पढेका केही चिकित्सकहरु अहिलेसम्म पनि खटाएको ठाउँमा नगएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कारवाही गर्ने तयारी गरेको छ । मंगलबार एक सूचना प्रकाशित गर्दै मन्त्रालयले पाँच दिन भित्र मन्त्रालयले तोकेको अस्पतालमा गएर हाजिर नगरे कारवाही गर्ने चेतावनी दिएको हो ।
स्वास्थ्य मन्त्रालयसँग कबुलियतनामा गरेर चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एमडी÷एमएस र एमडीएसमा छात्रवृत्तिमा विशेषज्ञता अध्ययन हुने गरेको छ ।
छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकहरु विशेषज्ञता अध्ययन सकिएपछि मन्त्रालयसँग भएको सम्झौताअनुसार खटाएको अस्पतालमा गएर सेवा गर्नुपर्छ । तर, केही चिकित्सक मन्त्रालयले खटाएको अस्पतालमा नगएपछि मन्त्रालयले सार्वजनिक सूचना नै जारी गरेको हो ।
‘सरकारी शिक्षण संस्थाहरुमा चिकित्साशास्त्र छात्रवृत्ति छनोट तथा छात्रवृत्ति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधी, २०७२ को दफा ६ (१) को प्रावधानअनुसार यस मन्त्रालय समक्ष कबुलियतनामा गरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान महावौद्ध काठमाडौं, त्रिवि शिक्षण अध्ययन संस्थान महाराजगन्ज क्याम्पस महाराजगन्ज, काठमाडौं, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एमडी/एमएस/एमडीएसमा अध्ययन सम्पन्न गरे पश्चात कबुलियतनामा बमोजिम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालमा खटाएकोमा हालसम्म खटाएको स्थानमा हाजिर नभएका चिकित्सकहरुले ५ (पाँच) दिनभित्र खटाइएको अस्पतालमा हाजिर हुन जानु हुन अन्यथा नेपाल सरकारको तर्फबाट भएको लगानी असुल उपर गर्ने तर्फको कानुन बमोजिक कारवाही प्रक्रिया अगाडि बढाइने ब्यवहोरा जानकारी गराइन्छ,’ मन्त्रालयले जारी गरेको सूचनामा भनेको छ ।
