२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २नारायणी अस्थायी कोभिड अस्पतालमा खटिएका १२ जना कर्मचारीलाई न तलब न भत्ता

नारायणी अस्थायी कोभिड अस्पतालमा खटिएका १२ जना कर्मचारीलाई न तलब न भत्ता


काठमाडौं– वीरगन्जस्थित नारायणी अस्थायी कोभिड अस्पतालमा खटिएका १२ जना कर्मचारीले काम गरेबापतको तलब तथा भत्ता पाएका छैनन् । साउनदेखि असोजसम्म कोभिड अस्पतालमा खटिएका २ जना चिकित्सक, ९ जना नर्स तथा प्यारामेडिक्स र १ जना सफाई कर्मचारीसहित १२ जनाले तलब तथा भत्ता नपाएका हुन् ।

वीरगन्ज महानगरपालिकासँगको सम्झौताअनुसार कोभिड अस्पतालमा खटाइएका कर्मचारीले महानगरकै गैरजिम्मेवारीका कारण तलब तथा भत्ता नपाएको गुनासो गरेका छन् । महानगरपालिकाले वीरगन्जको गण्डकको अस्पतालसँग सम्झौता गरेको थियो । जसमा कोभिड—१९ अस्पतालको आर्थिक भार महानगरपालिकाले व्यहोर्ने र व्यवस्थापकीय पक्ष नारायणी अस्पतालले हेर्ने सम्झौता भएको थियो । त्यो बेला नारायणी अस्पताल मातहत नै गण्डक अस्पताललाई अस्थायी कोभिड अस्पताल बनाइएको थियो ।

यसैगरी, जेठको पहिलो साता स्वास्थ्य सेवा विभागका महाननिर्देशकको उपस्थितीमा थप निर्णय भएको थियो । जसमा जनशक्ति अभाव भएको अवस्थामा ५० प्रतिशत नारायणी अस्पतालले दिने र ५० प्रतिशत निजी अस्पतालबाट भर्ती गर्ने निर्णय भएको थियो । सोही अनुसार निजीबाट थप १२ जना करारका कर्मचारी ल्याइएको तत्कालीन कोभिड फोकल पर्सन डा. उदय सिंहले बताए । ‘त्यतिबेला विज्ञापन गर्ने समय थिएन,’ उनले भने, ‘सर्ट नोटिसका आधारमा कर्मचारी ल्याइएको थियो ।’ उनीहरुले साउनदेखि असोजसम्म काम गरेका थिए ।

महानगरपालिकाका प्रशासकीय प्रमुख प्रदीपकुमार निरौला भने कर्मचारीले तलब भत्ता नपाएको कुरा आफूहरु कहाँ नआएको बताए । ‘महानगरपालिकामा अहिलेसम्म तलबभत्ता नपाएको कुरा आएको छैन,’ उनले भने, ‘हामीले गण्डक अस्पताललाई अनुदानबापतको रकम दिइसकेका छौं । अस्पतालले नै कर्मचारीको तलब भत्ता भुक्तानी गर्ने हो ।’

यस्तै, नारायणी अस्पतालबाट कोरोना बिरामीको उपचारमा खटिएका चिकित्सक, नर्स र कर्मचारीले समेत भत्ता नपाएको डा.सिंहले बताए । ‘नारायणी अस्पतालका चिकित्सक नर्स तथा कर्मचारीले समेत कोभिड संक्रमितको उपचारमा खटिएबापतको जोखिम भत्ता पाएका छैनन्,’ उनले भने, ‘अब भने प्रक्रिया सुरु गरिएको छ ।’


क्याटेगोरी : प्रदेश २, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ