विराटनगर—सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस इन्टर्न गरिरहेका एक जना विद्यार्थीले होस्टेलको झ्याल ढोका तोडफोड गरेपछि निष्कासनमा परेका छन् ।
प्रतिष्ठान प्रशासनले विराटनगर १३ घर भएका २६ वर्षीय रोशन यादवलाई होस्टेलबाट निष्कासन गर्ने निर्णय गरेको हो ।
आइतबार राति यादव र उनका साथी सप्तरीको त्रिकोल गाउँपालिका ४ का २७ वर्षीय केशव यादव मदिराको नशामा लठ्ठिएर सोमबार होस्टेलको ढाका र झ्यालको सीसा तोडफोड गरेको आरोपमा इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको थियो । पक्राउ परेका दुवै जनालाई इप्रका धरानले सुनसरी प्रशासनमा सोमबार अभद्र व्यवहारको मुद्दामा म्याद थप गरेर अनुसन्धान गरिरहेको डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।
रोशन विपी प्रतिष्ठानमा एमबीबीएस इन्टर्न विद्यार्थी हुन् । केशव उनका मिल्ने साथी भएकोले होस्टेलमा ल्याएर राखेका थिए ।
मदिरा सेवन गरि होस्टेलको झ्याल ढोका तोडफोड गरेपछि एमबीबीएसमा इन्टर्न गरिरहेका रोशनलाई होस्टलबाट निष्कासन गरिएको प्रतिष्ठानका होस्टेल वार्डेन डा. इन्द्र लिम्बुले जानकारी दिए । उनका अनुसार मादक पदार्थ सेवन गरी रोशन र उनका साथीले १ नम्बर ब्वाइज होस्टेलका झ्याल ढोका तोडफोड गरेको बताए । ‘मदिरा सेवन गरेर झ्याल ढोका फोरेपछि होस्टेलमा बसेका अन्य विद्यार्थीहरू माथि पनि अपशब्द प्रयोग गर्दै जथाभावी बोलेर धाकधम्की दिएपछि प्रहरी बोलाएर पक्राउ गरिएको हो,’ उनले भने, ‘रोशनलाई होस्टेलमा बस्न नपाउने गरी सोमबारदेखि निष्कासनको कारबाही गरिएको छ ।’
होस्टेलबाट रोशन निष्कासनमा परेपछि अब एमबीबीएस इन्टर्नसीप बाहिर बसेर गर्नुपर्ने भएको छ । ‘बदमासी गर्ने विद्यार्थीलाई होस्टेलमा राख्न सकिन्न,’ होस्टेल वार्डेन लिम्बुले भने, ‘होस्टेलको आफ्नै नियम हुन्छ । नियम पालना गरी अनुशासनमा रहेर अध्ययन गर्ने विद्यार्थीहरूलाई मात्र यहाँ राख्न सकिन्छ ।’
वाइज होस्टेलको आइतबार रात्रीकालीन ड्युटीमा खट्ने गार्डलाई समेत स्पष्टीकरण सोधिएको छ । प्रतिष्ठानको विद्यार्थी बस्ने होस्टेलमा गैरविद्यार्थी वा अन्य व्यक्ति प्रवेशमा प्रतिबन्ध गरिएको छ । गैरविद्यार्थी प्रतिबन्ध हुँदा पनि केशव यादव कसरी रोशनसँग होस्टेलमा प्रवेश गरेर मादक पदार्थ सेवन गरी तोडफोड गरे यो प्रश्नको जवाफ वार्डेन र सुरक्षा गार्डसँग प्रतिष्ठानले माग बुझिएको छ । यहाँ भिआईपी सेक्युरिटी कम्पनी प्रालिका सुरक्षा गार्ड राखिएको छ ।