२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआधारभूत अस्पतालको निर्माण कार्य र बजेट वितरणको काम अगाडि नबढाउन स्वास्थ्यमन्त्रीको निर्देशन

आधारभूत अस्पतालको निर्माण कार्य र बजेट वितरणको काम अगाडि नबढाउन स्वास्थ्यमन्त्रीको निर्देशन


काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले हरेक पालिकामा बन्न लागेका आधारभूत अस्पतालको निर्माण कार्य केही समय अघि नबढाउन निर्देशन दिएका छन् । जग्गा प्राप्ति र शिलन्यासमा धेरै स्थानमा विवाद देखिएका कारण एकिन विवरण संकलन गरेर मात्रै निर्माणको काम अगाडि बढाउन निर्देशन दिएका हुन् ।

तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालले गत १५ मंसिरमा एकै पटक ३९६ आधारभूत अस्पताल ५, १० र १५ वेडको शिलान्यास भएको घोषणा गरेका थिए । ३९६ आधारभूत अस्पतालमध्ये १२२ मात्र निर्माण प्रक्रियामा गएका छन् । जनप्रतिनिधिबीचको विवादले अधिकांश अवरुद्ध भएका छन् ।

स्थानीय तहमै देखिएको विवादका कारण ९० अस्पतालको शिलान्यास हुन सकेको छैन । मन्त्री त्रिपाठीले आफूसँग पनि केही गुनासाहरु आएको बताए । ‘स्थानीय तहमा शिलान्यास गर्नेमै होडबाजी चलेको छ,’ मन्त्री त्रिपाठीले भने, ‘यस्ता घटनाको एकिन विवरण नलिइकन अरु निर्माणको काम अगाडि बढाउन उचित हुँदैन ।’

‘प्रत्येक पालिकामा आधारभूत अस्पताल निर्माण गर्नु आफैमा क्रान्तिकारी काम हो । यो कसैले लोकप्रियताका लागि नभएर जनताका लागि ल्याइएको कार्यक्रम हो,’ उनले भने, ‘जग्गादेखि भवन निर्माणमा देखिएको विवादमा संघीय सरकार आफैले हस्तक्षेपकारी भूमिका निभाएर निर्माणलाई अगाडि बढाउनु पर्छ ।’

आधारभूत अस्पताल निर्माणको कार्यक्रम सार्वजनिक र त्यसका लागि बजेट सार्वजनिक मात्रै गर्नु उपलब्धि नभएको उनले भनाइ थियो । ‘जबसम्म कार्यक्रम अगाडि बढ्दैन्, तबसम्म आर्थिक अनियमितताको डर रहिरहन्छ । त्यसैले भवनको विषयमा कुरा नमिली रकम पठाउनु उचित हुँदैन्,’ मन्त्री त्रिपाठीले भने ।

उनले बेरुजुहरुको अवस्था र त्यसमाथि हुने छलफलका बारेमा पनि उच्च अधिकारीहरुसँग चासो राखेका छन् । ‘आर्थिक अनुशासनसँग प्रत्यक्ष जोडिएको विषय हो । आर्थिक अनुशासनमा विश्रृंखलता आयो भने जति राम्रो काम गरेपनि मेरो नजरमा राम्रो मानिदैन्,’ उनले थपे । मन्त्री त्रिपाठीले आर्थिक अनुशासनहिनता र वित्तीय अनुशासनहिनतालाई क्षमा गर्न नसक्ने बताउँदैं आफ्नो कार्यकालमा खरिद प्रक्रिया पूर्ण पारदर्शी हुने समेत बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ