२०८१ वैशाख २०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य मन्त्रालयमा बस्ने ठाउँ नभएकाे भन्दै सह–सचिवलाई १५ दिने बिदा

स्वास्थ्य मन्त्रालयमा बस्ने ठाउँ नभएकाे भन्दै सह–सचिवलाई १५ दिने बिदा


काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक सह–सचिवलाई बस्ने ठाउँ नभएपछि १५ दिने बिदा दिइएको छ । स्वास्थ्य सचिव लक्ष्मण अर्यालले सह–सचिव (एघारौं तह) डा. राधिका थपलियालाई बस्ने ठाउँ अभाव भएको भन्दै १५ दिनको बिदा स्विकृत गरिदिएका छन् ।

डा. थपलियाले आफूलाई आउनका लागि साधन नभएको र मन्त्रालयमा बस्ने र काम गर्ने वातावरण नभएको भन्दै १५ दिनको बिदा दिन माग गरेकी थिइन् । सचिव अर्यालले काम गर्ने वातावरण मिलाउन र बस्ने ठाउँको व्यवस्थापन गर्नुको साटो उनको बिदा स्वीकृत गरिदिएका हुन् ।

कोभिड महामारीको विषम परिस्थितीमा स्वास्थ्य शिक्षा समूहको एघारौं तहको कर्मचारीलाई काममा खटाउनुको साटो बिदा दिएर स्वास्थ्य मन्त्रालय नेतृत्वले गैर–जिम्मेवारीपन प्रस्तूत गरेको छ ।

थपलियालाई यसअघि पनि २ वर्षसम्म जिम्मेवारबिहिन बनाइएको थियो । जिम्मेवारबिहिन उनलाई ४ महिनाअघि स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी तोकिएको थियो ।

तर, अघिल्लो महिना खुला प्रतिस्पर्धाबाट नयाँ कार्यकारी निर्देशकको रुपमा डा. दामोदर बसौला आएपछि उनलाई मन्त्रालयमा हाजिरी गराइएको थियो । हाजिर गराइएतापनि कुनैपनि जिम्मेवारी नतोकिएको र बस्ने ठाउँको समेत व्यवस्था नभएको भन्दै उनले बिदा माग गरेकी थिइन् ।

डा. थपलियालाई बिदामा राखिएको विषयमा उनको बिदा स्वीकृत गर्ने स्वास्थ्य सचिव लक्ष्मण अर्याललाई सम्पर्क गर्दा उनी सम्पर्कमा आएनन् ।

यसबारेमा जिज्ञासा राख्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अस्तिसम्म जिम्मेवारीमै रहेको आफूले थाहा पाएको दाबी गरे । ‘उहाँ अस्तिसम्म जिम्मेवारीमै हुनुहुन्थ्यो,’ उनले भने, ‘अहिले ठ्याक्कै के भएको हो मलाई थाहा छैन बुझेर भनौंला ।’

कर्मचारी प्रशासन महाशाखाका प्रमुख दामोदर रेग्मीले डा. थपलियामात्र नभएर अन्य ११ औं तहका अन्य ४÷५ जना कर्मचारीको पनि महाशाखा नतोकिएको बताए । ‘जिम्मेवारीका हिसाबले सबैलाई केहि न केहि त छ तर महाशाखा नतोकिएको मात्रै हो,’ उनले भने, ‘चाँडै नै सबैको व्यवस्थापन हुने तयारीमा छ ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ