२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १‘लाइफ सेभिङ’ औषधि सहज उपलब्ध गराउन माग राख्दै विभागका महानिर्देशकलाई संघको ध्यानाकर्षण

‘लाइफ सेभिङ’ औषधि सहज उपलब्ध गराउन माग राख्दै विभागका महानिर्देशकलाई संघको ध्यानाकर्षण


विराटनगर—नेपाल औषधि व्यवसायी संघ मोरङ शाखाले औषधि व्यवस्था विभागमै दर्ता भएका लाइफ सेभिङ औषधि सहज उपलब्ध गराउन माग राख्दै विभागमा ध्यानाकर्षण पत्र बुझाएको छ ।

संघका अध्यक्ष लक्ष्मी तिम्सिना र उपाध्यक्ष देशबन्धु ढकाल काठमाडौं पुगेर नेपाल औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराई भेटेर यस्तो माग राख्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

लाइभ सेभिङ औषधि सहज उपलब्ध नहुँदा बिरामीको मृत्युसम्म हुन सक्ने भएकोले सहज आपूर्ति गराउनुपर्ने संघको माग छ ।

‘नेपालमा सूचीकृत नभएका तर मानव जीवन बचाउन अत्यावश्यक पर्ने केही औषधि अहिले पनि कालो बजारीको माध्यमबाट बिक्री वितरण भइरहेको छ । त्यसबाट मानिस मृत्युवरण गर्नबाट बाँचिरहेको अवस्थामा पनि हो । त्यस्ता औषधिलाई यहाँको कार्यकालमा कालो बजारीको माध्यमबाट नभएर व्यवस्थित गरी सबै औषधि व्यवसायीले आधिकारिक रुपमा सहज विक्री वितरण गर्ने अवस्था सिर्जना गर्न नेपाल औषधि व्यवसायी संघ मोरङको माग गर्दछ,’ संघले बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

यस्तै संघले पोषणयुक्त खाद्यान्न बनाउने (न्यूट्रासिटिकल) सामाग्री ठूला आयातकर्ताले ल्याउँदा केही नगर्ने तर साना औषधि पसलहरुमा राखेर विक्री वितरण गर्दा विभागले कार्वाही गर्ने प्रवृतिको अन्त्य गरिनुपर्ने माग राखेका छन् । पोषणयुक्त खाद्यान्न सामाग्री आयात गर्ने मुल्य र बिक्री गर्ने मुल्यको अन्तर धेरै भइरहेकोले उपभोक्ता मारमा परिरहेकोले त्यसलाई नियन्त्रण गर्न र औषधिको मुल्यलाई एकरुपता कायम विभागले गराउनुपर्ने बताइएको छ ।

‘भारतसँग सिमाना जोडिएको मोरङको दक्षिण क्षेत्रदेखि प्रतिबन्धित तथा नेपालमा सहज रुपमा विक्री वितरण भइरहेका औषधिहरु समेत तस्करी हुने गरेको छ । तर, तस्करीका औषधि र भरिया फेला परेपनि तस्करी गर्ने व्यक्ति तथा गिरोहहरु पक्राउ नपर्नुले इमान्दारीका साथ व्यवसाय गर्ने आम औषधि व्यवसायीहरु मर्कामा परेका छन् । त्यसैले, औषधिको तस्करी गर्ने जुनसुकै व्यक्ति तथा गिरोहमाथि कडा कार्वाही गरे औषधि व्यवसायलाई मर्यादित र व्यवस्थित गराउन यहाँको ध्यानाकर्षण गराउन चाहान्छौं,’ संघले बुझाएको पत्रमा उल्लेख छ ।

संघले औषधि व्यवस्था विभागमा नयाँ आएका महानिर्देशक भरत भट्टराईलाई भेटेर स्वागत सम्मान पनि गरेको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ