२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्य‘क्यान्सर रोगलाई न्यूनीकरण गर्न निजी र सरकारी क्षेत्र हातेमालो गरेर अघि बढ्नुपर्ने’

‘क्यान्सर रोगलाई न्यूनीकरण गर्न निजी र सरकारी क्षेत्र हातेमालो गरेर अघि बढ्नुपर्ने’


झापा – विश्व क्यान्सर दिवसको अवसरमा पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोड र बीरता लेडी जेसीजले संयुक्त रुपले  ‘क्यान्सर रोकथाम तथा नियन्त्रणमा सरोकारवाला निकायको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । बिहीबार आयोजित सो कार्यक्रममा सहभागीहरुले निजी र सरकारी क्षेत्र हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए।

उक्त अन्तरक्रिया कार्यक्रममा क्यान्सरविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, वातावरण स्वच्छताको विषयमा कार्यक्रम सञ्चालन गर्ने, क्यान्सर रोगविरुद्धको विषयमा प्रचारप्रसार गर्ने, पूर्वाञ्चल क्यान्सर अस्पतालसँग मिलेर स्वास्थ्य शिविर सञ्चालन गर्ने र झापामा क्यान्सर रोगीको संख्या न्यून बनाउन सबैसँग हातेमालो गर्दै अगाडि बढ्ने लगायतका कार्यहरुको छलफल भएको छ ।

यस्तै,  विश्वमा क्यान्सर बिरामीको संख्या दिनप्रतिदिन बढ्दै गएको र नेपाल जस्तो देशमा समेत क्यान्सर रोगको अवस्था भयावह बन्दै गएको चिकित्सकहरुले बताएका छन् ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालयका अधिकृत जीवन चम्लागाँईले झापामा क्यान्सर रोगीको अवस्था दिनप्रतिदिन बढ्दै गएको र देशकै उच्च संख्यामा क्यान्सर रोगी झापामा रहेको तथ्यांक प्रस्तुत गरे । उनले गत आर्थिक बर्ष २०७६-०७७मा १३ सय २१ जनाले क्यान्सर रोगको उपचारका लागि सिफारिस लिएको बताए । उनले सिफारिस नलिने क्यान्सर रोगी पनि धेरै रहेकाले यसको यकिन तथ्यांक भने आउन नसकेको उल्लेख गरे । क्यान्सर रोगविरुद्ध सचेतना नै मुख्य विषय बन्ने उनले बताए ।

यता, बिर्तामोड नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तुलसी पोखरेलले बिर्तामोडको वातावरण स्वच्छताको विषयमा अस्पतालसँग मिलेर कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाए । उनले क्यान्सर रोगविरुद्धका निःशुल्क स्वास्थ्य शिविरका कार्यक्रमलाई समेत प्राथमिकता राख्ने उल्लेख गरे ।

नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटाले झापामा क्यान्सर रोग दिनप्रतिदिन बढ्दै जानु राम्रो संकेत नभएको उल्लेख गरे । उनले स्थानीय तहलाई कानून बनाएर क्यान्सर रोग लाग्ने मादक पदार्थ, सूर्तीजन्य पदार्थ निषेधित क्षेत्र घोषणा गर्न आग्रह गरे । उनले सञ्चार जगतले स्वास्थ्यका विषयलाई प्राथमिकताका साथ प्रचारप्रसार गर्ने प्रतिबद्धता समेत जाहेर गरे ।

वीरता लेडी जेसीजकी अध्यक्ष स्वस्तिका आचार्यले झापामा पाठेघरको क्यान्सर र स्तन क्यान्सरका विरामी धेरै रहेकाले महिला केन्द्रित सचेतनामूलक कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धता जनाइन् ।

रोट्याक मिडटाउन बिर्तामोडकी भाइस प्रेसिडेन्ट सालू कोइरालाले पूर्वाञ्चल क्यान्सर अस्पतालसँग सहकार्य गर्दै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने बताइन। उनले महिलाहरुले रोगलाई लुकाउने गरेका कारण पाठेघर र स्तनका क्यान्सरका बिरामी बढेको र उनीहरुलाई सचेतनाको आवश्यकता रहेको उल्लेख गरिन् ।

कार्यक्रममा पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा. वीरेन्द्रप्रसाद यादवले पूर्वाञ्चल क्यान्सर अस्पतालमा एक बर्षको अवधिमा उपचारका लागि आएका बिरामीको अवस्था र तथ्यांक प्रस्तुत गरेका थिए । झापामा दिनप्रतिदिन क्यान्सर रोगी बढ्नु चिन्ताको विषय भएको उनले बताए । शारीरिक व्यायाम र खानपानमा ध्यान नदिँदा शहरी क्षेत्रमा दिनानुदिन क्यान्सरका रोगीहरु बढ्दै गएको उनले बताए ।

कार्यक्रममा स्त्री रोग विशेषज्ञ डा. प्रियंका कटुवालले महिलामा हुने क्यान्सरको बारेमा तथ्यांक प्रस्तुत गरेकी थिइन् । उनले पाठेघरको क्यान्सर महिलाका लागि जोखिमयुक्त भएको उल्लेख गरिन् ।

यस्तै, पूर्वाञ्चल क्यान्सर अस्पतालकी अध्यक्ष इन्दिरा गिरीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यकारी निर्देशक दुर्गा प्रसाईले क्यान्सर रोग लाग्दा आफूले भोग्नु परेको अवस्थाको बारेमा प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन पूर्वाञ्चल क्यान्सर अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले गरेका थिए ।

यसअघि २१ औं विश्व क्यान्सर रोग विरुद्धको दिवसको अवसरमा पूर्वाञ्चल क्यानसर अस्पतालले बिर्तामोडमा ¥याली सहित सास्कृतिक कार्यक्रमको आयोजना गरेको थियो ।


क्याटेगोरी : जनस्वास्थ्य, प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ