२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड : म्याद सकिएको औषधीमा नयाँ लेभल राखेर विक्री

उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड : म्याद सकिएको औषधीमा नयाँ लेभल राखेर विक्री


विराटनगर – विरामीको स्वास्थ्यमाथि गम्भिर खेलवाड गर्दै म्याद सकिएको औषधीमा पुनः नयाँ लेबल भएको मिति उल्लेख गरी विराटनगरका फार्मेसीले औषधी विक्री-वितरण गर्ने गरेको पाइएको छ । कमाउ धन्दामा लागेका विराटनगरका केही फार्मेसीका संचालकहरूले म्याद सकिएको औषधीमा लेबल प्रयोग गरी विक्री-वितरण गर्ने गरेको पाइएको हो ।

भारतदेखि ल्याएको अवैध प्रतिवन्धित औषधीमा नयाँ लेबल लगाउन फार्मेसी संचालकले उपकरण नै राख्ने गरेकोे भेटिएको छ । मोरङ प्रहरीले औषधी व्यवस्था विभागमा दर्ता नभएका प्रतिबन्धित औषधीसहित विराटनगर १० न्यूरो हस्पिटल अगाडी रहेको ‘हाम्रो फ्रेन्डसिप फार्मेसी’का संचालक  विक्रम मण्डललाई पक्राउ गरेपछि यस्तो रहस्य बाहिर आएको हो ।

प्रहरीले मण्डलको फार्मेसी र कोठादेखि ७९ प्रकारका विभिन्न कम्पनीको प्रतिवन्धित औषधी बरामद गरेको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । उक्त प्रतिवन्धित औषधी विक्रमको दाजु विकास मण्डलले भारतदेखि अवैध रुपमा तस्करी गरी ल्याएको प्रहरीले जनाएको छ । भाइ पक्राउ परेपछि विकास फरार छन् ।

यसअघि पनि गतवर्षको फागुन १८ गते विकास म्याद सकिएको औषधी विक्री-वितरण गरेको आरोपमा पक्राउ परेका थिए । औषधी व्यवस्था बिभाग विराटनगरका तत्कालीन फार्मेसी अधिकृत चर्तुभुज प्रसाद यादवको नेतृत्वमा आएको अनुगमन टोलीले मण्डलको फार्मेसी देखि विभिन्न १५ प्रकारका औषधी म्याद सकिएको अवस्थामा फेला प¥यो ।

अनुगमनले टोलीले मण्डलको फार्मेसी सीलबन्दी गरी उनलाई पक्राउ गरी विभाग लगियो । मण्डलले मानव स्वास्थ्यमाथि गम्भिर खेलवाड गरी म्याद सकिएको औषधी विक्री-वितरण गरेको अनुसन्धानबाट खुलेपछि उनलाई औषधी ऐन अनुसार कारवाहीको प्रक्रिया अगाडी बढाइयो र मोरङ अदालतका तत्कालिन न्यायाधीश तेजबहादुर खड्काको इजालसले २५ असारमा तीन लाख रुपैयाँ धरौटीमा छोडन आदेश दियो ।

सोही दिन मण्डलले अदालतले तोकेको धरौटी रकम बुझाएर रिहा भए । धरौटीमा छुटेपछि मण्डल स्वच्छ र मर्यादित व्यवसाय संचालन गर्न छोडेर पुरानै अवैध धन्दामा तल्लिन भए । आइतबार राति मोरङ प्रहरीका प्रहरी निरीक्षक पुप्पु नायकको नेतृत्वमा गएको टोलीले यादवको डेरादेखि ठूलो परिमाणमा प्रतिबन्धित औषधी र म्याद सकिएको औषधीमा नयाँ मिति उल्लेख भएको लेबल, उपकरण बरामद गरेको हो । उनीहरू दुवै जना मिलेर न्यूरो अगाडी लामो समयदेखि फार्मेसी संचालन गर्दै आएका छन् ।

तस्करीको औषधी दाजु ल्याउने भाइ बेच्ने

भारतमा सस्तोमा अवैध पाउने भएपछि विकास औषधी व्यवस्था विभागमा दर्ता नभएको औषधी तस्करी गरी ल्याउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । विकासले भारतदेखि तस्करीको प्रतिबन्धित औषधी ल्याउने र  ‘हाम्रो फ्रेन्डसिप फार्मेसी’मा ल्याएर विक्री-वितरण गर्ने गरेको प्रहरीले जनाएको छ । विकासले प्रतिबन्धित औषधी अन्य फार्मेसीहरूमा दिएको हुनसक्ने भएकोले मोरङ प्रहरीले त्यसतर्फ पनि अनुसन्धानको दायरा बढाएको छ ।

‘पक्राउ परेका मण्डलले प्रबन्धित औषधी डेरामा भण्डारन गरी विक्री-वितरण गर्ने गरेको प्रहरीको प्रराम्भिक चरणको अनुसन्धानबाट खुलेको छ,’मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले भने, ‘प्रहरीले छापा हानेर विभिन्न ब्राण्डका प्रतिबन्धित औषधीहरू बरामद गरिएको हो ।’

प्रहरीले बरामद गरेको औषधी अन्दाजी १० लाख ३ हजार १ सय ८० बराबरको रहेको छ । मोरङ प्रहरीले आवश्यक कारवाहीको लागि विराटनगरस्थित औषधी व्यवस्था विभागको कार्यालयमा बुझाएको छ । पक्राउ परेका विक्रमलाई औषधी व्यवस्था विभाले औषधी ऐन अनुसार कारवाहीको प्रक्रिया अगाडी बढाउने भएको नेपाल औषधी व्यवस्था विभाग विराटनगरका प्रमुख संन्जिब शर्मा कट्टेलले जानकारी दिए ।

पक्राउ परेका मण्डल र फरार भएका विकासलाई विभागले प्रतिवादी बनाएर अदालतमा अभियोग दर्ता गर्ने भएको छ । यसअघि पनि विकास पक्राउ परेकाले विभागले पटकेको रुपमा मागदावी लिएर सरकारी वकिलको कार्यालयमार्फत अदालतमा अभियोग दर्ता गर्ने तयारी गरेको छ ।औषधी ऐन दफा ३४ ‘घ’ बमोजिम औषधीको अनुचित प्रयोग गरेको पुष्टि भएको खण्डमा ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवनाको कानुनी व्यवस्था छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ