२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रतिष्ठानको बहु-वर्षीय आयोजना निर्माण गर्न अर्थ मन्त्रालयको सहमति

प्रतिष्ठानको बहु-वर्षीय आयोजना निर्माण गर्न अर्थ मन्त्रालयको सहमति


जुम्ला—लामो पहलपछि अर्थ मन्त्रालयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको बहुवर्षीय योजना निर्माणका लागि करोडौं बजेट स्वीकृती गरेको छ । प्रतिष्ठानको बहुवर्षीय गुरुयोजनाअनुसार शिक्षक तथा कर्मचारी आवास, शैक्षिक भवनलगायतका विभिन्न कार्यक्रमका लागि पूर्वाधार निर्माण गर्न अर्थ मन्त्रलायले बजेट स्वीकृत गरेको हो ।

राष्ट्रिय योजना आयोगले प्रस्ताव गरेको ६८ करोड बजेटमा अर्थ मन्त्रालयले सहमति दिएको कर्णाली प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले बताए । रजिस्ट्रार काफ्लेका अनुसार कुल बजेटमध्ये ४४ करोड अर्थ मन्त्रालयबाट र २४ करोड बजेट प्रतिष्ठानले बेहोर्ने गरी कुल ६८ करोड बजेटको स्वीकृती दिएको छ ।

रजिस्ट्रार काफ्लेले भने, ‘सिनेट सभाको छैटौं र सातौं बैठकबाट स्वीकृत बहुवर्षीय गुरुयोजनाअन्तर्गत पहिलो चरणको शिक्षक र कर्मचारी आवास, प्रतिष्ठानदेखि च्यारे चौरसम्मको सडक र च्यारे चौरमा बेसिक साइन्स भवन बनाउनका लागि आवश्यक ६८ करोड बजेटका लागि अर्थले सहमति दिएको हो ।’ विगत तीन वर्ष देखिको अथक प्रयास स्वास्थ्य मन्त्रालय, राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयको सहयोगका कारण सफल भएको उनको भनाइ छ ।

प्रतिष्ठानको सभाबाट २०६९ सालमा ३ अर्ब ५८ करोडको बहुवर्षीय गुरुयोजना अघि सारिएको थियो । पहिलो चरणमा १ अर्बको लागतमा ३ सय शैय्याको अत्याधुनिक अस्पताल भवन निर्माण भएको थियो । अब स्वीकृत हुने क्रममा रहेको दोस्रो चरणको ६८ करोड बजेटले शिक्षक तथा कर्मचारी आवास भवन तथा बेसिक साइन्स भवन निर्माण गरिनेछ ।

प्रतिष्ठानले यस वर्षदेखि विशेषज्ञ चिकित्सकका लागि अध्यापन सुरु गरेको छ । यसै वर्षदेखि ३ सिट एमडिजिपी, १ एनेस्थेसिया र १ बालरोग विषय गरी कुल ५ सिटमा पोस्ट ग्राजुएट्स तहको पढाइ सञ्चालन गर्दैछ भने हेल्थ असिस्टेन्ट, ब्याचलर नर्सिङ, ब्याचलर अफ मिडवाइफ्री, व्याचलर अफ पब्लिक हेल्थलगायतका विषयमा कक्षा सञ्चालन गरिरहेको छ । त्यस्तै, एमबीबीएस कक्षा सञ्चालनका लागि समेत आवश्यक प्रक्रिया अघि बढिसकेका छन् ।

रजिस्ट्रार काफ्लेले चिकित्सा शिक्षा आयोगले एमबीबीएसका लागि सम्भाव्यता अध्ययनका लागि छिटै नै एक टोली जुम्ला आउन लागेको बताए । प्रतिष्ठानले पछिल्लो समय कर्णालीसहित अन्य प्रदेशका विभिन्न जिल्ला तथा प्रदेश अस्पतालसँंग समन्वय गरी आफ्ना जनशक्ति पठाइ स्वास्थ्य सेवा उपलब्ध गराउन थालेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ