२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोशी अस्पतालमा ६ तले भवन बन्ने, १२ सय दरबन्दी पुर्‍याइने

कोशी अस्पतालमा ६ तले भवन बन्ने, १२ सय दरबन्दी पुर्‍याइने


विराटनगर—विराटनगरस्थित कोशी अस्पतालमा कूल ४२ करोडको लागतमा नयाँ सुविधासम्पन्न ६ तले भवन बन्ने भएको छ । नयाँ बन्ने भवनको टिपीआर पनि तयार भएर ठेक्का प्रक्रिया अगाडि बढेको छ ।

अन्डरग्राउण्ड पार्किङसहितको सुविधासम्पन्न भवन बन्ने अस्पतालले जनाएको छ । भवन निर्माणका लागि संघीय सरकारले चालु आर्थिक वर्षमा १२ करोड बजेट विनियोजन पनि गरेको छ ।

कोशी अस्पताल विकास समितिका अध्यक्ष महेश भट्टराईकाअनुसार नयाँ बन्ने भवनमा ५० शैय्याको आकस्मिक सेवा कक्षसहित चार युनिट रहने छ । कोशी अस्पताल अहिले २ सय ५० शैय्याको छ ।

नयाँ भवन बनेपछि थप २ सय ५० शैय्या गरी ५ सय शैय्याको बनाइने छ । पूर्वाञ्चल विश्वविद्यालयसँग सम्झौता गरी कोशी अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गर्दै लैजाने योजना छ ।

संघीय सरकारसँग अस्पतालमा दरबन्दी थप गर्ने सम्झौता पनि भैसकेको छ । अस्पतालको भौतिक क्षमता विस्तार गरेसँगै २ सय ४९ चिकित्सकको दरबन्दीमा थप गरिने भएको छ ।

सो अस्पतालमा अस्पताल विकास समितिले नियुक्त गरेका २ सय ६७ र संघीय सरकारको दरबन्दीका २ सय ४९ गरी ५ सय १६ जना चिकित्सकको दरबन्दी रहेको अध्यक्ष भट्टराईले बताए । संघीय सरकारले थप गरेर १ हजार २ सय दरबन्दी पु¥याइने भएको छ ।

नयाँ भवनको ठेक्का चाँडै लाग्ने भएको छ भने हालको मेडिकल भवनमा लिफ्टसहित एक तला थप गरिँदैछ । २ सय शैय्याको प्रसुती भवन पनि बनिरहेको छ । त्यसैगरी, हालको ओपीडी भवनमा २ करोडको लगानीमा लिफ्टसहितको तला थप्न सुरू गरिएको छ ।

अस्पतालले भर्खरैदेखि न्यूरो सेवा पनि सुरू गरेको छ भने आँखा, नाक, कान, घाँटीको शल्यक्रिया सेवा पनि थालिने भएको छ । अस्पतालले चाँडै पेइङ क्लिनिक पनि सञ्चालन गर्ने भएको छ ।

कोशी अस्पतालका नाममा अहिले ५ विघा ८ कठ्ठा जति मात्र जग्गा छ । क्षयरोग निवारण केन्द्र, नेपाल रेडक्रस सोसाइटी, देवकोटा पुस्तकालय आदि संस्थाले भोग गर्दै आएको जग्गा पनि कोशी अस्पतालकै हो । नेपाल क्षयरोग निवारण संस्थाले भोग गर्दै आएको जग्गा भने कोशी अस्पतालको मातहतमा आएको छ ।

कोशी अस्पतालको कित्ता नं. ११ को जग्गाबाट नेपाल क्षयरोग निवारण संस्थाले ८ कठ्ठा जति जग्गा भोग गर्दै आएको थियो । सोही ठाउँमा क्षेत्रीय खेलकुद विकास समितिको पनि कार्यालय रहेकोमा सो कार्यालयलाई भने हटाइएको छ । १५ दिनपछि क्षयरोग निवारण संस्था पनि त्यहाँबाट हटाइने भद्र सहमति भएको अध्यक्ष भट्टराईले बताए ।

पहिला वनसखण्डी मन्दिर र नर्सिङ क्याम्पसको जग्गा पनि कोशी अस्पतालकै रहेकोमा कित्ता नं. ९ बाट २०५६ सालमा नरसिंग क्याम्पस र वनसखण्डी मन्दिरका नाममा नामसारी भएको थियो ।

अस्पतालकै जग्गामध्येबाट ८ कट्टा नेपाल क्षयरोग निवारण संस्था, १ कट्टा १३ धुर नेपाल रेडक्रस सोसाइटी र २ कट्टा जग्गा देवकोटा पुस्तकालयले भोग गरिरहेको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ