२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १धरानको ल्याबमा ‘एडीए’ जाँचमा मनपरी शुल्क, १५ सयदेखि २५ सयसम्म परीक्षण शुल्क

धरानको ल्याबमा ‘एडीए’ जाँचमा मनपरी शुल्क, १५ सयदेखि २५ सयसम्म परीक्षण शुल्क


विराटनगर—सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेट अगाडिका ल्यावहरूले मनपरी शुल्क लिएर क्षयरोग भए÷नभएको पत्ता लगाउन गरिने परीक्षण ‘एडीए’ जाँचमा ठगी गर्ने गरेको पाइएको छ ।

यहाँ रहेको ल्याबैपिच्छे फरक मूल्य लिएर बिरामीका आफन्तसँग ठगी गर्ने गरेको भेटिएको हो । ल्याबहरुको मूल्यमा एक रूपता नहुँदा बिरामीहरू मर्कामा परेका छन् । मूल्यमा एकरूपता नहुँदा विपी प्रतिष्ठानको गेट अगाडिको ल्याबहरुले तोकिएको मनपरी शुल्क तिर्न बिरामीका आफन्त बाध्य भएका छन् । बिर्तामोड डाइग्नोष्टिक सेन्टर पोलिक्लिनिकले एडीए जाँचमा २ हजार ५ सय र सप्तकोशी डाइग्नोष्टिक सेन्टरले एक हजार ५० रुपैयाँ लिएको पाइएको छ । विपी प्रतिष्ठानभित्र एडीएको जाँच नहुने भएपछि बाहिरका ल्याव सेन्टरले मनोमानी शुल्क लिने गरेको हो ।

जसका कारणले बिरामी तथा बिरामीका आफन्तहरू कति शुल्क तिर्नुपर्ने हो भन्ने अन्योलमा पर्ने गरेका छन् । मोरङ उर्लावारी नगरपालिका–२ का चन्द्रबहादुर बरालले ‘एडीए’को जाँच गराउँदा दुवै ल्याव सेण्टरमा फरक—फरक शुल्क लिएको बताए । सप्तकोशीले भन्दा १४ सय ५० रुपैयाँ बढी लिएको उनले बताए ।

बरालको मिर्गौलामा समस्या भएर प्रतिष्ठानमा पुस २३ गते भर्ना भएका थिए । छातीमा पानी जमेपछि चिकित्सकले ‘एडीए’ जाँच गर्न भनेका थिए । सोहीअनुरूप प्रतिष्ठान भित्र परीक्षण नहुने भएपछि क्याम्प गेटका ल्याव सेन्टरमा पुग्दा फरक–फरक शुल्क लिएको बिरामीका भाइ रेवत बरालले बताए ।

एडीएले क्षयरोग भए नभएको पत्ता लगाउँछ । रेवतले पहिलो पटक सप्तकोशी डाइनोष्टिक सेन्टरबाट १ हजार ५० रुपैयाँमा एडीए परीक्षण गरेको भएपनि पुनः परीक्षण गर्दा बिर्तामोडले २५ सय रुपैयाँ लिएको बताए । ‘यहाँका ल्याबै पिच्छे एडीएको परीक्षणको फरक—फरक मूल्य रहेको पाइयो,’ उनले भने, ‘फरक–फरक मूल्य कायम गर्दा बिरामीका आफन्तलाई मार परेको छ ।’ ल्याबले लिने मनपरी शुल्कको विषयमा नियमकारी निकायले अनुगमन गरी शुल्कमा एकरूपता कायम गरिनुपर्ने बिरामीका आफन्तहरुको माग रहेको छ ।

बिर्तामोडका सञ्चालक नरेन्द्र देवले आफूहरूले लकडाउनका बेला महंगो मूल्यमा ‘एडीएको रिएजेण्ट’ ल्याएकाले २५ सय रुपैयाँ लिएको बताए । ‘मोटरसाइकलमा काँकडभिट्टा पठाएर भारतबाट रिएजेण्ट ल्यायौं, त्यो बेला महँगो थियो,’ उनले भने, ‘त्यही भएर अलिक मंहगो हुन पुग्यो ।’


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ