काठमाडौं—सरकारले शनिबारसम्म ४ लाख ३० हजार फ्रन्टलाइनर कर्मचारीलाई कोभिड—१९ विरुद्धको कोभिशिल्ड खोप लगाउने लक्ष्य लिएको थियो । खोप लगाउने पहिलो प्राथमिकतामा २ लाख २५ हजार स्वास्थ्यकर्मी थिए । तर, उल्लेख्य मात्रामा सहभागी नहुँदा सरकारको लक्ष्यभन्दा ज्यादै कमले मात्रै खोप लगाएका छन् ।
सरकारले गत १४ माघबाट पहिलो चरणको खोप अभियान सुरु गरेको थियो । उक्त अभियान शनिबारबाट सकिदैंछ । स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समिरकुमार अधिकारीले पहिलो चरणको खोप अभियान शनिबारबाट सकिने बताए ।
बिहिवार बेलुकासम्म देशभरका १ लाख ५८ हजारले मात्रै खोप लगाएका छन् । जुन कुल लक्षितको ३८ प्रतिशत हुन आउँछ । उपत्यकामा ३१ हजार स्वास्थ्यकर्मी भएकोमा करिब २० हजारले मात्रै खोप लिएका छन् । देशभरका २०१ बुथबाट खोप अभियान संचालन भएपनि लगाउने स्वास्थ्यकर्मी र अन्य फ्रन्टलाइनर कर्मचारीको उपस्थिति न्युन छ ।
खोप शाखाका खोप सुपरभाइजर भरत भण्डारीका अनुसार जिल्लाहरुमा सहभागी न्युन छ । सहरी क्षेत्रमा आवश्यकताअनुसार र अन्य जिल्लामा एक मात्रै बुथ राखिएको छ । तर, कर्मचारीहरु खोप लगाउनकै लागि तीन दिनसम्मको पैदल हिड्नुपर्ने भएकाले उपस्थिति अपेक्षाअनुसार नभएको बताए ।
भारतले अनुदानमा दिएको १० लाख डोज खोप ४ लाख ३० हजार कर्मचारीलाई लगाउने निर्णयअनुसार अभियान अघि बढेको हो । पहिलो चरणमा जनसंख्याको ३ प्रतिशत अर्थात ९ लाख ११ हजारमा खोप लगाउने तयारी गरिएको थियो । खोप थोरै आएपछि संख्या घटाइएको हो ।
पहिलो चरणमा स्वास्थ्यकर्मी सबै, महिला स्वास्थ्य स्वयंमसेविका, जेलमा रहेका कैदीबन्दी र उनीहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी, एम्बुलेन्स चालक, शव बाहन चालक र सफाइकर्मीलाई लगाउने निर्णय भएको थियो । दोस्रो चरणमा भने वृद्धवृद्धा, वैदेशिक रोजगारीमा जाने कामदारहरुलाई खोप दिने लक्ष्य रहेको छ । सरकारले ७२ प्रतिशत नागरिकलाई खोप दिने बताएको छ । तर, अहिलेसम्म खरिदको प्रक्रिया भने अगाडि बढाएको छैन ।