२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १मोरङमा दोस्रो चरणको खोप सुरू हुँदैं, १ लाख ३५ हजारलाई खोप लगाउने तयारी

मोरङमा दोस्रो चरणको खोप सुरू हुँदैं, १ लाख ३५ हजारलाई खोप लगाउने तयारी


विराटनगर—मोरङमा दोस्रो चरणमा कोरोना भाइरस विरूद्धको खोप अभियान सुरू हुने भएको छ । फ्रन्टलाइनमा रहेर काम गर्नेहरूलाई पहिलो चरणको पहिलो र दोस्रो अभियानमा कोरोना विरुद्धको खोप लगाएपछि ज्येष्ठ नागरिकहरूको लागि दोस्रो चरणमा खोप लगाउन सुरू गरिन लागेको हो ।

दोस्रो चरणको कोरोना विरुद्धको खोप अभियान २३ फागुनदेखि सुरू हुने स्वास्थ्य कार्यालय मोरङले मंगलबार विहान पत्रकार सम्मेलन गरेर जानकारी गराइएको हो । स्वास्थ्य कार्यालयले दोस्रो चरणमा १ लाख ३५ हजार ४ सय ९३ जनालाई कोरोना विरुद्धको खोप लगाउने लक्ष्य राखेको जनवास्थ्य प्रमुख डा. सुरेश मेहेताले जानकारी दिए ।

दोस्रो चरणमा ५५ वर्ष उमेर माथिका ज्येष्ठ नागरिकहरूलाई पहिलो प्राथामिकतामा राखेर खोप लगाउने तयारी गरिएको उनले जानकारी दिए । ‘फ्रन्टलाइनमा रहेर काममा खटिनेहरूले पहिलो चरणको पहिलो र दोस्रो अभियानमा खोप लगाएपछि दोस्रो चरणको मोरङमा खोप अभियान सुरु हुन लागेको छ,’ उनले भने, ‘हामीले यसको तयारी तीव्र बनाएका छौं ।’ दोस्रो चरणमा खोप अभियान संचालनको लागि खोप भ्याक्सिनेटरहरुको लागि तालिमको पनि व्यवस्था गरिएको छ ।

खोप भ्याक्सिनेटरहरुको लागि २० फागुनदेखि २२ गतेसम्म तालिम दिएपछि दोस्रो चरणको अभियानको लागि खोप लगाउन उनीहरु फिल्डमा खटिनेछन् । तालिममा स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाका प्रमुख, मेडिकल अधिकृत र स्वास्थ्य संस्थाका प्रमुखहरुको सहभागिता हुनेछ । ‘तालिम दिनुभन्दा अगाडि खोप लगाउने केन्द्रहरूमा भ्याक्सिन तथा खोपजन्य सामाग्रीहरु स्थानीयका स्वास्थ्य संस्थाहरूमा २० फागुनभित्रमा पुगिसक्छ,’ डा. मेहेताले भने ।

१७ फागुनदेखि २२ गतेसम्म स्थानीय तहको खोप समन्वय समितिको बैठक, वडा खोप समन्वय समितिको बैठक, महिला स्वयंसेविकाहरुको गोष्ठी र भ्याक्सिन तथा खोपजन्य सामाग्रीहरु स्थानीय तहको स्वास्थ्य संस्थाहरुमा पु¥याउने कार्यक्रम रहेको छ ।

मोरङमा ११ हजारले लगाए खोप

मोरङमा पहिलो चरणको पहिलो र दोस्रो खोप अभियानको कोरोना विरूद्धको खोप अभियानमा ९२.५ प्रतिशतले खोप लगाएको स्वास्थ्य कार्यालय मोरङले जनाएको छ । स्वास्थ्य कार्यालयअनुसार पहिलो चरणको पहिलो र दोस्रो अभियानमा मोरङमा फ्रन्टलाइनमा रहेर काम गर्ने ११ हजार १ सय ९३ जनाले कोरोना विरुद्धको खोप लगाएका हुन् ।

जनवास्थ्य प्रमुख डा. मेहेताकाअनुसार मोरङमा पहिलो चरणको पहिलो अभियानमा ५ हजार ८ सय ५९ र दोस्रो अभियानमा ५ हजार ३ सय ३४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । १४ माघदेखि २४ माघसम्मको पहिलो चरणको पहिलो अभियानमा मोरङको ८ वटा स्थानमा कोरोना विरुद्धको खोप लगाउने केन्द्र तोकिएको थियो ।

पहिलो चरणकै दोस्रो अभियानमा १ फागुनदेखि १० फागुनसम्म मोरङको ९ वटा खोप केन्द्रबाट कोभिड—१९ विरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालय मोरङका खोप अधिकृत रामनन्दन यादवले जानकारी दिए । जनवास्थ्य प्रमुख डा. मेहेताले कोरोना विरुद्धको खोपले संक्रमण रोक्न प्रभावकारी हुने भएकोले निर्धारण भएर लगाउन सबैलाई आग्रह गरेका छन् ।

‘अहिले हल्ला आएजस्तोले कोभिड—१९ को खोपले त्यस्तो कुनै साइट इफेक्ट गर्दैन्,’ डा. मेहताले भने, ‘निर्धक्क भएर सबैलाई लगाउन आग्रह गर्दछु ।’


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ