काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी नेकपाको फुटको असर नेकपा निकट स्वास्थ्यकर्मीको पनि देखा परेको छ । सोमबार ओली पक्षका स्वास्थ्यकर्मीहरुले बेग्लै भेला गरेसँगै नेकपा फुटको असर नेकपा निकट स्वास्थ्यकर्मीमा पनि देखा परेको हो ।
नेकपाको स्वास्थ्य विभागकी उप–प्रमुख सुजिता शाक्यको नेतृत्वमा काठमाडौंको विनायकनगरस्थित मदन भण्डारी मेमोरियल कलेजमा प्रशिक्षण भैरहेको छ । भेलाको प्रमुख अतिथि परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले सम्बोधन गरेका छन् ।
सो भेलामा पूर्व एमाले समर्थक ओली समूहका स्वास्थ्यकर्मीहरुको बाक्लो उपस्थिती रहेको छ । भेलामा मेडिकल काउन्सिलका रजिष्टार समेत रहेका डा. कृष्ण अधिकारी, सदस्य डा. प्रेनित पोखरेल, भानुभक्त ढकाल स्वाथ्यमन्त्री रहँदा विज्ञ सल्लाकार रहेका डा. खेम कार्की, प्रा.डा. विधाननिधी पौडेल लगायतका चिकित्सकहरु भेलामा उपस्थित भएका छन् ।
नेकपा निकट स्वास्थ्यकर्मी संगठनका अध्यक्ष भक्ति सुब्बा भने उपस्थित छैनन् । तर, कार्यक्रममा उपाध्यक्षहरु रामहरी ढकाल, रामबहादुर चन्द, जगत नेपालीको उपस्थिती रहेको छ । त्यसैगरी नर्स तर्फ प्राध्यापक तारा पोखरेल, प्राध्यापक प्रमिला देवान, नर्सिङ संघका वरिष्ठ उपाध्यक्ष रमेश सुब्बा लगायतको उपस्थित छ ।